
क्यास्पियन सागर विश्वको सबैभन्दा ठूलो ताल हो । यो नुनिलो पानीको विशाल ताल तीव्र गतिमा सुक्दै गएको तथ्यले सबैलाई त्रसित बनाएको छ ।
जलवायु परिवर्तन तथा उष्णीकरणका कारण ध्रुवीय क्षेत्र तथा हिमश्रृंखलाहरुको हिउँ पग्लिएर समुद्री सतह माथि उठिरहेका बेला समुद्रसँग नजोडिएको क्यास्पियन सागरको सतह भने घट्दै जानुले संकटको शंखघोष गरेको वैज्ञानिकहरूको चेतावनी छ ।
अजरबैजानका अधिकारीहरुले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षमा क्यास्पियन सागरको जलस्तर ०.९३ मिटरले तल झरेको छ । हरेक वर्ष २०.३० सेन्टिमिटरको गतिमा क्यास्पियन सागरमा पानीको सतह तल झरिरहेको छ ।
खुम्चिँदै गएको क्यास्पियन सागरको असर केवल तेलको आपूर्ति र बन्दरगाहमा मात्र परेको छैन, स्टर्जन माछा तथा क्यास्पियन सिल जस्ता प्रजातीहरू समेत खतरा उन्मुख छन् । अजरबैजानका पर्यावरण उपमन्त्री रउफ हाजियेवले क्यास्पियन सागर सुक्दै गएको घटनालाई आर्थिक तथा पर्यावरणीय विपद्को संज्ञा दिएका छन् ।
क्यास्पियन सागर : विश्वको अमूल्य श्रोत
३ लाख ७१ ह्जार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको क्यास्पियन सागर पाँचवटा देशहरु, अजरबैजान, इरान, काजकिस्तान, रूस र तुर्कमेनिस्तानले घेरिएको छ । यो विश्वको सबैभन्दा ठूलो बन्द जलासय हो, जसलाई नुनिलो ताल पनि भनिन्छ । यसको गहिराई तथा विशालताले गर्दा यसलाई तेल तथा ग्यास भण्डारको केन्द्र बनाएको छ ।

इसका अलावा क्यास्पियन सागर स्टर्जन माछाको घर पनि हो, जुन माछाको अण्डाको विश्वमा ठूलो माग छ । साथै क्यास्पियन सिल जस्ता अनौठा प्रजातिहरु प्नि यो सागरमा पाइन्छन् । तर तालको पानी तिव्र रुपमा घट्दै जाँदा योसँग जोडिएका देशहरुको अर्थव्यवस्था, पर्यावरण तथा स्थानीय मानिसहरुको जीवनमा समेत गहिरो असर परको छ ।
जलस्तरमा गिरावट : कति र किन ?
पर्यावरण उपमन्त्री रउफ हाजियेवका अनुसार क्यास्पियन सागरको जलस्तरमा दशकौँदेखि गिरावट आइरहेको छ । तर पछिल्ला वर्षहरूमा यसको गति बढिरहेको छ ।
तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा जलस्तर ३ फिटले घटेको छ भने एक दशकमा डेढ मिटर तथा ३० वर्षमा साढे २ मिटरले घटेको छ । हरेक वर्ष क्यास्पियन सागरको जलस्तर २० देखि ३० सेन्टिमिटरले घटिरहेको छ ।
समुद्री सतहमा वृद्धि भइरहेको बेला क्यास्पियन सागरको पानी किन सुकिरहेको छ त ? यसका दुई कारण छन् ।
पहिलो हो, जलवायु परिवर्तन । बढ्दो तापमान र कम वर्षाका कारण क्यास्पियन सागरमा पानीको प्रवाह कम भएको छ । यो सागरमा हुने पानीको आपूर्तिमध्ये ८० प्रतिशत हिस्सा ओगट्ने भोल्गा नदीमा पनि पानीको मात्रा घटिरहेको छ ।

तथ्यांक अनुसार भोल्गा बेसिनमा विगतमा हुने वर्षा अहिले उत्तरतर्फ (मस्को तथा सेन्टर पिटर्सवर्ग) सरेको छ । त्यहाँ हुने वर्षाको पानी क्यास्पियन सागरमा नभई उत्तर ध्रुवीय सागरमा जान्छ ।
