
पत्रकारिताको दुनियाँ अलिक अनौँठो छ । तपाईंले यहाँ राम्रो काम गर्दा जति सम्भावना प्रसिद्ध हुने रहन्छ त्यति नै मारिने वा वेपत्ता पारिने सम्भावना पनि रहन्छ । विश्वभर कयौँ पत्रकारहरू लेखेकै भरमा खुला आकाश देख्नै नपाउने गरी जेल पुर्याइए, त कयाँैको हत्या भयो । कयौँको सास र लास केही भेटिएको छैन ।
यो आलेखमा हामीले त्यस्तै दुई पत्रकारबारे जान्ने प्रयास गर्नेछौँ, जसबारे नेपाली पत्रकारिता जगतमा खासै चर्चा भएन । ती दुई पत्रकार मध्येका एक हुन अमेरिकाका खोजी पत्रकार– ग्यारी स्टेफन वेव । अर्का हुन् नेपाली पत्रकार– मिलन नेपाली । आलेखमा ग्यारी वेव र मिलन नेपालीको चर्चा किन गरिएको भन्नेबारे पाठकहरूले आलेख पढ्दै जाँदा बुझनु हुनेछ ।
ग्यारी स्टेफन वेव
३१ अगस्ट १९५५ का दिन अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका वेवले पिता मरिनमा साजेन्ट थिए । त्यसैले वेवको अध्ययन अमेरिकाका विभिन्न विद्यालयहरूमा भयो । उनले सन् ७० को दशकमा ‘द नर्दनर’ भन्ने पत्रिकामार्फत पत्रकारितामा कलम चलाउन थालेका थिए । त्यसपछि सन् १९७८ मा उनी अमेरिकाकै ‘केन्टकी पोस्ट’ मा पहिलो पटक रिपोर्टर भएर काम शुरु गरे । वेव अमेरिकी खोजी पत्रकार थिए ।
वेवको पहिलो महत्वपूर्ण काम सन् १९८० मा सतहमा देखा पर्यो, जब उनले ‘द कोल कनेक्सन’ शीर्षकको १७ भागको खोजी रिपोर्टिङ गरे । उनले कोइला कम्पनीका मालिकको हत्याबाट रिर्पोटिङ शुरु गरेर त्यो संगठित अपराधसँग कसरी जोडिन पुग्छ भनेर स्थापित गरेका थिए । त्यसै रिपोर्टिङका कारण उनी पुरस्कृत पनि भए ।
पछिसम्म आफ्नो खोजी पत्रकारिता जारी राखेकै कारण उनी विभिन्न ठाउँबाट पुरस्कृत हुँदै गए । तर, वेवको पत्रकारिता जीवनकै सबैभन्दा ठूलो खोज निकारागुवाबाट अमेरिकासम्म कोकिनको व्यापार कसरी हुन्छ भन्नेमा केन्द्रीत थियो । झण्डै एक दशक त्यसै विषयमा रिपोर्टिङ गरेका उनले गरेको रिपोर्टिङले नै उनलाई सम्मान, विवाद र अन्तत: हत्यासम्म पुर्यायो ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने वेवको मृत्युलाई लिएर आज पनि धेरै मानिसबीच मतैयक्ता छैन । कसैले उनको मृत्यु आत्महत्याका कारण भएको मान्छन् त कसैले आत्महत्या जस्तो परिस्थितिबिच उनको हत्या सीआईएले गरेको मान्छन् । उनको मृत्यु कसरी भएको थियो भन्ने बुझ्ने स्वतन्त्रता म पाठकहरूमै छाड्न चाहन्छु ।
तर, वेवले त्यस्तो के रिपोर्टिङ गरेका थिए, जसका कारण उनको हत्या भएको ठानियो । त्यो पनि सिआइएबाट । आउनु उनको रिपोर्टिङबारे चर्चा गरौँ । सन् १९९५ मा ‘डार्क एलाइन्स’ नाम दिइएको श्रृङ्खलामा ग्यारी वेवले निकारागुवाबाट अमेरिकी शहर लस एन्जलससम्म कोकिनको तस्करी कसरी हुने गर्छ भन्नेमा रिपोर्टिङ केन्द्रीत गरेका थिए । उनको रिपोर्टिङ प्रकाशित हुनासाथ अमेरिकी समाजलाई त्यसले तरङ्गित पारिदियो । उनको रिपोर्टिङको मूलमा कोकिन, अमेरिकी सरकारद्वारा वित्तपोषित निकारागुवाका सशस्त्र समूह कोन्ट्रा र सीआइए थियो ।
सन् १९७९ देखि १९९० सम्म अमेरिकी गुप्तचर एजेन्सी सिआइएले निकारागुवाको डेनियल ओर्टेगाले नेतृत्व गरेको जननिर्वाचित सान्डानिस्टाको सरकारलाई सत्ताच्युत गर्नका लागि कोन्ट्रा (काउन्टर रेभुलुशन) विद्रोही समूह खडा गरी सरकार विरोधी सशस्त्र विद्रोहलाई अघि बढाइरहेको थियो । त्यस्तै खाले समूह जसलाई अमेरिकी सहयोग प्राप्त थियो– कोलम्बियामा पनि सक्रिय थियो ।
