
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सेयर बजारमा कुल ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ५२ करोड बढी हो।
- हिमालयन डिस्टिलरीले २६.८४ प्रतिशत हिस्सा लिएर १ अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको छ र यसको सेयर मूल्य ३.६० प्रतिशतले बढेर १४२१ रुपैयाँ पुगेको छ।
- कम्पनीको आर्थिक वर्ष २०८१/८२ को खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.६ गुणा बढी हो।
८ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ६ अर्ब ५४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ५२ करोड बढी हो ।
आज हिमालयन डिस्टिलरीको उच्च रकमको कारोबार हुँदा समग्र कारोबार रकम बढ्न गयो । आइतबार कुल कारोबारमा हिमालयन डिस्टिलरीको मात्रै हिस्सा २६.८४ प्रतिशत हो ।
सो कम्पनीको मात्रै १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । एकै दिन यति ठूलो कारोबार हुनुमा खास कुनै कारण देखिँदैन । यद्यपि कम्पनीले यसअघि नै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण उत्साहप्रद छ ।
आइतबार एकैदिन कम्पनीको सेयर मूल्य पनि ३.६० प्रतिशत बढेर प्रतिकित्ता १४२१ रुपैयाँ पुगेको छ । ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज)मार्फत सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
भिजनमार्फत ७१ करोड ७८ लाख रुपैयाँको सेयर खरिद हुँदा सोही ब्रोकरबाट १ अर्ब २० करोड रुपैयाँको बिक्री भएको छ । अर्थात् धेरै कारोबार गरेको ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी भएको छ ।
भिजनपछि ब्रोकर नम्बर ९४ (केबीएल सेक्युरिटिज)मार्फत १२ करोडको सेयर खरिद भएको छ भने बिक्रीतर्फ ५८ नम्बर (नासा)मार्फत ७ करोड रुपैयाँको बिक्री भएको छ ।
आइतबार हिमालयन डिस्टिलरीको धेरै कारोबार गरेका टप १० ब्रोकर कम्पनी
बजारमा कम्पनीको कुल सूचीकृत सेयर संख्या ३ करोड ७ लाख ३४ हजार १८ कित्ता छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । जुन अघिल्लो आव २०८०/८१ को नाफा ३६ करोड ५० लाखको तुलनामा २.६ गुणा बढी हो ।
कम्पनीको बिक्री आम्दानी घट्दा अघिल्लो आर्थिक वर्षसम्म नाफा घट्दै आएकोमा गत आर्थिक वर्ष बिक्री आम्दानी उल्लेख्य बढेको छ । बिक्री आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी जम्मा ४ अर्ब १५ करोड थियो ।
प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा रहेकोमा गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा छ । यसले गर्दा लगानीकर्ता/कारोबारी कम्पनीको सेयरमा पनि आकर्षित भएका छन् । पछिल्ला दुई सातामा समग्र बजार घटे पनि यो कम्पनीको मूल्य घटेको छ । साउन २१ गते प्रतिकित्ता १३३९ रुपैयाँ रहेको यसको मूल्य अहिले १४२१ रुपैयाँ छ ।
कुनै समय सेयर बजारमा मूल्यवान कम्पनीका रूपमा यो चिनिन्थ्यो । १३ फागुन २०७७ मा यो कम्पनीको मूल्य प्रतिकित्ता ४ हजार २ सय ५० रुपैयाँ पुगेको थियो । त्यतिबेला मूल्य त्यसै बढेको थिएन, कम्पनीको वित्तीय स्थिति अहिलेभन्दा राम्रो थियो ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी नै ११९ रुपैयाँ थियो । सो वर्ष १ अर्ब ४ करोड खुद नाफा कमाएको थियो ।
त्यसपछिका वर्षमा नाफा घट्दै गयो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफा ३६ करोड ५० लाख रुपैयाँमा खुम्चियो । बोनस सेयरका कारण सेयर संख्या बढ्दै जाने तर नाफा घट्दै गएपछि प्रतिसेयर आम्दानी जम्मा ११ रुपैयाँमा झरेको थियो ।
आइतबार फेरि कम्पनीको मूल्यवृद्धिसँगै उच्च कारोबार भए पनि वृद्धि भएको मूल्य टिक्ने/नटिक्नेमा आगामी केही दिनले देखाउनेछ ।
प्रतिक्रिया 4