
३ भदौ, काठमाडौं । सवारीसाधनका सौखिनहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि ‘उड्ने कार’ हेर्न दर्शकको भिड लागेको छ ।
मंगलबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु नाडा अटो शोको १७औं संस्करण प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको यो मेला ८ भदौसम्म चल्ने छ ।
कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले यस संस्करणलाई प्रविधिमुखी र भविष्यमुखी बनाइएको बताए ।
चौधरीका अनुसार अटो शोको मुख्य आकर्षणको केन्द्रमा दीपल कम्पनीले तयार पारेको ‘उड्ने कार’ र मानिस जस्तै देखिने ‘ह्युमनाइज्ड रोबोट’ छन् ।
अध्यक्ष चौधरीले भौतिक पूर्वाधार मन्त्रालयले सवारी आयात सम्बन्धी नयाँ मापदण्ड बनाइरहेको जानकारी दिँदै उक्त मापदण्ड व्यवसायीमैत्री बनाउन नाडासँग सहकार्य गर्न सरकारलाई आग्रह गरे ।
यो ६ दिने प्रदर्शनीमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनका नयाँ मोडेलहरू, तिनका पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू एउटै छानामुनि प्रदर्शनमा राखिएका छन् । आयोजकले यस पटक लाखौं अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरेको छ ।
भृकुटीमण्डपका हल ७५ भन्दा बढी स्टलले भरिभराउ छन् । गाडी खरिद प्रक्रिया सहज बनाउन विभिन्न बैंक तथा बीमा कम्पनीले आकर्षक छुट र योजना सहित आफ्नो उपस्थिति जनाएका छन् ।
केही समयअघि सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’ को सफलताबाट उत्साहित व्यवसायीहरूले यस मेलामा १५ देखि २० अर्ब रुपैयाँसम्मको कीर्तिमानी कारोबार हुने बलियो अनुमान गरेका छन् ।
यो मेला उनीहरूको वार्षिक बिक्रीको लगभग ३५ देखि ४० प्रतिशत हिस्सा ओगट्ने भएकाले यसको रणनीतिक महत्त्व झनै बढेको छ ।
नाडा अटो शोमा १९ लाखदेखि २ करोड २० लाख रुपैयाँसम्मका आधा दर्जन नयाँ मोडेलका गाडी सार्वजनिक भएका छन् ।
यी हुन् नाडा अटो शोमा आएका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी
नामी–०६
नाडा अटो शोमा डोङफेङ नामीको आधिकारिक विक्रेता एमएडब्लू ग्रुपले नामी ब्रान्डमा पहिलो एसयूभी ‘नामी–०६’ सार्वजनिक गरेको छ । दुई भेरिएन्टमा उपलब्ध एसयूभीको इन्ट्री भेरिएन्ट ‘ई–२’ को मूल्य ३७ लाख ९९ हजार र ‘ई–२ प्लस’ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ सुरु गरिएको कम्पनीले जनाएको छ ।
चांगान लुमिन
नाडा अटो शोमा कम मूल्यको कार ‘चांगान लुमिन’ पनि सार्वजनिक भएको छ । चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले चांगान लुमिनको मूल्य २२ लाख ९९ हजार तोकेको छ ।
एक्स–९
एक्सपेङको लक्जरी एमपीभी ‘एक्स–नाइन’ गाडी पनि नाडा अटो शोमा सार्वजनिक गरिएको छ ।
एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ सार्वजनिक गरेको हो । कम्पनीले एक्सपेङ एक्स–९ को मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ ।
बीवाइडी एटो–टु
बीवाइडीले ‘एटो–टु’ नामक एसयूभी नाडा अटो शोमा सार्वजनिक गरेको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो–टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो एउटा मात्रै भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जिली
चिनियाँ ईभी ब्रान्ड जिलीका दुई मोडेलका गाडी पनि नाडा अटो शोमा सार्वजनिक भएका छन् ।
जिलीको आधिकारीक वितरक एलआरआर मोटर्सले ‘जिली ईएक्स ५ म्याक्स र प्रो तथा जेवाई एयर अल्ट्रा र लाइट’ गाडी सार्वजनिक गरेको हो ।
जिली ग्यालेक्सी एक्स ५ प्रोको बजार मूल्य ५८ लाख रुपैयाँ छ । तर, अटो शोमा ५४ं लाख ९९ हजारमा गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यस्तै जिली ग्यालेक्सी एक्स ५ म्याक्सको बजार मूल्य ६८ लाख रुपैयाँ छ । शोमा दिइएको अफर पछि गाडीको मूल्य ६४ लाख ९९ हजार राखिएको छ ।
जेवाई एयर अल्ट्राको बजार मूल्य ६८ लाख रुपैयाँ छ भने अटो शोमा ६४ लाख ९९ हजारमा पाइन्छ ।
जिनपेङ ब्रान्ड
नाडा अटो शोमा जिनपेङ ब्रान्डको आधिकारिक विक्रेता ठाकुर मोटर्सले ‘लिनबाक्स इसी ०१’ गाडीको मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो गाडी २ वटा भेरिएन्टमा उपलब्ध छ । प्रिमियम गाडीको मूल्य २३ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
न्यु टाटा सफारी
नाडा अटो शोमा टाटाको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘न्यु टाटा सफारी’ सार्वजनिक गरेको छ ।
सिप्रदीले शोमा ३ भेरिएन्टमा सफारी सार्वजनिक गरेको हो । कम्पनीले म्यानुअल भेरिएन्टको १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यस्तै अटोमेटिक भेरिएन्टको १ करोड २९ लाख ९९ हजार र डार्कको १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ ।
सुजुकी ई–भिटारा
जापानी कम्पनी सुजुकीको पहिलो विद्युतीय कार ‘ई–भिटारा’ पनि नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ ।
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारा नाडा अटो शोमा प्रदर्शन गरेको हो । यसको मूल्य भने सार्वजनिक गरिएको छैन ।
यामाहा
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शोमा यामाहा ‘एमटी–१५ भी२’ र ‘एफजेड एस भी३ डीएलएक्स’ को नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको बाइक एमटी १५ सेतो र खैरो तथा एफजेड भी ३ सेतो रङमा देख्न पाइन्छ ।
एमटी १५ को दुवै नयाँ रङको मूल्य ५ लाख ५७ हजार ९ सय र एफजेड भी३ को मूल्य ४ लाख १२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
हिरो
यस्तै नाडा अटो शोमा हिरोका ४ भेरिएन्ट सार्वजनिक गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘हिरो जुम १२५’ र ‘स्प्लेन्डर १२५ बीएस ६’, ‘एक्सपल्स २१०’ र ‘जुम १६०’ सार्वजनिक गरेको हो ।
कम्पनीले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेर सार्वजनिक गरेको छ ।
यस्तै कम्पनीले हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकेको छ । अन्य दुई भेरिएन्ट भने प्रदर्शनीका लागि मात्रै राखिएको कम्पनीको भनाइ छ ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4