
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक अर्जुन सुवेदीले सामाजिक विषयमा आधारित नयाँ चलचित्र 'कन्यादान' निर्माण गर्ने घोषणा गर्नुभएको छ।
- फिल्मले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई केन्द्रमा राख्दै दोस्रो अवसर पाउने विषय देखाउनेछ।
- सन् २०२६ मा प्रदर्शन लक्ष्य राखिएको यस फिल्मको पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
काठमाडौं । यसअघि ‘रङ्गेली’ फिल्म निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् ।
सामाजिकरुपमा संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस फिल्मले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ ।
फिल्मको सार ’हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ ।
यसको पटकथा लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् । फिल्मलाई सन् २०२६ मा प्रदर्शन लक्ष्य राखिएको छ । निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
प्रस्तुतकर्तामा रेजिना बिष्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन् ।
यसअघि ‘कन्यादान’ शीर्षकमा फिल्म बनेका भएता पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ । घोषणासँगै सार्वजनिक गरिएको पोस्टरमा फिल्मको थिम प्रस्तुत छ ।
पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्वीरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्ने निर्माताको भनाइ छ ।
प्रतिक्रिया 4