
News Summary
Generated by OK AI. Editorially reviewed.- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने चीन-भारत सहमतिमा सरकारको जवाफ मागेका छन्।
- साहले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता सम्बन्धी विषयमा सरकार चुप लागेर बस्न नहुने बताए।
- साहले राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गर्ने बेला आएको र राजनीतिक दलका आसेपासेलाई राजदूत बनाउँदा कुटनीतिक क्षमता कमजोर भएको उल्लेख गरे।
६ भदौ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने गरी चीन र भारतले गरेको सहमतिबारे सरकारको जवाफ मागेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग यो विषय जोडिएको बताए । यस्तो विषयमा सरकार चुप लागेर बस्न नहुने उनको आग्रह छ ।
‘नेपालको भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो भूमि हुन भन्ने कुराबारे दश वर्ष अगाडि नै नेपाल सरकारले दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । यस्तो पहल भइराख्दा फेरि किन यो प्रश्न आयो ?,’ उनले प्रश्न गरे ।
दुवै देशमा नेपालको राजदूतावास रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘राजदूतहरू के गरेर बसेका छन् ? अब राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गर्ने बेला आयो ।’
राजनीतिक दलका नेताका आसेपासे र दलका कार्यकर्तालाई राजदूत बनाउँदा नेपालको कुटनीतिक क्षमता कमजोर हुँदै गएको विषय यो घटनाले समेत देखाएको उनको टिप्पणी छ ।
प्रतिपक्षमा हुँदा वर्तमन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने बताएको उनले स्मरण गरे ।
‘…समस्याको कुरा होइन हाम्रो भूभाग फिर्ता ल्याउनुपर्छ भन्नुहुन्थ्यो । अहिले उहाँ दुईवटै देशको भ्रमण गर्दैहुनुहन्छ । त्यो भ्रमणको पहिलो सूचीमा यो विषय पर्छ कि पर्दैन ?’ साहले प्रश्न गरे ।
यो विषयमा राजनीतिक स्टन्ट नगरेर एकमत भएर अगाडि बढ्नुपर्नेमा पनि उनको जोड रहेको छ ।
प्रतिक्रिया 4