
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत विराटनगरले उमागौरी सहकारीको बचत अपचलन मुद्दामा अञ्जला कोइराला र तीन जनासँग जनही १ करोड धरौटी माग गर्ने आदेश दिएको छ।
- मोरङ अदालतले अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटालाई विभिन्न धरौटीमा छाडेको थियो भने उच्च अदालतको आदेशले धरौटी रकम वृद्धि गरेको छ।
- उमागौरी सहकारीमा २२ करोड ४८ लाख बढी अपचलन आरोपमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो र अध्यक्ष शम्भुप्रसाद रौनियार कारागारमा छन्।
५ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले सहकारीको बचत अपचलन मुद्दामा अञ्जला कोइरालासहित ४ जनासँग जनही १ करोड धरौटी माग गर्ने आदेश दिएको छ ।
मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी तथा तत्कालिन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटालाई जनही १ करोड धरौटी माग गर्ने आदेश गरेको हो। खवास रंगेली नगरपालिका–२ का वर्तमान वडाध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष हुन् ।
शिक्षक समेत रहेकी कोइरालालाई मोरङ अदालतले पुस २४ गते १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । बास्कोटा र खवासलाई जनही ५ लाख धरौटीमा छाडेको थियो ।
धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष राजवंशीलाई मंसिर २८ गते जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो । माघ २१ गते अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा पठाउने आदेश दिएको थियो । अध्यक्ष रौनियारको हकमा भने थुनामा पठाउने जिल्ला कै आदेश सदर भएको छ ।
जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतको बेञ्चमा न्यायाधीशबीच राय बाझिएको थियो । गत वैशाख ११ गते न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद वास्तोलाबीच राय बाझिएपछि तेस्रो बेञ्चबाट आदेश भएको हो। पुडासैनीले कोइराला र राजवंशीको हकमा जिल्लाकै आदेश सदर गर्ने राय दिएकी थिइन् । बास्तोलाले जनही १ करोड धरौटीमा छाड्ने राय दिएका थिए ।
राय बाझिएपछि बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले अञ्जलासहित चार प्रतिवादीलाई १ करोड धरौटी माग गर्ने आदेश उच्च अदालत विराटनगरले दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए । राय बाझिएपछि यसअघि पटक–पटक पेशी स्थगित भएको थियो ।
उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख बढी अपचलन आरोपमा सहकारी संस्थाका अध्यक्ष सम्भूप्रसाद रौनियार र सञ्चालक सदस्य रोशन राजवंशी पूर्पक्षका लागि कारागारमै छन् । रोशन भने अब धरौटी बुझाएको खण्डमा बाहिरैबाट पूर्पक्ष गर्न पाउनेछन् ।
२०८१ मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ अपचलन आरोपमा २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4