
News Summary
Generated by OK AI. Editorially reviewed.- नाडा अटो शोमा बैंकहरूले अटो कर्जामा ब्याजदर ६ देखि ८ प्रतिशतसम्म घटाएर प्रतिस्पर्धा गरिरहेका छन्।
- नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंकहरूले सवारीसाधनको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा दिन सक्ने व्यवस्था छ।
- अधिक तरलताका कारण बैंकहरूले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट र ५ देखि ७ वर्ष अवधिका कर्जा योजना ल्याएका छन्।
३ भदौ, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मंगलबारदेखि सुरु गरेको अटो शोमा बैंकहरूको छुटको प्रतिस्पर्धा नै देखिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले गाडी कर्जा (अटो लोन) को ब्याजदरमा समेत प्रतिस्पर्धा गर्न थालेका हुन् ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको माग बढ्न सकेको थिएन । त्यसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या बढेको हो । जुन अहिले पनि कायम छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ५६ अर्ब अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको छ ।
कर्जा माग बढ्न नसकेपछि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अटो कर्जामा पनि केही लचकता अपनायो । केन्द्रीय बैंकले बैंकले बैंक तथा वित्तीय संस्थालाई सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने नीति लिएको छ । यो व्यवस्था सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा समेत लागु हुने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंकहरूले पनि कर्जा सीमा सवारीसाधनको मुल्यको ६० प्रतिशत तोकेको भए पनि नाडा अटो शोमा ब्याजदर र सेवा शुल्क घटाएर ग्राहक आकर्षित गर्न खोजेको देखिन्छ ।
नाडा अटो शो लक्षित गर्दै आधिकांश बैंकहरूले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएका छन् । त्यसैगरी ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा प्रतिस्पर्धा गरेका छन् । बैंकहरूले फ्लोटिङ र फिक्स्ड दुवै खालका ब्याजदर प्रस्ताव गरेका छन् । यस्ता कर्जाको अवधि भने धेरै बैंकहरूको ५ देखि ७ वर्ष अवधिका छन् ।
चालु आवको मौद्रिक नीतिले कर्जाको माग बढाउने र समग्र अर्थतन्त्र चलायमान बनाउने उद्देश्य सहित खुकुलो मौद्रिक नीति ल्यायो । सोही अनुसार घरजग्गा, सेयर बजार तथा अटो क्षेत्र केही उत्साहित पनि भएको देखिन्छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा यी क्षेत्रमा लगानी बढाउने अवसर समेत प्रप्त गरे । त्यसले गर्दा पनि अनुत्पादक भनिएका क्षेत्रका कर्जाको ब्याजदर समेत एकल अंकमा झरेको अवस्था छ ।
नाडा अटो शोमा करिब आधा दर्जन वाणिज्य बैंकहरूले स्टल नै लगाएर बसेका छन् । ती बैंकले प्राथमिकता साथ अटो लोनमा ऋणीले तिर्नुपर्ने ब्याजदरलाई अलि बढी दोहो¥याउने गरेको पाइयो । ब्याजदर सस्तो भएकाले आफूलाई मन पर्ने गाडी खरिद गर्ने अवसरको सदुपयोग गरौं भन्दै दर्शकलाई सुझाउने गरेका छन् ।
अटो शो लक्षित गर्दै सरकारी लगानीको कृषि किवास बैंकले पनि अफर घोषणा गरेको छ । बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ । उक्त योजना अन्तर्गत बैंकले ग्राहकलाई ६.२३ प्रतिशतमै गाडी कर्जा पाइने जनाएको छ । तर, बैंकले फिक्स्ड ब्याजदरमा भने आधार दर प्लस ४ प्रतिशत प्रिमियमको व्यवस्था गरेको छ ।
