
काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेसनल कलेजले बेलायतको प्रतिष्ठित किल विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।
काठमाडौंको होटल मेरिअटमा आयोजित एक समारोहबीच यो कार्यक्रम सुरुवात गरिएको हो, जसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको थालनी गरेको जनाइएको छ ।
उक्त समारोहमा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी क्षेत्रका उच्च अधिकारी, शैक्षिक विज्ञ, उद्यमी र अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
कार्यक्रम उद्घाटन ब्रिटिस एजुकेसन ग्रुप अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा गरे । समारोहमा एआई र डाटामा आधारित विशेष नृत्य प्रस्तुत गरिएको थियो भने ब्रिटिस कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ ले पहिलो पटक स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा डाटा साइन्सको बढ्दो महत्त्वमाथि प्रकाश पार्दै विभिन्न विशिष्ट वक्ताले आफ्ना धारणा राखेका थिए ।
डोल्मा फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम गोचर ओबीई डीएल, गुगलका पूर्व उत्पादन व्यवस्थापन प्रमुख जोन बी पार्क र रास्वपा सांसद मनीष झाले विषयको विविध पक्षबारे बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदूत रोब फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यको रणनीतिक महत्त्वमाथि जोड दिए । उनले भने, ‘यदि हामीले नेपाल र विश्व पूँजीबजारबीच पुल निर्माण गर्न सक्यौं भने बेलायती लगानीकर्ताहरू त्यो पुल पार गर्ने पहिलो हुनेछन् र शिक्षा नै त्यसको आधारभूत पूर्वाधार हो ।’
ब्रिटिस एजुकेसन ग्रुपका ग्रुप सीईओ राजेन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा एउटा नयाँ आयाममात्र नभएर दुई राष्ट्र र संस्थाहरूबीचको बलियो साझेदारीको प्रतीक भएको बताए ।
फिनटेक एलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यको प्रशंसा गर्दै भविष्यमा अझ गहिरो सम्बन्ध बनाउने विश्वास व्यक्त गरे ।
सोही अवसरमा फिनटेक एलायन्स नेपालको आयोजनामा ‘नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग’ विषयक प्यानल छलफल पनि सम्पन्न भयो ।
उक्त छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष कैलाश बडु, वाइजयाक इंकका सीईओ तथा सहसंस्थापक सुरेश मानन्धर, सिडर गेट सर्भिसकी डाटा उपाध्यक्ष श्वेता कर्ण, एक्सटेन्सोडेटाका सीईओ सुरेश गौतम र नामीकी अनुसन्धान सहायक अन्जु क्षेत्री सहभागी थिए ।
यो बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रमले नेपालमा छरिएर रहेको विशाल डेटालाई वैज्ञानिक ढंगले व्यवस्थित गरी सही दिशा प्रदान गर्ने लक्ष्य राखेको छ । यस महत्त्वपूर्ण शैक्षिक पहलले देशको तथ्यांक व्यवस्थापनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कलेजले आगामी सेप्टेम्बर २०२५ को भर्नाका लागि पहिलो ५० विद्यार्थीलाई विशेष प्रारम्भिक अफर पनि प्रदान गरेको छ ।
प्रतिक्रिया 4