
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्दै कथानक फिल्म 'सकम्बरी'मा शीर्ष भूमिका निर्वाह गर्ने भएका छन्।
- कान्तिपुर फिल्म एकेडेमीले जीवन लुइँटेल र अर्पण थापासँग लिखित सम्झौता गरी 'सकम्बरी' फिल्म निर्माण गर्ने तयारी गरेको छ।
- 'सकम्बरी' फिल्मको छायांकन तिहारपछि बर्मा र नेपालमा हुने र ३ करोड बजेट तय गरिएको छ।
काठमाडौं । अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ ।
निर्माण हुन लागेको कथानक फिल्म ‘सकम्बरी’मा लुइँटेललाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बुधबार जीवनसँग लिखित सम्झौता भएको छ ।
बुधबार नै यो फिल्ममा अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन् । दुवै अभिनेतासँग एकेडेमीले लिखित सहमति गरेको हो ।
शीर्ष भूमिका ‘सकम्बरी’ र निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । उनका अनुसार तिहारपछि यो फिल्मको छायांकन हुनेछ ।
पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएपनि यो फिल्मको कथा पुस्तकमा आधारित नरहेको पुरीले बताए ।
‘यो फिल्मको कथा मोर्डन सकम्बरी, सुयोगवीर र शिवराजको हो । तर, कथावस्तु पुरै नयाँ हुनेछ’ उनले भने, ‘ती आधुनिक पात्रले कसरी बाँच्छन् र सोच्छन् कथा यसमा छ ।’
जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।
दोस्रो विश्वयुद्ध कालखण्डको समेत दृश्य उतार्नुपर्ने भएकाले यो फिल्मलाई बर्मा (म्यानमार) र नेपालमा छायांकन गर्ने तयारी छ । ३ करोड बजेट तय यो फिल्मलाई लिएर जीवन र अर्पण दुवैजना उत्साहित सुनिए ।
यी दुई अभिनेताले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमीकै नाटक ‘शिरीषको फूल’बाट लुइँटेलले ७ वर्षपछि अभिनयमा पुनरागमन गरेका थिए ।
अनलाइनखबरसँग कुरा गर्दै जीवनले सन् २०२५ मा आफूले दुईवटा फिल्म गर्ने जानकारी दिए । ‘सकम्बरी’ साइन गरेपछि जीवन केही दिनमा अमेरिका उड्ने तयारीमा छन् । तिहार सकिएलगत्तै उनी छायांकनलाई काठमाडौं फर्किनेछन् ।
फिल्म साइन गरेपछि जीवन र अर्पणले एकअर्कासँग स्क्रिन सेयर गर्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे ।
प्रतिक्रिया 4