
News Summary
Generated by OK AI. Editorially reviewed.- सावान्गेम्बा युक्फुङ्गेम्बा र थोसुलुङ्मा फियमलुङ्माबीच याक्थुङ मुन्धुम अन्तर्गत सहमतीमा यौनसंसर्ग भएको छ।
- कवितामा सावान्गेम्बा युक्फुङ्गेम्बा शिकार खोज्दै गर्दा तान बुन्दै गरेको तरुनीसँग भेट भएको वर्णन गरिएको छ।
- कवितामा याक्थुङ मुन्धुमका विभिन्न स्थल र सांस्कृतिक शब्दहरूको अर्थसमेत उल्लेख गरिएको छ।
हजुरलाई नै पर्खिएर बसे जस्तो
हजुरलाई नै सम्झेर टोलाए जस्तो
हजुरकै तिर्सनामा व्याकुल भए जस्तो
सांच्चै यो संजोग कस्तो !
यो पाङभेको कुइनेटोमा आउँदा
हजुर त सावान्गेम्बा युक्फुङ्गेम्बा हो नि !
नियालेर हेर्नुस त मलाई नजिकबाट
म यो पाङ्भेकै सवैभन्दा बुट्टेदार तान बुन्ने
थोसुलुङ्मा फियमलुङ्मासँग
अचानक इम्बिरि याङ्धाङ्वाको सुसेलीका वीच
नजर जुध्नु
साच्चै यो संजोग कस्तो !
जांदै गरेको होला हजुर
उता माथि निकै माथि थोक्पुन तेम्बे तिर
खेल्नलाई शिकार
बोकेर कांधमा धनु र तिखो तिखो तिर
मेरै तानको तिखो थोली जस्तो
साच्चै यो संजोग कस्तो !
नडुलाउनुस ती स्वप्निल आंखा मेरो ज्यानभरी
सहनै नसक्ने गरी लागिरहेको छ काउकुती
नछुनुस मेरा ओठहरु कामिरहेका छन् थर्थरी
सावान्गेम्बा युक्फुङ्गेम्बा !
मै हुं यो पाङ्भेको अक्षत कुमारी
इम्बिरीमा फड्के तरेर पारि तापेथोकबाट
भर्खर आइपुगेको बेला
रजश्वलापछि इम्बिरीमै केस नुहाइ सकेको बेला
खुट्टा चलाउदै हात तलाउदै तान बुनिरहेको बेला
घाइते मृगको गोहो पच्छ्याउदै पच्छ्याउँदै
हजुर मेरै अगाडि आइुग्नु भो
साच्चै यो संजोग कस्तो !
यो एकान्तमा डर लाग्नुपर्ने हो मलाई
अम्लिसो घारीमा देखेर पराई पुरुषलाई
भाग्नु पर्ने त्रसित हुदै
चिच्याउनु पर्ने आतंकित हुदै
हजुर सावान्गेम्बा युक्फुङ्गेम्बा !
के पो भयो मलाई !
लाजमात्र लाग्दै छ कस्तो कस्तो
हजुरकै तिर तानिदै तानिदै
छेउमै पुगेर टांसिउ कि जस्तो
साच्चै यो संजोग कस्तो !
काभ्राको हांगामा बसेर
आज गोलसिमले पनि कामुक गीत गाउदैछ
डाफे चरीका जोडीहरु पनि
आकासमै रतीरागमा रमाइरहेका छन्
अनि मेरो अगाडि
साक्षात हजुर सावान्गेम्बा युक्फुङ्गेम्बा उभिएको
साच्चै यो संजोग कस्तो !
