+
+
Shares

तरकारीको भाउ ४०० प्रतिशतसम्म बढ्यो, उपभोक्ता निरीह

मूल्य बढ्नुको तर्क जसले जे गरे पनि आम उपभोक्ताको भान्सामा पाक्ने तरकारीको भाउ दिनहुँ आकासिँदा निम्न र मध्यमवर्गले जहिले पनि सास्ती खेप्नु परिरहेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ साउन ३० गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा काठमाडौंमा तरकारीको भाउ करिब ४ सय प्रतिशतसम्म बढेको छ र खुद्रा बजारमा मूल्य दोब्बर पुगेको छ।
  • कालीमाटी तरकारी बजार विकास समितिका अनुसार वर्षायाममा उत्पादन कमी र ढुवानी समस्या मूल्य वृद्धिको मुख्य कारण हुन्।
  • उपभोक्ता अधिकारकर्मीले सीमित व्यापारीले बजार कब्जा गरी कृत्रिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गरेको आरोप लगाएका छन्।

३० साउन, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौंमा तरकारीको भाउले आकाश छोएको छ । साउन पहिलो सातादेखि बढ्न थालेको तरकारीको भाउ ३० साउनसम्म आइपुग्दा झनै महँगिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको १ देखि ३० साउन एक महिनाको तथ्यांक केलाउँदा बर्खे तरकारीकै भाउ करिब ४ सय प्रतिशतसम्म बढेको छ ।

तरकारीको भाउ यसरी किन अचाक्ली बढ्यो भन्ने प्रश्नको सही जवाफ कसैसँग छैन । थोक (होलसेल) मै बढेको तरकारीको भाउ खुद्रासम्म आइपुग्दा उपभोक्तामाथि व्यापारीको ब्रह्मलुट जारी छ ।

खुद्रा व्यापारीहरू भने होलसेलमै भाउ बढेर आएको हुँदा महँगोमा बेच्नुपर्ने बाध्यता रहेको तर्क गर्छन् ।

‘हामीले कालीमाटीमा तिरेका मूल्य अनुसार तरकारी बिक्री गर्दै आएका छौं,’ बुद्धनगरका एक तरकारी व्यापारीले भने, ‘मैले त खरिद गरेको मूल्यमा थोरै मात्रै फाइदा राखेर बिक्री गरेको छु, कति तरकारी त कुहिएर फाल्नुपर्छ, तरकारी बेच्दा निकै घाटा छ ।’

उनले तरकारीको मूल्यवृद्धि भएकाले पर्याप्त तरकारी किनेर बेच्नै नसकिने अवस्था रहेको दाबी गरे ।

होलसेल बजारको तुलनामा खुद्रा बजारमा अस्वाभाविक रूपमा मूल्य बढाएर उपभोक्तालाई मारमा पारिएको कालीमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

कालीमाटी तरकारी बजार विकास समिति भने वर्षा बढेसँगै तरकारीको भाउ आकाशिएको तर्क गर्छ ।

मूल्य बढ्नुको तर्क जसले जे गरे पनि पनि आम उपभोक्ताको भान्सामा पाक्ने तरकारीको भाउ दिनहुँ आकासिँदा निम्न र मध्यमवर्गले जहिले पनि सास्ती खेप्नु परिरहेको छ ।

अब चाडबाड पनि नजिकिँदै छ । चाडबाड सुरु हुन थालेपछि तरकारीको भाउ बढाउने आजदेखिको समस्या होइन । यसले चाडबाडमा आम उपभोक्ताको ढाड सेकिने निश्चित छ ।

आकासिँदो मूल्यवृद्धि रोक्न र जनजीवन सहज बनाउन जिम्मेवार निकाय मौन रहँदा र गम्भीर नहुँदा कालोबजारी गर्नेहरूकै हालीमुहाली रहेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

फाइल तस्वीर

कति पुग्यो तरकारीको भाउ ?

१ साउनमा औसतमा १९ रुपैयाँ किलो रहेको तने बोडी ३० साउनसम्म आइपुग्दा ९४ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार विकासको तथ्यांकले देखाउँछ । तने बोडीको मूल्यवृद्धि दर ३० दिनमा ३ सय ९४ प्रतिशत देखिएको छ ।

यस्तै भिन्डी, मकै बोडी, घिउसिमी, गाजर, फर्सी, काउली लगायत तरकारीको भाउमा पनि उच्च वृद्धि भएको छ । १ साउनमा भिन्डीको न्यूनतम २५ रुपैयाँ थियो भने अधिकतम ३५ रुपैयाँ थियो । अहिले भिन्डीको अधिकतम मूल्य ७० रुपैयाँ पुगेको छ भने न्यूनतम ६० रुपैयाँ । औसत मूल्य भने ६५ रुपैयाँ छ ।