त्यस्तै दोश्रो कारण चाहीँ भोग्ला नदीमा रूसले बनाएका बाँधहरू हुन् । अजरबैजानका अनुसार रूसले भोल्गा नदीमा ४० वटा बाँध बनाएको छ । थप १८ वटा बाँधहरू बनिरहेका छन् । यी बाँधहरूले विद्युत र सिँचाइका लागि पानी रोक्दछन्, जो सागरसम्म पुग्न पाइरहेको छैन ।
यद्यपि, रूसले भने क्यास्पियन सागरको जलसतह घट्दै जानुको मुख्य कारण जलवायु परिवर्तन नै भएको दाबी गर्दछ । रूसी जलवायु वैज्ञानिक तेलमन जेनालोभ र प्योत्र बुखारित्सिन भने क्यास्पियन सागरको जलस्तरमा देखिएको उतारचढाव प्राकृतिक र चक्रीय भएको बताउँछन् । तर, काजकस्तानका पर्यावरण विज्ञ किरिल ओसिनका अनुसार जलवायु परिवर्तनसँगै नदीहरूको अत्यधिक दोहनले उक्त संकटलाई झनै बढाइरहेको छ ।
क्यास्पियन सागर सुक्दै जानुको अर्को कारकतत्व कारा बोगाज खाडीलाई पनि ठानिएको छ । तुर्कमेनिस्तानमा रहेको यो खाडीले क्यास्पियन सागरको पानीलाई तानेर तीव्र गतिमा वाष्पीकरण गराइरहेको छ ।

त्यस्तै क्यास्पियन सागरको विनाशमा सैन्य गतिविधिलाई पनि कारक मानिन्छ । रूसले सन् २०२२ मा क्यास्पियन सागरबाट क्रुज मिसाइल प्रक्षेपण गरेको थियो, जसले प्रदुषण बढाउने काम गर्यो । सन् २०२२ मा काजकस्तान र तुर्कमेनिस्तानमा सयौं क्यास्पियन सिल मृत फेला परेका थिए ।
आर्थिक असर: तेल र बन्दरगाह
क्यास्पियन सागर खुम्चिँदै जाँदा त्यसको सबैभन्दा ठूलो असर अजरबैजानको अर्थतन्त्रमा परिरहेको छ, जो तेल तथा ग्यासमा निर्भर छ । बाकु अन्तर्राष्ट्रिय सामुद्रिक बन्दरगाहका निर्देशक एल्डर सलाखोभका अनुसार क्यास्पियन सागरको घट्दो जलस्तरका कारण जहाजहरूलाई बाकु बन्दरगाहमा आवतजावत गर्न समस्या भइरहेको छ ।
सलाखोभका अनुसार क्यास्पियन सागरको घट्दो जलस्तरले बन्दरगाहसम्म जहाजहरूलाई आउन जान समस्या हुँदा तेलको आपूर्तिमा कमी आएको छ ।
दुबेन्दी तेल टर्मिनलबाट सन् २०२५ को पहिलो ६ महिनामा ८.१ लख टन तेल तथा पेट्रोलियम उत्पादन पठाइएको छ, जबकि गतवर्ष सोही अवधिमा ँ८.८ लाख टन पेट्रोलियम पदार्थ आपूर्ति भएको थियो ।
यसका साथै पानीको सतह घट्दा जहाजहरुको मालवस्तु बोक्ने क्षमतामा कमी आउँदा बन्दोबस्तीको लागत बढेको छ । त्यस्तै बन्दरगाहलाई गहिरो बनाउनका लागि पिँधको उत्खनन गर्नु परिरहेको छ ।
सन् २०२४ मा दुबेन्दी टर्मिनलमा २.५ लाख घनमिटर उत्खनन (ड्रिजिङ) गरिएको थियो, ताकि ठूला जहाजहरू त्यहाँसम्म आईपुग्न सकून् । यस्तो उत्खननको लागि ठूलो खर्च हुने गरेको छ ।
गत अप्रिलमा बाकु शिपयार्डले इन्जिनियर सोल्तान काजिमोभ नामक एउटा ड्रेजिंग जहाजलाई क्यास्पियन सागरमा उतार्यो । यो जहाजले क्यास्पियन सागरको पिँधलाई ३ देखि १५ मिटर सम्म थप गहिरो बनाउन सक्दछ ।
पर्यावरण माथिको संकट
क्यास्पियन सागर खुम्चिनुको असर केवल अर्थव्यवस्थासम्म मात्र सीमित छैन । यसले वातावरणीय संकट पनि ल्याइरहेको छ । जो निम्नानुसार छन्:
स्टर्जन माछा : यो माछाको अण्डा निकै महंगो पर्दछ र विश्वव्यापी रुपमा यसको माग छ । यो माछा पहिलेदेखि नै लोपोन्मुख अवस्थामा रहेको छ । अझ जलस्तरको गिरावटले गर्दा यो माछाको वासस्थानमा ४५ प्रतिशतले क्षयीकरण भएको छ । सागरको पानी घट्दा र बाँध बनाइँदा यो माछा प्रजनन का लागि भोल्गा नदीसम्म जान पाइरहेको छैन ।
