
News Summary
Generated by OK AI. Editorially reviewed.- हिरो मोटोकर्पले नाडा अटो शो २०२५ मा चार नयाँ दुईपाङ्ग्रे उत्पादन प्रस्तुत गरी बजारमा नयाँ उत्साह थपेको छ।
- नयाँ स्कुटर जुम १२५ आरको मूल्य ३ लाख ९ हजार ९ सय तोकिएको छ र मेलाको चौथो दिनसम्म १ सयभन्दा बढी युनिट बुकिङ भएको छ।
- सुपर स्प्लेन्डर बीएस६ एफआई १२५ सीसी फ्युल इन्जेक्टेड इन्जिनसहित २ लाख ६६ हजार ९ सय मूल्यमा बिक्रीमा आएको छ।
८ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा विश्वप्रसिद्ध दुई पाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो बलियो उपस्थिति देखाउँदै धूम मच्चाइरहेको छ ।
शोमा हिरोको स्टल दर्शक तथा सम्भावित ग्राहकको प्रमुख आकर्षणको केन्द्र बनेको छ, जहाँ कम्पनीले आफ्ना चार नयाँ उत्पादन प्रस्तुत गरेर बजारमा नयाँ उत्साह थपेको छ ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजीका प्रतिनिधि कृतन क्षेत्रीका अनुसार यीमध्ये दुई मोडेलको मूल्य सार्वजनिक गरी बिक्री सुरु गरिएको छ भने बाँकी दुई बहुप्रतीक्षित मोडेललाई प्रदर्शनीका लागि राखिएको छ ।
आक्रामक बुकिङ सहित आयो हिरो ‘जुम १२५ आर’
यस पटकको अटो शोमा हिरोको सबैभन्दा चर्चित उत्पादनका रूपमा नयाँ स्कुटर ‘जुम १२५ आर’ देखापरेको छ । सार्वजनिक भएको केही दिनमै यसले बजारमा बलियो पकड बनाइसकेको छ, जसको प्रमाण मेलाको चौथो दिनसम्म १ सयभन्दा बढी युनिट बुकिङ हुनु हो ।
यसको लोकप्रियतालाई पुष्टि गर्दै क्षेत्रीले भने, ‘मेलाको चौथो दिनसम्ममा नै जुम १२५ आरको बुकिङ १ सय युनिट नाघिसकेको छ, यसले बजारमा यो स्कुटरप्रतिको उत्सुकता कति छ भन्ने देखाउँछ ।’
कम्पनीले यसको आकर्षक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ, जसले गर्दा यो स्कुटर १२५ सीसी सेग्मेन्टमा एक प्रमुख प्रतिस्पर्धी बनेको छ ।
उनका अनुसार विशेषताका हिसाबले यो स्कुटर निकै उन्नत छ । यसमा १४ इन्चको ठूलो टायर प्रयोग गरिएको छ, जसले सडकमा राम्रो सन्तुलन र आरामदायी यात्रा प्रदान गर्छ ।
यसको नयाँ डिजिटल क्लस्टरले चालकलाई आवश्यक सबै जानकारी स्पष्ट रूपमा देखाउँछ । सबैभन्दा सुविधाजनक विशेषताका रूपमा यसको बाहिरी फ्युल क्याप रहेको छ, जसले पेट्रोल भर्दा सिट खोल्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ ।
सुरक्षा ध्यानमा राख्दै यदि पेट्रोल क्याप राम्रोसँग बन्द भएन भने यसमा रहेको बिप प्रणालीले चालकलाई सचेत गराउँछ । साथै, ट्राफिक जाममा इन्धन बचत गर्न हिरोको लोकप्रिय आईथ्रीएस (आइडल स्टार्ट–स्टप सिस्टम) प्रविधि पनि यसमा समावेश गरिएको छ ।
