
News Summary
Generated by OK AI. Editorially reviewed.- बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति 'स्वस्पर्श' कर्णालीको वीरेन्द्रनगरमा सार्वजनिक गरिएको छ।
- लेखक केसीकी आमा, मामा र छोरा संयुक्तरूपमा पुस्तकको लोकार्पण गरेका थिए।
- लेखक सुविन भट्टराइले 'स्वस्पर्श'लाई प्रेरणादायी पुस्तक भनेका छन् र सबै उमेर समूहका लागि उपयुक्त ठहराएका छन्।
३१ साउन, सुर्खेत । बालरोग विशेषज्ञ तथा लेखक डा. नवराज केसीको कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा डा. केसीकी आमा टिका, मामा लालबहादुर बस्नेत र छोरा अर्नबले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा लेखक केसीले ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक भएको बताए । यसअघि २०७९ सालमा पहिलो पुस्तक ‘शून्यको मूल्य’ लेखेका डा. केसीको ‘स्वस्पर्श’ दोस्रो गैर आख्यान्न कृति हो ।
विमोचनपछि चर्चित लेखक सुविन भट्टराइले पुस्तकबारे समीक्षा गरेका थिए भने त्यसपछि लेखक डा. केसीले पुस्तकबारे आफ्नो धारण राखे । पुस्तकमाथि धारणा राख्दै लेखक भट्टराइले डा. केसीले भेटाउने कथामा आफूलाई डाहा लाग्ने गरेको बताए ।
‘डा. नवराजले कथात्मक ऊर्जा जसरी भेटाउनु हुन्छ, मलाई चाही डाहा लाग्छ । किन भने म कथाहरूको खडेरीमा छु,’ लेखक भट्टराइले भने, ‘कर्णाली आफैमा कथाको उर्वर भूमि हो । तिनै कर्णालीका यथार्थ कथाको सँगालो स्वस्पर्श हो ।’
स्वस्पर्श सबै पुस्ताको र सबै उमेर समूहका मान्छेहरूको आफ्नै किताब भएको उनले बताए । ‘यो नितान्त प्रेरणादायी पुस्तक हो । स्कुले बालबालिका देखी रिटायर व्यक्तिहरूले पढ्दा पनि छुटै ऊर्जा दिनेछ,’ उनले भने ।
सरल भाषामा सुललित ढङ्गले लेखिएको पुस्तक ‘स्वस्पर्श’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ । कथाको शिल्प, जंगबहादुर, गर्वे दाइ, एक जोडी बाआमाको कोरोना कालको कथा र ध्यारगाउँकी बच्चीको कथाले जो कोहीको मन तान्ने भट्टराइले बताए ।
लेखक भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका केही पात्रहरूको त छुट्टै किताब नै बन्ने बताए । ‘मन्दिरेको कथा पढेपछि मलाई लाग्यो डा. साबले यो कथालाई त सिंगै किताब नै बनाउन सक्नु हुन्थ्यो,’ उनले भने ।
पुस्तकभित्र कर्णालीका कथा र व्यथा मात्र छैनन्, जंगबहादुर र दुखचाल्नोको कथा, गर्वे दाइको दोषी चस्मा, मन्दिरे बीउखसीको कथा, ध्यार गाउँले, माया बाँड्ने जागिर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश भएका छन् । यी सबै कथा र पात्रहरूको आ‐आफ्नै विशेषता र महत्त्व बोकेको भट्टराईले बताए ।
प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. केसी कर्णालीको गहना भएको बताए । ‘डा. केसीले राम्रो किताब मात्रै लेख्नु भएन, किताब मार्फत देशैभर जोडिनु भयो । साहित्यक ऊर्जा दिनुभयो, कतिको मन परिवर्तन गर्नुभयो,’ उनले भने, ‘त्यस बाहेक डाक्टरी पेसमा रहेर कर्णालीमै सेवा गर्नु महत्त्वपूर्ण कुरा हो ।’
उनले डा. केसीको पहिलो पुस्तक शून्यको मूल्यले आफूहरूलाई लोभ्याएको समेत बताए । ‘शून्यको मूल्य बजारमा आउँदा म अमेरिका थिए, त्यसले पाएको चर्चाले हामीलाई तानेको थियो । दोस्रो पुस्तक हामीले नै प्रकाशन गर्न पाउँदा हामी कृतज्ञ छौँ ।’
कृतिका लेखक डा. केसीले यो पुस्तक हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउ खुसी भेट्नेछन्, दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवन मार्ग र स्नेहका विषयवस्तुमा केन्द्रित कथालाई सरल रूपमा प्रस्तुत गरिएका छन् ।
स्वस्पर्श किताब अध्ययन गर्दा आफूले आफैँलाई बदल्ने एक महत्त्वपूर्ण औजार रहेको एसोएस हर्मन माइनरका प्रिन्सिपल हरिहर बस्नेतले बताए । एउटा पुस्तक दुई आवरणमा रहेको उक्त कृती फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया 4