+
+
Shares

अगस्टको ‘पलेँटी’मा सङ्गीतकार रामकृष्ण दुवाल गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अगस्ट महिनाको अन्तिम शुक्रबार नेपालयको ’आर’शालामा पाको पुस्ताका संगीतकार रामकृष्ण दुवालले पलेँटी कार्यक्रममा प्रस्तुति दिनेछन्।
  • दुवालले नेपालीभाषाका गीत-सङ्गीतमा योगदान पुर्‍याएका छन् र कवि गोपालप्रसाद रिमालको गीत 'एक जुगमा एकदिन एकचोटी आउँछ'लाई धुन भरेका हुन्।
  • पलेँटी कार्यक्रममा नेपालभाषा र नेपालीभाषाको सङ्गीतिक सङ्गम हुनेछ र नयाँ पुस्ताका गायक अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले दुवाललाई साथ दिनेछन्।

काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ’आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’मा यसपटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् ।

अगस्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख)मा आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन् ।

दुवाल लामो समयदेखि नेपालभाषाका परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन् । साथै उनले नेपालीभाषाका गीत-सङ्गीतमा गरेको योगदान पनि उत्तिकै प्रभावकारी छन् ।

कीर्तिपुरका रैथाने दुवालले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका निम्ति पनि गहकिलो योगदान पुर्‍याएका छन् । कवि गोपालप्रसाद रिमालको शब्द सृजना ’एक जुगमा एकदिन एकचोटी आउँछ’लाई दुवालले नै धुन भरेका हुन् । यो गीतले नेपालको राजनीतिक आन्दोलनमा २०३६ सालदेखि अनवरत स्थान पाउँदै आएको छ ।

नेपालभाषाको ’सिर्सा या हेकू’ गीतलाई दुवालले सङ्कलन र परिमार्जन गरेका हुन् । यो गीतले नेवारसमुदायको मात्र नभएर नेपालका अन्य समुदायको पनि मन जित्दै आएको छ । चार दशक पहिले प्रसारणमा आएको यो गीतमा विभिन्न विद्यालयमा नृत्य प्रस्तुत भएका छन् ।

यसपालीको कार्यक्रम नेपालभाषा र नेपालीभाषाको साङ्गीतिक सङ्गम हुने कुरा पलेँटी संयोजन गर्दै आएका सङ्गीतकार आभासले जानकारी गराए । उनी भन्छन्, ‘दुवाल दाइ काठमाडौं उपत्यकाको साङ्गीतिक सभ्यताका जिउँदा सम्पदा हुन् । यिनको प्रतिभालाई पलेँटीमा समेट्न पाउँदा औधी खुसी लागेको छ ।’

अगष्टको पलेँटीमा नेपालभाषाका केही ऐतिहासिक रचना पनि सुन्न पाइनेछ । जसमा रणजित मल्लले काठमाडौं उपत्यका छोड्दा रचेको एउटा गीत पनि समावेश छ ।

सो गीत आफू काशी निर्वासनमा जानु पहिले रणजितले चन्द्रागिरीबाट उपत्यका हेर्दै रचेको किंवदन्तीमा आधारित छ । गीतमा मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको पीडालाई समेटेका छन् । पलेँटी संचालकले नेपालभाषा नबुझ्नेका निम्ति यस्ता ऐतिहासिक रचनालाई नेपालीभाषामा पनि भावानुवाद गरिने कुरा जानकारी गराएका छन् ।

संयोजकका अनुसार यसपालीको पलेँटीमा केही बालगीत पनि समेटिने छन् । दुवालसँग लामो समय विभिन्न विद्यालयमा सङ्गीत र नृत्य सिकाएको अनुभव पनि छ । बालबालिकाका निम्ति आफैँले रचेका गीतका साथै कवि दुर्गालाल श्रेष्ठका शब्दहरूमा पनि धुन भरेका छन् ।

पलेँटीको तयारीमा रहेका सङ्गीतकार दुवाल उत्साहित सुनिए । यसबारे उनी भन्छन्, ‘जीवनमा अनेक मञ्चमा गाएँ, नाँचे तर यसपालीको पलेँटी मेरा निम्ति महत्वपूर्ण मञ्च हुनेछ । जसमा मलाई नयाँ पुस्ताका सङ्गीतकर्मीहरूले पनि साथ दिनेछन् ।’ पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?