
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८ भदौसम्म देशभरि धान रोपाइँ हुने कुल क्षेत्रफलको ९४.९ प्रतिशतमा रोपाइँ सकिएको जनाएको छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशमा ९९.७२ र ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ भने मधेश प्रदेशमा ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको छ।
- मन्त्रालयले मधेश प्रदेशमा रोपाइँको गति सुस्त हुँदा समग्र राष्ट्रिय धान उत्पादनमा असर पर्न सक्ने अनुमान गरेको छ।
९ भदौ, काठमाडौं । यस वर्ष देशभर हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८ भदौसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९४.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको हो ।
मनसुनको सक्रियता र किसानहरूको अथक मिहिनेतका कारण अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगे पनि धान उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा भने रोपाइँको गति सुस्त देखिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालभर कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । समग्रमा राष्ट्रिय औसत उत्साहजनक रहे पनि प्रदेशगत तथ्यांकमा भने भिन्नता देखिएको छ ।
सार्वजनिक विवरण अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा रोपाइँ लगभग सकिएको छ । सुदूरपश्चिममा ९९.७२ प्रतिशत र कर्णालीमा ९९.३४ प्रतिशत रोपाइँ सम्पन्न भई यी दुई प्रदेश रोपाइँमा सबैभन्दा अगाडि देखिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत, कोशी प्रदेशमा ९७.२४ प्रतिशत र बागमती प्रदेशमा ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा पनि ९६.६३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
यद्यपि, धान उत्पादनका लागि देशकै सबैभन्दा उर्वर र महत्त्वपूर्ण मानिने मधेश प्रदेशमा भने रोपाइँको गति अन्य प्रदेशको तुलनामा सुस्त देखिएको छ ।
मन्त्रालयका अनुसार मधेशमा कुल ३ लाख ७० हजार १ सय ४५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८६.३५ प्रतिशत अर्थात् ३ लाख १९ हजार ६ सय २६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
देशको कुल धान उत्पादनमा ठूलो हिस्सा ओगट्ने यस प्रदेशमा रोपाइँको गति कम हुँदा त्यसले समग्र राष्ट्रिय उत्पादनमा असर पार्न सक्ने अनुमान गरिएको छ ।
गत वर्ष यसै अवधिसम्मको तथ्यांक हेर्दा देशभर ९८.५४ प्रतिशत रोपाइँ सकिएको थियो, जसमा कोशी र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष राष्ट्रिय औसतमा सामान्य कमी देखिनुमा मधेशको सुस्ततालाई प्रमुख कारण मानिएको छ ।
यद्यपि, अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेकाले समग्रमा यस वर्ष धान उत्पादन सन्तोषजनक रहने मन्त्रालयको विश्वास छ ।
प्रतिक्रिया 4