१ साउनमा प्रतिकिलो औसत ४७ रुपैयाँमा किनबेच भएको मकै बोडी ३० साउन आइपुग्दा ७८ प्रतिशत मूल्यवृद्धि भई ८५ रुपैयाँ पुगेको छ ।

यस्तै घिउसिमीको भाउ पनि आकाशिएको छ । १ साउनमा औसत ३६ रुपैयाँ रहेको लोकल घिउसिमी ३० साउन आइपुग्दा ९५ पुगेको छ । १ साउनमा औसत ४६ रुपैयाँ किलो रहेको हाइब्रिड घिउसिमी ३० साउन आइपुग्दा ९५ रुपैयाँ पुगेको छ । दुवै घिउसिमीको एक महिनामा १ सय ६ देखि १ सय ६३ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

एक महिना अवधिमा तिते करेलाको मूल्यवृद्धि १ सय ६४ प्रतिशतसम्म भएको तथ्यांकले देखाउँछ । १ साउनमा औसत प्रतिकिलो १७ रहेकोमा ३० साउन आइपुग्दा ४५ रुपैयाँ पुगेको छ ।

यस्तै लौका १ साउनमा प्रतिकिलो औसत २१ रुपैयाँमा किनबेच भएकोमा ३० साउनमा ७५ मा किनबेच भइरहेको छ । १ साउनमा घिरौंला प्रतिकिलो न्यूनतम ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँमा किनबेच भएकामा ३० साउनसम्म आइपुग्दा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँ पुगेको छ ।

१ साउनमा हरियो फर्सी लाम्चो प्रतिकिलो औसतमा २१ रुपैयाँमा कारोबार भएकामा ३० साउनसम्म आइपुग्दा १ सय ६१ प्रतिशत मूल्यवृद्धि भई ५५ रुपैयाँ पुगेको छ । हरियो फर्सी डल्लेको पनि एक महिना अवधिमा प्रतिकिलो २४ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

थोक बजारबाट लगेपछि ढुवानी र केही नाफा जोडेर बेच्नु स्वाभाविक हो, तर यहाँ अस्वाभाविक किसिमले खाने प्रवृत्ति छ ।

एक महिना अवधिमा मुलाको भाउ पनि ३१ देखि १ सय ३६ प्रतिशत मूल्यवृद्धि भएको छ । १ साउनमा सेतो मुला प्रतिकिलो औसत ४१ रुपैयाँ तोकिएको थियो । अहिले ३० साउनसम्म आइपुग्दा मुलाको भाउ किलोको औसत ५३ रुपैयाँ कायम छ । यस्तै सेतो मुला हाइब्रिडको प्रतिकिलो औसत मूल्य १ साउनमा १९ रुपैयाँ रहेकामा ३० साउनमा ४५ रुपैयाँ पुगेको छ ।

यसैगरी १ साउनमा कालीमाटी तरकारी बजार विकास समितिले लोकल गाजरको भाउ प्रतिकिलो औसत ९५ रुपैयाँ तोकेको थियो । साउन ३० आइपुग्दा यसको मूल्य १ सय ११ रुपैयाँ पुगेको छ ।

रातो आलुको मूल्य १ साउनमा औसत प्रतिकिलो ४३ रुपैयाँ थियो भने अहिले बढेर ५० रुपैयाँ पुगेको छ । यस्तै १ साउनमा स्थानीय काउलीको औसत भाउ प्रतिकिलो ५१ रुपैयाँ रहेकामा ३० साउन आइपुग्दा १ सय ११ पुगेको छ ।

त्यस्तै ब्रोकाउलीको पनि एक महिना अवधिमा २ सय ४३ प्रतिशत मूल्यवृद्धि भएको छ । १ साउनमा ब्रोकाउली औसत प्रतिकिलो ६६ रुपैयाँ तोकिएकामा ३० साउनसम्म आइपुग्दा २ सय २६ रुपैयाँ तोकिएको छ ।

वर्षाका कारण तरकारीको मूल्य आकासियो : समिति

मनसुन सक्रिय भएसँगै बजारमा तरकारीको भाउ बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठको तर्क छ ।

वर्षायाममा उत्पादनमा कमी आउनु, ढुवानीमा असर पर्नु र तरकारी छिटो बिग्रिनु जस्ता कारण मूल्यमा चाप परेको उनले दाबी गरे ।

यद्यपि, होलसेल बजारको तुलनामा खुद्रा बजारमा अस्वाभाविक रूपमा मूल्य बढाएर उपभोक्तालाई मारमा पारिएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार वर्षायाममा तरकारीको मूल्य बढ्नु स्वाभाविक प्रक्रिया हो । ‘बर्खामा उत्पादन घट्छ, जसले गर्दा मूल्य माथि जाने प्रवृत्ति हरेक वर्ष देखिन्छ । यो सामान्य हो,’ उनले भने ।