हजुर यस्तै छ झुपडी
चु्हिने छाना टाल्नु बांकी नै छ
भित्ताहरुमा बुट्टा लगाउदै
सेतो कमेरोले पोत्नु बांकी नै छ
भुई र सिकुवामा रातो माटोले लिप्नु बांकी नै छ
बांझै छन् बारीहरु
छेउ छेउमा फल्दैछन् सन्तला र कागतीहरु
जोतेर लगाउन बांकी नै छ जुनेलो र ताक्मारु
पाखा पखेरा हाम्फाल्दै हाम्फाल्दै आउनु भएको होला
पसिना चुहिरहेछ तप्प तप्प हजुरको कांधबाट
एकछिन सिकुवामा विश्राम गर्नुस्
शायद गल्नु भएको होला
डुव्दैछ घाम सांझ पर्न आंट्यो
यतै बास बसेर जानुस् भोलि विहानै
जे छ झुपडीमा पकाइतुल्याई खाउंला
हजुर त मेरो पाहुना हो
साच्चै यो संजोग कस्तो !
यो गुन्युले छोपेको मृग
हजुरले खेदाउदै ल्याएको हो ?
थोलीले घोचेर मैले पो मारिदिएको हो
आधार सिकार त मैले पनि गरेको हो
हजुरको आधा र मेरो आधा
मिलाउदा पूर्ण हुने नै भयो
छानौं कि अव छिप्पिएको जांड छपनीले
भिरमह झैं बाक्लो रस तुरुरुरु निस्कने गरी !
लगाइ दिऔ कि तोङ्बा तुम्बे बासैमा
पिछिङमा धित मरुन्ज्याल सरररर आउने गरी !
मातेर जिस्कदै बस्ने बेलामा
सावान तेम्बेबाट हजुर आउनु भयो
साच्चै यो संजोग कस्तो !
गुन्युमा मृग लुकाइदिए जस्तै
लुकाइदिउ कि हजुरलाई यतैकतै मनको कुनामा
कि सधै धै बांधेर राखौं कि चोलीको देव्रे तुनामा
नहेर्नुस् मेरा केसहरु
बाटेर फर्का लगाउन बाँकी छ
नजुधाउनुस नजरसंग नजर
परेली झिम्काउँदा
आत्तिएर मेरा ओठको डिलबाट चिप्लदै चिप्लदै
तल तल झर्नुहुन्छ कि भन्ने डर लाग्छ
देखेदेखोस् फक्तिम्बाले आज राति
इम्बिरीको किनारमा
लुङ्जिरि लुङ्बोङ्सा
खाम्जिरि खाम्बोङ्साको बारीलाई
सुरितकेजङको शीतल वयेली खेलाउँदै
कि परागसेचन गरौं !
हजुर त शिकारी
सावान्गेम्बा युक्फुङ्गेम्बा
गुलेली मट्याङ्ग्रा र तिर धनुकांडले सजिएर आउनु भयो
साच्चै यो संयोग कस्तो !
*** ***
२५ साउन २०८२,
धरान, विजयपुरगढी
(नोट: यो कविता याक्थुङ मुन्धुम अन्तर्गत बैरागी काइला (तिलविक्रम नेम्बाङद्धारा सकलित, सम्पादित ‘मुजिङ्ना खेयोङ्ना’ मुन्धुममा आधारित छ । मुन्धुमअनुसार सावान्गेम्बा युक्फुङ्गेम्बा (सुसुवेङ लालावेङ) शिकार खोज्दै जादा तान बुनिरहेकी सुन्दरी तरुनी थोसुलुङ्मा फियमलुङ्मासंग भेट भएपछि दुवैको सहमतीमा यौनसंसर्ग हुन्छ ।)
शब्दको अर्थ :
इम्बिरि याङ्धाङ्वा–याक्थुङ मुन्धुमी भाषामा तमोर नदी
थोक्पुन तेम्बे– साविक युखावु गाविसमा पर्ने हाल फक्ताङलुङ पालिकाको एक मुन्धुमी स्थल ।
ताक्मारु– एकप्रकारको अन्न
तुम्बेबांस– ठूलो वा जेठो बांस
फक्तिम्बा– लाटोकोसेरो (मुन्धुममा लाटोकोसेरोलाई महत्वपूर्ण मानिन्छ)
लुङ्जिरि लुङ्बोङ्सा खाम्जिरि खाम्बोङ्सा– ढुङ्गामाटोमा उत्पती भएको
सुरितकेजङ– हावा
प्रतिक्रिया 4