+
+
Shares

स्वर्णप्राशन थोपा अभियान धनगढीबाट सुरु

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट राष्ट्रिय स्तरको ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ।
  • ‘स्वर्ण बिन्दु प्राशन’ पाँच हजार वर्ष पुरानो आयुर्वेदिक विधि हो जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्क विकासमा योगदान पुर्‍याउँछ।
  • स्वास्थ्य मन्त्रालयले यस अभियानलाई सुरक्षित र गुणस्तरीय बनाउन तालिम र निर्देशिका जारी गरी देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई एकरूपता कायम गर्ने योजना बनाएको छ।

५ भदौ, काठमाडौं । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको शुभारम्भ गरेका हुन् । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै कार्यक्रम सुरु गरे ।

उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित कार्यक्रम हो । यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा योगदान पुग्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्ने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको प्राथमिकता हो । आगामी पुस्ता निरोगी बनाउने हाम्रो लक्ष्यअनुरूप यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।’

के हो स्वर्ण बिन्दु प्राशन ?

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो ।

यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो, जसले संक्रमणबाट बचाउँछ । यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्छ ।

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ ।

यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो ।

स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।

‘विभागले यसको सुरक्षित र सही कार्यान्वयनका लागि देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई तालिम दिई एकरूपता कायम गर्नेछ,’ उनले भने ।

गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

यससँगै मातृ–शिशु स्वास्थ्य प्रबर्द्धनलाई पनि जोडिएको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयल, आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलका अनुसार आधुनिक वैज्ञानिक दृष्टिकोणबाट ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत नानो–मेडिसिन र न्युरो–इम्युनोमोडुलेटर फर्मुलेसन हो ।

यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन नभई विशेष प्रशोधन विधिबाट तयार पारिएको नानो कण हो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलनमा राख्ने क्षमता राख्छ ।

डा. पौडेलले ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीहरूमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने बताए । ‘स्वर्ण बिन्दु प्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन हो,’ उनले भने ।

पहिलो चरणमा लागु हुने स्थान

– त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

– आयुर्वेद चिकित्सालय, नरदेवी

– प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी

– प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा

– गण्डकी आयुर्वेद अस्पताल, पोखरा

– लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल

– प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत

– आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला

– धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?