News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लाभाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्धन गरेको छ।
- टिमले रसिया र किर्गिस्तानबाट तीन विदेशी खेलाडीलाई समावेश गरी टोलीलाई बलियो बनाएको छ।
- प्रतियोगिता भदौ २० देखि २८ गते पोखरामा इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा सञ्चालन हुँदैछ।
१० भदौ, काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो ।
प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप गरेको हो ।
रसियन केसेनीया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्वपूर्ण लाभ पुग्ने विश्वास गरिएको छ । यस्तै किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन् ।
उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमले लिएको छ । लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनीक गरिसकेको छ । तीन विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ ।
लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सहित कामना विष्ट, अलिसा मानन्धर, शान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टोलीमा समावेश गरेको छ । यस्तै ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टोलीका रूपमा प्रस्तुत हुने अपेक्षा छ ।
दोस्रो सिजनको प्रतियोगितामा उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल प्रदर्शनका साथै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबल खेलको लोकप्रियता बढाउन योगदान पुर्याउने लक्ष्य लुम्बिनी लाभाजले राखेको छ ।
इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा पोखरामा सञ्चालन हुने प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।
प्रतिक्रिया 4