
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले युरो–६ भन्दा तलका गाडी एक पटकका लागि आयात गर्न सरकारसँग आग्रह गरेका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघ अध्यक्षको माग सकारात्मक भएको र सरकारले विचार गर्ने प्रतिक्रिया दिएका छन्।
- महासंघले १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ।
३ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एक पटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसनको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो-२०२५’ उद्घाटनका अवसरमा सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै ढकालले एक पटक अनुमति दिन आग्रह गरे ।
अध्यक्ष ढकालको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघ अध्यक्षले उठाएको माग सकारात्मक भएको र यस विषयमा सरकारले विचार गर्ने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीले सरकारले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेको उल्लेख गर्दै सरकारका तर्फबाट लगानी र काम गर्न कुनै बाधा नहुने धारणा राखे ।
कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो शोले नेपालको अर्थतन्त्रमा राम्रो योगदान दिएको चर्चा गर्दै यस्ता मेलाले बजार र ग्राहक जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
पछिल्लो समय इलेक्ट्रिक गाडी आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको बताए ।
सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसाय सम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै गएको ढकालको भनाइ छ ।
‘पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका संकेत देखिएको छ । दुई वर्षअघि भन्दा सवारीसाधन बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन छ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘यसले बजारमा विश्वास बढेको देखाउँछ । यस्तै कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ, बैंकको नाफामा पनि वृद्धि भएको छ । यो सकारात्मक कुरा हो ।’
महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको र उक्त कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिँदै ढकालले १० अर्ब रुपैयाँको पूँजीसहित सुरु भएको यस कम्पनीले ४० अर्ब रुपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्न सक्ने धारणा राखे ।
विदेशी लगानी आकर्षणका लागि महासंघले भारत, चीन र दुबईमा व्यवसायिक सम्मेलनहरू गरेको स्मरण गराउँदै उनले नेपालमा लगानीप्रति विदेशी चासो बढ्दै गएको जानकारी दिए ।
हालै बनेका कानुन र सम्झौताहरू कार्यान्वयन हुँदै गए विदेशी लगानी अझै सहज हुने उनको धारणा थियो ।
प्रतिक्रिया 4