
३० साउन, काठमाडौं । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई विशेष अदालतको सदस्यमा सिफारिस गरेको छ ।
उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोक्ने न्यायपरिषद्ले परामर्श दिएको हो ।
हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।
विशेष अदालतका सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरामा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलासमा, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा, रितेन्द्र थापा उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा भएका हुन् ।
विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो । दुई वर्ष एक ठाँउमा बसेका न्यायाधीशहरूको सरुवा गर्ने अभ्यास अनुसार न्यायपरिषदले न्यायाधीशहरू सरुवा गरेको हो ।
विशेष अदालतका सदस्य बिदुर कोइराला मात्रै यथावत् रहेका छन् । उनी एक वर्षमा मात्रै सरुवा भएर विशेष अदालत आएका हुन् ।
प्रतिक्रिया 4