क्यास्पियन सिल : सागरको क्षेत्र संकुचित हुँदा र उत्तरी हिस्सामा हिउँका मैदान नासिँदा सिल प्रजातीको प्रजननस्थल खतरामा परेका छन् । यदि जलस्तर ५ मिटरले घटेमा सिलको ८१ प्रतिशत प्रजननस्थल नष्ट हुन्छन् । अनि १० मिटर जलसतह घट्दा प्रजननस्थल पूर्ण रुपमा नष्ट हुन्छन् ।
सिमसार र लगूनहरूको विनाश: क्यास्पियन सागरको जलस्तर घट्दा तटीय सिमसार क्षेत्र तथा कम गहिरो जलसतह भएको जैविक विविधताले युक्त क्षेत्रहरु अर्थात् लगूनहरू नष्ट भईरहेका छन् । जसले जैविक विविधता र पर्यावरण विनासलाई तीव्र बनाएको छ ।
सामाजिक तथा क्षेत्रीय प्रभाव
क्यास्पियन सागरको तटमा डेढ करोड मानिसहरुको बसोबास छ । जसमध्ये ४० लाख अजरबैजानमा छन् । जलस्तरको कमीले गर्दा स्थानीय मानिसहरुको जनजिविका नै प्रभावित भइरहेको छ, खासगरी माछा मार्ने व्यवसायमा संलग्न मानिसहरूको ।

त्यसैगरी पिउने पानीको आपूर्तिमा पनि समस्या उत्पन्न हुन थालेको छ । कजाकस्तानको अकताउ सहरमा सन् २०२३ मा पानीको अभावकै कारण आपतकाल घोषणा गर्नुपरेको थियो ।
क्यास्पियन सागरको पानीको स्तर घट्दैजाँदा चीन र युरोप बीचको व्यापारको महत्वपूर्ण मार्गको रुमपा रहेको ट्रान्स क्यास्पियन अन्तर्राष्ट्रिय परिवहन रुट पनि प्रभावित भएको छ ।
क्यास्पियन सागर बचाउन के हुँदैछ ?
क्यास्पियन सागर त्यससँग जोडिएका देश तथा करोडौँ मानिसको जिवनरेखा त हो नै, यसले विश्वभरकै अर्थतन्त्र तथा पर्यावरणमा समेत प्रत्यक्ष परोक्ष प्रभाव पार्ने पक्का छ ।
त्यसैले सागरको जलस्तरको क्षयीकरणबाट सम्बन्धित देशहरू गम्भीर बनेका छन् र सागरको अस्तित्व जोगाउनका लागि काम थालिसकेका छन् ।
ज्समध्ये अजरबैजान–रूस कार्यसमूह एक प्रमुख प्रयास हो । गत अप्रिल महिनामा यी दुई देशले उक्त समस्यामाथि छलफल गर्नका लागि पहिलोपटक बैठक गरे । फलस्वरुप आगामी सेप्टेम्बर महिनामा एक अनलाइन निगरानी कार्यक्रम सुरुवात गर्ने योजना बनाइएको छ ।
अस्ताना अन्तर्राष्ट्रिय फोरम, २०२५ : अजरबैजानका पूर्ववातावरणमन्त्री समेत रहेका नेता तथा वातावरण संरक्षण अभियानकर्मी मुख्तार बाबायेभले क्यास्पियन सागरलाई बचाउनका लागि एक उच्चस्तरीय शिखर सम्मेलन बोलाउने प्रस्ताव अघि सारेका छन् । उनी त्यहाँका राष्ट्रपतिको जलवायु सल्लाहाकार पनि हुन् ।
तेहरान महासन्धी : यहीँ वर्ष इरानको राजधानी तेहरानमा हुने भनिएको यस सम्मेलनमा क्यास्पियन सागरको जलसतह घटिरहेको विषयमा पनि चर्चा हुनेछ ।
ड्रेजिङ : बन्दरगाह स्थलमा सागरको पिँध उत्खनन गरेर गहिरो बनाउने यस्तो काम अजरबैजान र काजकस्तानले गरिरहेका छन् ।
यावत प्रयासहरूका बावजुद यो शताब्दीको अन्त्यसम्ममा क्यास्पियन सागरको जलस्तर ९ देखि १८ मिटर सम्म घट्नसक्ने अनुमान वैज्ञानिकहरूको छ ।
यसले बन्दरगाह तथा व्यापारमार्ग बन्द हुनसक्छ । त्यस्तै माछा तथा सिलका प्रजातीहरू पूर्णरुपमा लोप हुनसक्छन् । यसबाट क्यास्पियन सागर पनि अराल सागर जस्तै पर्यावरणीय त्रासदी बन्ने जोखिम रहेको छ । एजेन्सी
प्रतिक्रिया 4