
७ भदौ, काठमाडौं । बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ काठमाडौंमा लोकार्पण गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवम् प्राज्ञ अमर न्यौपाने र लेखक डा. नवराज केसीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा आख्यानकार अमर न्यौपानेले पुस्तक ‘स्वस्पर्श’ मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रुपमा आएको बताए ।
‘स्वस्पर्श’ पुस्तक प्रेरणादायी मात्र नभएर प्रत्येक मानिसले पढ्नुपर्ने पुस्तक रहेको उनको भनाइ छ । ‘डाक्टरसँग भेट भएपछि नै मानिसको आधाआधी रोग निको हुन्छ,’ उनले भने, ‘त्यसमाथि डा. नवराज कथा सुनाएर उपचार गराउने व्यक्ति । कथा थेरापीमार्फत रोग निको पार्ने व्यक्ति । उहाँको यो पुस्तकले हामीलाई त्यस्तै उपचारको थेरापी गराउँछ । र मानसिक रुपमा निरोगी बनाउँछ ।’
सरल भाषामा सुललित ढंगले लेखिएको पुस्तक ‘स्वस्पर्श’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ । ‘पुस्तक पढ्दै गर्दा म थुप्रै ठाउँमा भावुक बनेको छु,’ उनले भने, ‘पुस्तकमा प्रयुक्त पात्रहरु जंगबहादुर, गर्बे दाइ, एक जोडी बाआमाको कोरोनाकालको कथा र ध्यारगाउँकी बच्चीको कथाले जो कोहीलाई भावुक बनाउँछन् ।’
अर्का वक्ता लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक सबैका लागि उपयोगी रहेको बताए । ‘मलाई त्यति धेरै साहित्यिक पुस्तक अध्ययन गर्न समय पुग्दैन,’ उनले भने, ‘पुस्तक ‘स्वस्पर्श’ मैले पढें । मेरा लागि यो पुस्तक असाध्यै उपयोगी लाग्यो । तपाईंहरू पनि यसको अध्ययन गरिहाल्नुहोस् । हामीले काठमाडौंमा बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) मा पनि यो पुस्तक राख्छौं । बालबालिका र बिरामीहरुका लागि यो अति उपयोगी छ ।’ मनोवैज्ञानिक रुपमा विक्षिप्तहरुका लागि झनै विशेष रहेको उनले जनाए ।
कार्यक्रममा लेखक डा. केसीले ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक भएको बताए । जीवनमा आफूले थुप्रै राम्रा पुस्तक पढेको र नेपाली समाजलाई उपयोगी पुस्तक दिने मनसाय भएर आफ्नै जन्मस्थान कर्णालीको कथा आफूले लेखेको उनले जनाए । यो पुस्तक हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा रहेको उनको भनाइ छ । स्वस्पर्श सबै पुस्ता र सबै उमेर समूहका मान्छेको आफ्नै किताब भएको उनले बताए ।
प्रतिक्रिया 4