यी दुवै अमेरिका समर्थित सशस्त्र समूह, सीआइए र अमेरिकी सेनाका उपल्ला स्तरका सैन्य अधिकारीहरू मिलेर ल्याटिन अमेरिका मुलत: निकारागुवा, कोलम्बियाबाट सैन्य विमानमा कोकिनको तस्करी गरी अमेरिका पुर्याउँथे र त्यसबाट मोटो रकम कमिसन लिन्थे । त्यसैमध्येको एउटा पाटोको रिपोर्टिङ वेवले आफ्नो पत्रिका ‘मर्करी न्युज’ मा गरेका थिए ।
वेवले ‘डार्क अलाईन्स’ नामको त्यो श्रृङ्खलामा १७ वटा फलोअप स्टोरी गरेका थिए । वेवको अनुसन्धान लगातार प्रकाशित भइरहेको थियो र त्यसले तस्करीमा प्रत्यक्ष जोडिएका सरकारी निकायको तप्कामा ठूलै हलचल मच्चाई दिएको थियो ।
यसैबिच १० डिसेम्बर २००४ का दिन वेव आफ्नै घरमा मृत अवस्थामा फेला परे । जसले सिआइए र सेनाका अधिकारीहरू कोकिन तस्करीमा लागेका छन् भनेर रिपोर्टिङ गरिरहेको थियो, उसैको अचानक मृत्युको खबरले सबैलाई सिआइएतर्फ औँला उठाउनु पर्ने बनाई दियो । पछि सन् २०१४ मा ग्यारी स्टेफन वेवमाथि ‘किल द म्यासेन्जर’ सिनेमा बन्यो ।
मिलन नेपाली
नेपालको इतिहासमा सशस्त्र जनयुद्धले सामन्ति युगको अन्त्य गरिदिएको छ । जनयुद्धकै कारण समाजका दबिएका, हेपिएका र सिमान्तकृत समुदायले अधिकार प्राप्त गरेका छन् । ऐतिहासिक रूपमै दमन र शोषणको माखेसाङ्गलोमा जेलिएका आमनेपाली मध्येको एउटा नाम हो– मिलन नेपाली । उनी जनताको आवाज बोक्ने सिपाही थिए । उनी पत्रकार मात्रै थिएनन्, साहसी देशभक्त पत्रकार थिए ।
मिलनको कथा केवल एउटा व्यक्ति मात्रको कथा होइन । त्यो कथा हो– सत्य र न्यायको । नेपालीको पीडाको । सङ्घर्षको, अनि अधूरो आशाको । उनलाई २६ वर्षअघि आजकै दिन अर्थात भदौ ७ मा राज्यपक्षले बेपत्ता पार्यो । त्यहाँदेखि हालसम्म उनलाई न त परिवारले पत्ता लगाउन सकेको छ न कुनै सरकारी निकायले । उनी अझै पनि वेपत्ता छन् । तर, उनको आवाज अझै पनि नेपाली समाज र पत्रकारिता जगतमा गुञ्जिरहेकै छ ।
१२ जेठ २०२५ मा चितवनमा जन्मिएका उनी सानैदेखि सामाजिक विभेद र शोषणका विरुद्ध उभिन पुगे । बुबा तिलकबहादुर खवासबाट राजनीतिक चेतना विरासतमा पाएका उनले आजीवन त्यसैलाई अघि बढाई रहे । जनताको आवाज बोल्ने माध्यमका रूपमा उनले पत्रकारितालाई रोजे । पत्रकारितामा निडरता र जनताप्रतिको कर्तव्यलाई सर्वोपरि मान्दै उनले कलम चलाइरहे । मिलन नेपालीका रूपमा सबैतिर चिरपरिचित भए पनि उनी वास्तवमा मिलन खवास हुन् । मिलनले २०५३ सालमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाबाट सदस्यता लिएको महासंघका पूर्व अध्यक्ष प्रभुनारायण बस्नेत बताउँछन् ।
०५३ सालदेखि नै मिलनलाई तत्कालीन राज्यसत्ताले बारम्बार गिरफ्तार गर्यो । त्यसक्रममा उनले सबैभन्दा पहिले १९ दिन हनुमानढोकाको हिरासतमा बिताउनु पर्यो । अवस्था कतिसम्म कठिन थियो भने पत्नी सबिता बस्नेतले समेत मिलनलाई भेट्न पाउने अवस्था थिएन । तर, दैनन्दिनको अथक प्रयासबाट उनले अन्तत: पतिलाई भेटी छाडिन् । त्यसपछि उनी हरेक दिन खाना पुर्याउन जान्थिन । उनी फेरी ०५४ सालमा गिरफ्तार भई एक महिना जेलमा बिताए ।
पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले समेत मिलन नेपालीको रिहाइका लागि आन्दोलन गर्यो । त्यतिबेला ओम शर्मा र मिलन नेपालीलाई गिरफ्तार गरिएपछि आन्दोलन चर्कियो । आन्दोलनका कारण एक महिनाभित्र उनीहरूलाई रिहा गर्न बाध्य भयो तत्कालिन सरकार ।
०५२ सालयता देशभर जनयुद्धको आगोले विकराल रूप लिदै गइरहेको थियो । उता मिलन भने माओवादी आन्दोलनका क्रममा राज्य पक्षद्वारा भएका दमनका श्रृङ्खलाहरूलाई कलममार्फत उजागर गरिरहेका थिए र राज्यको आँखामा कसिङ्गर बनिरहेका थिए । पत्रकारितामा उनको साहस र लेखनीले उनलाई ‘जनादेश’ साप्ताहिकको प्रबन्ध सम्पादकसम्म पुर्यायो । जनादेश तत्कालीन समयमा माओवादीको आधिकारिक मुखपत्र थियो ।
राज्यद्वारा जनादेश प्रतिबन्धित थियो, मिलन आफ्नो पत्रकारितालाई त्यसैमार्फत अघि बढाईरहेका थिए । रिपोर्टिङकै लागि उनी भूमिगत हुनैपर्ने अवस्था झन–झन बलियो बन्दै गइरहेको थियो । तर, मिलनले कठोर परिस्थितिमा पनि सत्य र जनताका पक्षमा उठाएको कलम बेपत्ता नपरुन्जेलसम्म बिसाएनन् । ७ जेठ ०५६ मा ललितपुरको भट्टेडाँडा रहेको प्रहरी चौकीमा आक्रमण भयो । मिलनले त्यसको समाचार लेखे । तत्कालीन राज्यपक्षले त्यसैलाई आधार बनाएर उनलाई भदौ ७ मा गिरफ्तार गर्यो । त्यसयता उनी आजका दिनसम्म बेपत्ता छन् ।
सबैभन्दा पहिले उनलाई पक्राउ गरी प्रहरी प्रधान कार्यालय, नक्साल राखियो । उनकी पत्नी बस्नेतले अन्तिम पटक उनलाई त्यहीँ देखेकी थिइन । त्यसपछि आजसम्म पनि उनले आफ्नो पतिलाई भेट्न, देख्न पाएकी छैनन् । आजसम्म मिलनको कुनै खबर छैन । समाचार लेखेकै भरमा बेपत्ता बनाइएका पत्रकारबारे भने नेपाली पत्रकारिता जगतमा कमै चर्चा हुने गर्छ ।
२६ वर्षदेखि बस्नेतका आँखाले अझै पनि मिलनलाई खोजिरहेकै छन् । तर, मिलन कहाँ छन् ? कसैलाई थाहा छैन । नेपाली पत्रकारिताको मात्रै होइन, नेपालको जनइतिहासमा आजको दिन कालो दिनका रूपमा दर्ज रहिरहने छ । किनभने मिलन नेपालीको कथा हामी सबै नेपाली पत्रकारको कथा हो । न्यायको खोजी, एक अमिट पीडा र एक उज्वल आशाको प्रतीकको कथा हो यो ।
विश्व पत्रकारिताको इतिहासमा कयौँ त्यस्ता पत्रकार छन्, जो आफ्नो काम गर्दागर्दै कतै विद्रोहीबाट मारिए त कतै राज्यपक्षबाट । कयाँै दुबै पक्षबाट वेपत्ता पारिए । नेपाली पत्रकारिताको इतिहासमा पनि हामीलाई त्यस्ता पत्रकारहरूबारे थाहा छ, जो राज्य र विद्रोही पक्षबाट मारिए । तर, मिलन नेपाली त्यस्ता अपवाद पत्रकारहरू मध्ये पर्छन, जसबारे सार्वजनिक रूपमा चर्चा–परिचर्चा हुने गर्छ ।
शासक, सत्ताधारी र सत्ताधारी भाष्य बोक्ने मानिसको इतिहास लेख्ने प्रचलनबीच जनताको आवाज बोक्ने अमेरिकाका पत्रकार ग्यारी वेव हुन् वा नेपालका मिलन दुबैको निष्ठा, साहस र पत्रकारिताको चर्चा कमै हुने गरेको छ । इतिहास लेखनमा विविध धाराहरूबिच जनताको जनइतिहास लेख्ने परम्पराको विकास भएसँगै आशा गरौँ हामीले पनि यी दुबै पत्रकारबारे केही न केही पढ्न पाउने छौँ । आजका दिन त्यसअर्थमा पनि महत्वपूर्ण छ जनताको आवाज पत्रकारहरूका निम्ति ।
(लेखक नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष हुन्)
प्रतिक्रिया 4