आन्तरिक उत्पादन र भारतीय आयात

हाल बजारमा भित्रिरहेका अधिकांश हरियो तरकारी नेपालकै उत्पादन हुन् । विशेषगरी सिमी, बोडी, लौका, घिरौँला, भन्टा, करेला र भिन्डीजस्ता मौसमी तरकारी धादिङ, काभ्रेपलान्चोक, मकवानपुर लगायत जिल्लाबाट आपूर्ति भइरहेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आलु, प्याजजस्ता केही तरकारी भने मुख्यतया भारतबाट आयात गरिन्छ । हाल कालीमाटी बजारमा दैनिक ७ सयदेखि ७ सय ५० टन तरकारी भित्रिरहेको छ ।

‘वर्षायाम धान रोप्ने मुख्य सिजन पनि भएकाले धेरै किसान तरकारी खेतीबाट धान खेतीतर्फ लाग्छन्,’ श्रेष्ठ भन्छन्, ‘जसले तरकारी उत्पादन हुने क्षेत्रफल घट्छ । साथै, बोटको उत्पादन क्षमता पनि समयसँगै घट्दै जान्छ ।’

सूचना अधिकारी श्रेष्ठले वर्षाका बेला हुने गर्मी र चिसोको असन्तुलनले गर्दा टिपेर बजारमा ल्याइएका तरकारी छिट्टै कुहिने र बिग्रिने समस्या धेरै भएको बताए । ‘यही कारण हुने नोक्सानीको भार अन्तत: मूल्यमा नै पर्छ,’ उनले भने ।

अघिल्ला वर्षका तुलनामा यस वर्ष सडकमा धेरै अवरोध नआएकाले मूल्यवृद्धि नियन्त्रण बाहिर नगएको उनको भनाइ छ । ‘अहिलेसम्म बाटोमा धेरै समस्या आएको छैन, यदि वर्षा बढेर बाटो अवरुद्ध भयो भने मूल्य अझै माथि जान सक्छ,’ उनले भने ।

थोकभन्दा खुद्रामा दोब्बर मूल्य

समितिले बिहानको कारोबारका आधारमा थोक मूल्यसूची सार्वजनिक गरे पनि खुद्रा बजारमा उपभोक्ताले त्यसभन्दा निकै बढी तिर्नुपरेको छ ।

कालीमाटी तरकारी बजारका सूचना अधिकारी श्रेष्ठले खुद्रा व्यापारीहरूले अस्वाभाविक नाफा राखेर उपभोक्तालाई मारमा पारेको स्वीकार गरे ।

‘थोक बजारबाट लगेपछि ढुवानी र केही नाफा जोडेर बेच्नु स्वाभाविक हो, तर यहाँ अस्वाभाविक किसिमले खाने प्रवृत्ति छ,’ श्रेष्ठले भने, ‘किलोमा ५–१० रुपैयाँ फरक पर्नु सामान्य हो, तर मूल्य नै दोब्बर हुनु चाहिँ अस्वाभाविक हो, जसले उपभोक्तालाई प्रत्यक्ष मार पारेको छ ।’

प्याकेजिङ प्रणाली नहुँदा उपभोक्ता र किसान दुवै मारमा परे : महासंघ

हालै बजारमा देखिएको तरकारीको मूल्यवृद्धिको मुख्य कारण वर्षायाम, उत्पादनमा कमी र आपूर्ति प्रणालीको समस्या रहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडा बताउँछन् ।

उनले होलसेल बजारबाट खुद्रा बजारसम्म पुग्दा मूल्यमा ठूलो अन्तर देखिएको स्वीकार्दै यसको दीर्घकालीन समाधानका लागि तरकारीको ‘ग्रेडिङ’ र ‘प्याकेजिङ’ प्रणालीमा जानुपर्नेमा जोड दिए ।

खतिवडाका अनुसार अहिले तरकारीको भाउ बढ्नुमा धेरै कारण जिम्मेवार छन् । ‘यो बर्खाको समय हो, पानी परेका बेला किसानले नियमित रूपमा तरकारी टिप्न सक्दैनन्,’ उनले भने, ‘कच्ची बाटोहरूबाट आउने तरकारीको आपूर्ति अनियमित हुन्छ, जसले बजारमा अभाव सिर्जना गर्छ ।’

उत्पादन स्थलदेखि उपभोक्तासम्म आइपुग्दा तरकारी सात तहभन्दा बढी बिचौलियाको हातमा पुग्ने गरेको छ । हरेक तहमा मूल्य थपिँदै जाँदा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर देखिएको छ ।

