
३१ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा १ सय २३ वर्षअघि सुरु भएको कन्यापूजाको परम्परा अहिले पनि कायमै छ ।
पछिल्लो समय यो परम्परा विस्तारित पनि हुँदै आएको छ ।
बनेपामा वर्षैपिच्छे कृष्णजन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । यसैले सन्देश दिएको छ, छोरा–छोरी बराबरी ।
अन्यत्र कुनै पनि स्थानमा नगरिने यो काममा बनेपालीहरू वि.सं. १९५९ देखि लाग्दै आएका छन् ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी दिन एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार शनिबार बनेपामा मात्र ७ हजार ५ सय भन्दा बढि कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए ।
अघिल्लो वर्ष १० हजार कन्या पुजिएका थिए ।
बनेपामा मात्र ७ हजार ५ सय तथा जिल्लाका बनेपाका पुलबजार, नाला, बुडोल, साथै काभ्रेका पलाञ्चोक, शारदा बतासे, पनौती, दाप्चा, भैंसेपाटी, धनेश्वर, धुलिखेल, पनौती, बाँसडोल र खड्पुमा गरेर १० हजार भन्दा बढी कन्या पुजिएको छ ।
नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले नेवारी कन्यालाई पुजा गरेर बुइँगलबाट शुरु गरेका थिए ।
पछि बुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्ती र अहिले बनेपा तथा बनेपाकै पुलबजार, नाला, बुडोल, साथै काभ्रेका शारदा बतासे, पनौती र दाप्चा, भैंसेपाटी, धनेश्वर, धुलिखेल, पनौती, बाँसडोल र खड्पुमा समेत कन्यापूजा हुने गरेको छ ।
पहिले–पहिले रजश्वला नभएकी नेवार कन्यालाई पूजा गर्ने चलन भए पनि अहिले यसले जातजाति र समूदायको घेरा तोडेको छ । अहिले काभ्रेमात्र नभई काठमाडौं उपत्यका र आसपासका अन्य जिल्लाबाट समेत कन्याहरुलाई पुजिनका लागि ल्याइन्छ ।
शनिबार पूजा गरिएका कन्या काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट आएका हुन् ।
चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यता अनुसार यस पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहने तथा कन्या पुज्नेहरू र पुजिने कन्या निरोगी हुने धार्मिक विश्वास पनि भएका कारण कन्यापूजामा हजारौंको भीड लाग्ने गर्छ ।
बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दायावायाँ सडकमा राखेर कन्यालाई पुज्ने प्रचलन छ । कन्यालाई दक्षिणा, पुरी, सुहारी, जेरी, विस्कुट, मालपुवा, सेल, हलुवा र मिठाइलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्या पूजा गरिन्छ ।
बनेपामा दुई पटक कन्यापूजा हुन्छ । गत साउन १९ गते पञ्चमी तिथिमा झण्डै २ हजार कन्या पुजिएको छ ।
विसं २००१ सालमा माथिल्लो र तल्लो टोलबीच झगडा भयो । त्यसयता भने यो पूजा दुईपटक हुने गरेको छ । पूजाको एक दिन अगाडि ढोल र बाजा बजाएर नगर परिक्रमा गरी पूजाबारे घर घरका कन्याबारे जानकारी लिएर टिकट दिने प्रचलन छ ।
पञ्चमी पूजामा बनेपा नेवा: कन्या पूजा समितिले करिब दुई हजार कन्यालाई बनेपामै टिकट प्रथामा विहिबारनै पुजिसकेको छ ।
प्रतिक्रिया 4