
News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघविना नेपालमा पर्वतारोहण सम्भव नहुने बताए।
- मन्त्री पाण्डेले ९७ हिमालमा दुई वर्षका लागि रोयल्टी छुट र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए।
१० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघविना नेपालमा पर्वतारोहणको सम्भावना नहुने बताएका छन् ।
मन्त्री पाण्डेले अध्यक्ष फुर्वागेल्जे शेर्पासहित नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै यस्तो बताएका हुन् । मन्त्री पाण्डेले संघमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको बताए ।
अधुरा परियोजना पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । उनले पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटक समेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।
नेपालका हिमालमा आरोहण सहज बनाउन सरकारले पछिल्लो पटक ९७ हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए ।
निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।
नवनिर्वाचित अध्यक्ष शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकोमा जोड दिँदै दैनिक विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा लेखक दावाटाशी शेर्पाले ‘शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयंमात्र बाँच्न सफल भएका थिए ।
प्रतिक्रिया 4