यो स्कुटर पहेँलो, रातो, खैरो र निलो गरी चार आकर्षक रङमा उपलब्ध छ ।
नयाँ इन्जिन सहित ‘सुपर स्प्लेन्डर बीएस६ एफआई’
नेपाली बजारमा दशकौंदेखि आफ्नो छुट्टै पहिचान बनाएको र सबैभन्दा रुचाइएको मोटरसाइकलमध्ये एक सुपर स्प्लेन्डरलाई हिरोले अब अझ शक्तिशाली र आधुनिक बनाएर प्रस्तुत गरेको छ । नयाँ ‘सुपर स्प्लेन्डर बीएस६ एफआई’ मा १२५ सीसीको फ्युल इन्जेक्टेड (एफआई) इन्जिन जडान गरिएको छ, जसले उत्कृष्ट माइलेजका साथै राम्रो पर्फर्मेन्स दिने कम्पनीको दाबी छ ।
आफ्नो विश्वसनीयता र दमदार प्रदर्शनका लागि परिचित यो मोडेलको नयाँ संस्करणको मूल्य २ लाख ६६ हजार ९ सय तोकिएको छ, जसले यसलाई पारिवारिक तथा दैनिक प्रयोगका लागि एक उत्कृष्ट विकल्प बनाएको क्षेत्रीको भनाइ छ ।
भविष्यका स्टार : ‘एक्सपल्स २१०’ र ‘जुम १६०’
हिरोको स्टलमा मूल्य सार्वजनिक नगरिएका तर सबैभन्दा बढी ध्यान खिच्न सफल दुई मोडेल ‘एक्सपल्स २१०’ र ‘जुम १६०’ रहेका छन्। यी दुई मोडेल हेर्नकै लागि स्टलमा भिड लागेको छ ।
हिरो एक्सपल्स २१० लाई कम्पनीले ‘मोस्ट अवेटेड बाइक’ का रूपमा प्रस्तुत गरेको छ । यसको डिजाइन पूर्णरूपमा नयाँ र आक्रामक छ । अफ–रोड यात्रा ध्यानमा राख्दै यसमा लिंक सस्पेन्सन जडान गरिएको छ, जसले खाल्डाखुल्डी र अप्ठ्यारो बाटोमा पनि आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यसको टीएफटी डिस्प्लेले जस्तोसुकै प्रकाशमा पनि बाइकको गति, राइडिङ मोड र अन्य जानकारी स्पष्ट देखाउँछ । चालकले आफ्नो आवश्यकता अनुसार अफ–रोड, रोड र ट्रेल गरी तीन फरक राइडिङ मोडहरू छनोट गर्न सक्छन् र एबीएस प्रणालीलाई अन वा अफ पनि गर्न सक्छन्, जसले चालकलाई बाइकमाथि पूर्ण नियन्त्रण प्रदान गर्छ ।
त्यसैगरी हिरो जुम १६० म्याक्सी–स्कुटर सेग्मेन्टमा हिरोको नयाँ प्रवेश हो । यो विशेषगरी लामो दुरीको यात्रा अर्थात् टुरिङका लागि डिजाइन गरिएको हो, जसले आरामदायी र शक्तिशाली यात्रा अनुभव दिने छ । यसको मूल्य भने कम्पनीले पछि सार्वजनिक गर्ने जनाएको छ ।
ग्राहकका लागि विशेष अफर र सुविधा
ग्राहकलाई आकर्षित गर्न हिरोले नाडामा बुकिङ गर्नेहरूका लागि अल्टिमाको इयरबड्स निःशुल्क उपहारको व्यवस्था गरेको छ । बिक्रीपछिको सेवा प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना सबै उत्पादनमा पाँच वर्षको इन्जिन वारेन्टी प्रदान गर्दछ ।
त्यस्तै, वार्षिक मर्मत सम्झौता (एएमसी) मार्फत ग्राहकले स्पेयर पाट्र्स र सर्भिसिङमा विशेष छुट प्राप्त गर्न सक्नेछन्, जसले गर्दा गाडी सञ्चालन खर्च कम हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4