
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अध्यक्ष बन्न पाउने बताएका छन्।
- ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीति गर्न नहुने भन्ने एमालेको बटमलाइन नहुने उल्लेख गरे ।
- गत ६ साउनमा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो।
१० भदौं, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे दुई वर्षअघि दिएको अभिव्यक्ति अहिले भाइरल बनेको छ ।
ऋषि धमलासँगको १ घण्टा २८ मिनेट लामो अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले चाहे एमालेकै अध्यक्ष बन्न सक्ने बताएका छन् । राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिकालाई प्रशंसा गरेका ओलीले पूर्वराष्ट्रपतिले राजनीति गर्नुहुन्न भन्ने तर्कलाई बेकारको कुरा भनेका छन् ।
‘पूर्वराष्ट्रपतिको हैसियतले निस्कृय बस्ने भन्दा कुनै न कुनै हिसाबले सक्रिय हुनुहोस्, या सामाजिक कार्यमा सक्रिय हुनुस्, या पोलिटकल कार्यमा सक्रिय हुनुस् । हुनु हुँदैन भन्नु बेकारको कुरा हो, यो । पोलिटिक्समा आउनु हुन्न भन्ने पनि बेकारको कुरा हो’, अन्तर्वार्तामा ओलीले भनेका छन् ।
‘विद्या भण्डारीले एमालेको अध्यक्ष बन्न पाउँछन् ?’ भन्ने प्रश्नको जवाफमा पनि ओलीले पाउने बताएका छन् । ‘पूर्वराष्ट्रपति कांग्रेसको अध्यक्ष बनाउछन् भने पनि पाउँछ, अर्को पार्टीको अध्यक्ष बनाउँछ भने पनि पाउँछ, एमालेको अध्यक्ष बनाउछ भने पनि पाउँछ’, ओलीले भनेका छन् ।
पूर्वराष्ट्रपतिले राजनीति गर्न हुन्न भन्ने एमालेको बटमलाइन नहुने पनि उनले बताएका छन् । अन्तर्वार्तामा राष्ट्रपति हुँदाको समयमा चाहिँ निष्पक्ष भूमिका हुनुपर्ने तर्क गरेका छन् ।
‘राष्ट्रपति भएका बेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ’ ओलीले भनेका छन्, ‘राष्ट्रपति भएका हुनुअघि पनि राजनीतिमा हुन सक्छ, राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा हुन सक्छ ।’
प्रधानमन्त्री ओलीको यही अन्तर्वार्ताको भिडियो क्लिप अहिले विद्या भण्डारीका समर्थकहरुले धमाधम शेयर गरिरहेका छन् । भिडियो शेयर गर्दै एमालेको पछिल्लो निर्णय सच्याउन दबाव पनि बढाइरहेका छन् ।
गत ६ साउनको बैठकबाट एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । यो निर्णयलाई १२ साउनमा अपानि–१२, मार्फत मातहतको कमिटीमा पनि पठाइएको छ ।
यो अपानिमा पूर्वराष्ट्रपतिले राजनीति गर्दा गणतन्त्र र राष्ट्रपति संस्थाको गरिमा नरहने तर्क गरिएको छ । ‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन’ अपानिमा लेखिएको छ, ‘पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’
यही अपानि मार्फत विद्या भण्डारीबारे छलफल गर्न समेत रोक लगाइएको छ । यद्यपि भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउनुपर्ने आवाज उठिरहेकै छ ।
ओलीले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ताको अंशः
प्रश्न– राष्ट्रपति विद्यादेवी भण्डारीको तपाईले खुलेर प्रशंसा गर्नुभएको थियो नि ?
जवाफ : उहाँले अत्यन्तै देशभक्तिपूर्ण, अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकका हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो । र गठबन्धनको त्यत्रो हमला त्यत्रो असहिष्णुता, त्यसका बाबजुत राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैं स्मरण गर्नेछ र प्रशंसा गर्नेछ ।
विद्यादेवी भण्डारी राजनीतिमा फर्कने चर्चा चलिरहेको छ, के भन्नु हुन्छ ?
जवाफ: उहाँको खुशीको कुरा हो त्यो । हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निस्कृय बस्ने भन्दा कुनै न कुनै हिसाबले सक्रिय हुनुहोस्, या सामाजिक कार्यमा सक्रिय हुनुस्, या पोलिटकल कार्यमा सक्रिय हुनुस् । हुनु हुँदैन भन्नु बेकारको कुरा हो यो । पोलिटिक्समा आउनु हुन्न भन्ने पनि बेकारको कुरा हो ।
प्रश्न– एमालेको बटमलाइन होइन, विद्यादेवी भण्डारी आउनु हुन्न भन्ने ?
जवाफ– कसरी बटम लाइन हुन्छ । उहाँको खुशीको कुरा हो नि । राजनीति भनेको कसैले गर्न पाइँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइदैन भन्ने कुरा हुँदैन ।
प्रश्न– पूर्वराष्ट्रपति एमालेको अध्यक्ष बन्न पनि सक्छ ?
जवाफ– पूर्वराष्ट्रपति कांग्रेसको अध्यक्ष बनाउछन् भने पनि पाउँछ, अर्को पार्टीको अध्यक्ष बनाउँछ भने पनि पाउँछ, एमालेको अध्यक्ष बनाउछ भने पनि पाउँछ । कुन पार्टी कस्को के गर्छ, त्यो पनि पाउँछ । कस्तो राजनीति गर्छ त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो, उसको च्वाइसको कुरा भयो ।
अब राष्ट्रपति भएका बेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ । राष्ट्रपति भएका हुनुअघि पनि राजनीतिमा हुन सक्छ, राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा हुन सक्छ ।
प्रतिक्रिया 4