
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये १२ वटाले यस वर्ष सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पुगेका छन्।
- गत आर्थिक वर्षमा १५ फाइनान्स कम्पनीले कुल ८७ करोड ८७ लाख रुपैयाँ नाफा कमाए पनि कुल सञ्चित नोक्सानी ५ अर्ब ११ करोड पुगेको छ।
- फाइनान्स कम्पनीको निष्क्रिय कर्जा बढेर ४८ प्रतिशतसम्म पुगेको छ, जानाकीको निष्क्रिय कर्जा सबैभन्दा बढी ४८.६१ प्रतिशत छ।
२ भदौ, काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये यो वर्ष १२ वटाले सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पुगेका छन् ।
३ वटा फाइनान्स कम्पनी मात्रै लाभांश दिन सक्ने हैसियतमा देखिएका छन् । मञ्जुश्री, आईसीएफसी र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लाभांश दिन सक्ने हैसियतमा छन् । लाभांश दिन नसके पनि मल्टिपर्पस फाइनान्सको वितरणयोग्य नाफा धनात्मक छ ।
धेरैजसो फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढे पनि भारी मात्रामा सञ्चित नोक्सानी बोकेका छन् । ११ फाइनान्स कम्पनी सञ्चित नोक्सानीमा छन् ।
पोखराको सञ्चित नोक्सानी सबैभन्दा धेरै १ अर्ब ५६ करोड र जानाकीको १ अर्ब १० करोड छ । धेरै फाइनान्स कम्पनीले वर्षौंसम्म लाभांश दिन नसक्ने स्थितिमा छन् ।
गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार १५ फाइनान्स कम्पनीले कुल ८७ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । तर ती १५ कम्पनीको कुल सञ्चित नोक्सानी ५ अर्ब ११ करोड छ ।
सेयर बजारमा भने यिनै फाइनान्स कम्पनीलाई कारोबारीले ‘चलखेल’गरी मूल्य उतारचढावबाट नाफा कमाउँदै आएका छन् । बजारमा फाइनान्स कम्पनीहरुको मूल्य उतारचढाव उच्च हुने गरेको छ ।
खराब वित्तीय विवरण नै भएका कम्पनीको पनि सेयर मूल्य पनि उच्च देखिन्छ । फाइनान्स कम्पनीको निष्क्रिय कर्जा ४८ प्रतिशतसम्म छ । जानाकीको निष्क्रिय कर्जा सबैभन्दा धेरै ४८.६१ प्रतिशत छ । फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा समेत बढेको छ ।
प्रतिक्रिया 4