उनका अनुसार अर्को मुख्य कारण उत्पादनमा आएको कमी हो । धेरै किसानले तरकारी बाली हटाएर धान रोपेका छन् भने बोटहरूले पनि अपेक्षित रूपमा फल दिन सकिरहेका छैनन् ।  हाल बजारमा उपलब्ध शतप्रतिशत तरकारी नेपाली उत्पादन नै रहेको महासंघको दाबी छ ।

अध्यक्ष खतिवडाले किसानदेखि होलसेल बजारसम्मको भाउमा धेरै अन्तर नभए पनि थोक बजारबाट उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको स्वीकार गरे । यसका पछाडि खुद्रा व्यवसायीहरूको आफ्नै समस्या रहेको उनको भनाइ छ ।

‘हिउँदको तुलनामा वर्षायाममा तरकारीको नोक्सानी धेरै हुन्छ,’ उनले भने, ‘पानीले भिजेका तरकारी जस्तै काउली र साग, आधाभन्दा बढी फाल्नुपर्ने अवस्था आउँछ ।’

यसका साथै, नेपालमा प्याकेजिङ प्रणाली नहुँदा उपभोक्ताले छानेर राम्रो मात्र लैजाने र बाँकी रहेको तरकारी बिक्री नहुने समस्याले खुद्रा व्यवसायीलाई नोक्सान हुने गरेको उनले बताए ।

यसका लागि महासंघ सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । ‘सरकारले यसका लागि योजना ल्याउनुपर्‍यो, कृषि मन्त्रालयले बजेट छुट्याउनुपर्‍यो,’ उनले भने, ‘हामीले होटलमा होइन, बजारका पकेट क्षेत्रमा गएर तालिम दिनुपर्छ र प्याकेजिङ सामग्री अनुदानमा उपलब्ध गराउनुपर्छ ।’

फाइल तस्वीर

सीमित व्यापारीले बजार कब्जामा लिएर उपभोक्ता ठगे : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णु तिमल्सिनाले बजारमा देखिएको तरकारीको मूल्यवृद्धि वास्तविक नभई व्यापारीहरूले नियोजित रूपमा गरेको कृत्रिम अभावको खेल भएको बताए ।

उनले वर्षाको बहानामा सीमित व्यापारीले बजार कब्जामा लिएर उपभोक्ता ठगी गरिरहेको तर सरकारी नियमनकारी निकाय भने मौन बसेको आरोप लगाए ।

‘यो वर्षाका कारणले भएको स्वाभाविक मूल्यवृद्धि होइन,’ उनले भने, ‘बजारमा तरकारी पाइएको छ, अभाव छैन । तरकारी नपाउने अवस्था भए मूल्य बढ्नु स्वाभाविक हुन्थ्यो, तर यहाँ उपलब्धता हुँदाहुँदै मूल्य बढाइनु नियोजित खेल हो ।’

उनले बजार सीमित व्यापारीको कब्जामा रहेकाले स्वस्थ प्रतिस्पर्धा हुन नसकेको बताए । ‘उनीहरूले विभिन्न बहाना बनाएर नियोजित रूपमा मूल्यवृद्धि गर्छन्,’ उनले भने, ‘सीमित व्यापारीको कब्जामा बजार हुँदा उनीहरूले जे भन्यो त्यही मूल्य कायम हुन्छ ।’

उत्पादन स्थलदेखि उपभोक्तासम्म आइपुग्दा तरकारी सात तहभन्दा बढी बिचौलियाको हातमा पुग्ने गरेको छ । हरेक तहमा मूल्य थपिँदै जाँदा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर देखिएको मञ्चको ठहर छ ।

बजार अनुगमन र मूल्य नियन्त्रण गर्ने जिम्मेवारी पाएका सरकारी निकायहरू पूर्णरूपमा निष्क्रिय रहेको महासचिव तिमल्सिनाले आरोप लगाए ।

‘सरकारको नियमनकारी निकाय मौन बसेको छ, उसलाई फुर्सद नै छैन,’ उनले भने, ‘यही मौकामा जे गरे पनि हुन्छ भनेर व्यापारीहरूले उपभोक्तालाई ठगिरहेका छन् ।’

उनले सरकारलाई तत्काल जिम्मेवार बन्न र तरकारी उत्पादनदेखि उपभोक्ताको भान्सासम्मको सम्पूर्ण आपूर्ति शृङ्खलाको गहिरो अध्ययन गरी हस्तक्षेप गर्न माग गरे ।

‘सरकारले यसको उत्पत्तिदेखि नै अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘यो कृत्रिम मूल्यवृद्धिको सम्पूर्ण मारमा उपभोक्ता परिरहेका छन् ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?