त्यसैगरी ग्लोबल आईएमई बैंकले गाडी कर्जामा ६.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले सेवा शुल्कमा समेत ०.२५ प्रतिशत छुट दिई ०.५ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंकहरूले ग्राहकबाट लिने सेवा शुल्क भनेको कर्जा आकारको ०.७५ प्रतिशत हो । बैंकले भने पनि अटो लोनमा मूल्यको ६० प्रतिशत फाइनान्सिङ गर्ने बैंकले जनाएको छ ।
लक्ष्मी सनराइ बैंकले नाडा अटो शो नै लक्षित गर्दै आगामी १४ मंसिरसम्म लागु हुने गरी गाडी कर्जामा छुटको अफर ल्याएको छ । बैंकले ७ वर्षका लागि फिक्स्ड ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।
शोमा सानिमा बैंकले पनि छुट दिएको छ । बैंकले ग्राहकलाई सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ भने ७ वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ तोकेको छ जुन ५ वर्षको ७.९९ प्रतिशत रहेको बैंकले जनाएको छ । तर, बैंकले इन्धन गाडीका लागि मूल्य ५० प्रतिशत र विद्युतीयका लागि ६० प्रतिशत कायम गरेको छ ।
त्यस्तै सवारी कर्जाका लागि बसेको हिमालयन बैंकले पनि अन्य बैंकले जस्तै मूल्यको ६० प्रतिशत फाइनान्सिङ गर्ने, सेवा शुल्कमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने, ७.५ ब्याजदर लगायत अफर ल्याएको छ ।
त्यसैगरी नबिल बैंकले भने सवारी कर्जा ६.७४ प्रतिशत ब्याजदरमै दिने भएको छ । नबिलले ७ वर्षका लागि गाडीको मूल्यको ६० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । तर, बैंकबाट कर्जा लिनका लागि मासिक किस्ताको दोब्बर आम्दानी हुनुपर्ने सर्त बैंकको छ ।
सेवा शुल्कमा नबिल बैंकले पनि अन्य बैंकको अनुपातमा छुट दिएको छ । तर, अन्य सेवा सुविधा उस्तै भए पनि नेपाल एसबीआई बैंकले भने कर्जाको अवधिका आधारमा ब्याजदर तोकेको छ । बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि, ८.४९ प्रतिशतमा ५ वर्ष र ८.९९ प्रतिशत ब्याज ७ वर्षको कर्जाका लागि भनेर तोकेको छ ।
नाडा अटो शो लक्षित गर्दै एनएमबी बैंकले इन्धन र विद्युतीय गाडीको कर्जामा लिने ब्याजदर फरक तोकेको छ । बैंकले इन्धन गाडीका लागि आधार दर प्लस ४.५ प्रतिशत प्रिमियम तोकेको छ । यो कर्जाको अवधि ७ वर्ष रहेको बैंकले जनाएको छ । तर, विद्युतीय सवारीका लागि दिने सोही अवधिको कर्जाको ब्याजदर ७.१३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
शोमा सहभागी बैंकको अफर हेर्दा ब्याजदरमा केही फरक भए पनि अन्य छुट तथा सुविधा उस्तै नै देखिएका छन् । अधिक तरलताका कारण बैंकहरूले सस्तोमै भए पनि लगानी बढाउन खोज्दा अटो लोनमा धेरै छुट दिने प्रतिस्पर्धा बढेको देखिन्छ ।
गाडी कर्जा लिँदा के–के चाहिन्छ ?
गाडी कर्जाका लागि आवेदन दिने आवेदक र जमानीकर्ताको पासपोर्ट साइजको १÷१ प्रति फोटो बैंकलाइ बुझाउनुपर्छ । त्यसैगरी आवेदक र जमानीकर्ताको नागरिकता प्रमाणपत्र तथा पछिल्लो १२ महिनासम्मको बैंक खाता विवरण पनि पेस गर्नुपर्छ । साथै, सवारीसाधनको कोटेसन, घरजग्गा÷अपार्टमेन्टको स्वामित्व प्रमाणपत्र, आयस्रोत खुल्ने कागजातहरू व्यवसाय दर्ता प्रमाणपत्र, प्यान/भ्याट नम्बर आवश्यक पर्ने बैंकहरूले जनाएका छन् ।
प्रबन्धपत्र, नियमावाली, कर्जा लिन सञ्चालक समितिले निर्णय गरेको हुनपर्छ । स्वामित्व÷सेयरधनी प्रतिशत खुल्ने कागज, साझेदारी सम्झौता तथा पछिल्लो दुई वर्षको लेखा परीक्षण भएको आर्थिक प्रतिवेदन र तीन वर्षको अनुमानित आर्थिक प्रतिवेदन, व्यक्तिगत प्यान प्रमाणपत्र, आवेदकको एकाघर परिवारको नाता प्रमाणपत्र पनि आवश्यक पर्ने बैंकले जनाएका छन् ।
प्रतिक्रिया 4