
१२ भदौ, काठमाडौं । मनसुनजन्य विपत्तिका कारण यसपालि दसैंतिहार जस्ता ठूला चाडका बेला नेपाली उपभोक्ताले महँगीको मार खेप्नुपर्ने भएको छ ।
बाढीपहिरोका कारण उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका लगगभ ठप्प रहेका कारण उताबाट नेपाल आउनुपर्ने ठूलो परिमाण बराबरका उपभोग्य सामग्री आउन नसक्दा उपभोक्ताले आसन्न ठूला चाडमा महँगीको मार खेप्नुपर्ने भएको हो ।
ठूला चाडको रौनक नेपालीको घरआँगनमा प्रवेश गरिसक्दा उत्तरी छिमेकी चीनबाट नेपाल भित्रिनुपर्ने अर्बौं मूल्यका सामान भने उतै अलपत्र छन् । कारण हो– मनसुनजन्य विपत्ति ।
उत्तरतर्फका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै मनसुनजन्य विपत्तिका कारण लगभग ठप्प हुँदा करिब ४ सय कन्टेनर सामान उतै अलपत्र परेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
दसैंतिहार लक्षित गरी व्यवसायीले मगाएका ती सामान बाढी, पहिरोका कारण वारि ल्याउन नसक्दा यसपालिको दसै–तिहारमा उपभोक्ताले सामान अभाव र अनियन्त्रित मूल्यवृद्धिको दोहोरो मार खेप्नुपर्ने देखिएको हो ।
४०० कन्टेनर सामान चीनतिरै अलपत्र
नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार चीनतर्फ करिब ४ सय कन्टेनर सामान रोकिएका छन् ।
‘हामीसँग यकिन तथ्यांक त छैन, तर ४ सय कन्टेनर जति सामान चीनतर्फ नै रोकिएको भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।
ती कन्टेनरमा दसैंतिहार लक्षित सम्पूर्ण बजार छ, अर्थात् लत्ताकपडा, जुत्ता, स्याउ, ओखर, लसुन, ड्राइ फ्रुट्स र इलेक्ट्रोनिक ग्याजेट ।
‘यो चार–पाँच महिनाअघि नै दसैंतिहारको बजार हेरेर योजना बनाइ अर्डर गरिएका सामान हुन्,’ महासचिव अग्रवालले अनलाइनखबरसँग भने, ‘एक महिनाभन्दा बढी भयो कन्टेनरहरू एउटै ठाउँमा थन्किएको । त्यो बन्द बाकसभित्र स्याउ, लसुनजस्ता वस्तुको हालत के भयो होला ? लत्ताकपडा र जुत्तामा ढुसी पलायो होला । यो क्षतिको कुनै हिसाबकिताब छैन ।’
यो यसपालिको मनसुनले निम्त्याएको एक पटकको संकटमात्र नभई हरेक वर्ष दोहोरिने नियति भएको महासचिव अग्रवालको भनाइ छ ।
‘यो समस्या अहिलेको मात्र होइन, वर्षौंखि सधैं यस्तै सास्ती खेपिरहनु परेको छ, नयाँ नाकाहरू प्रयोगमा ल्याउनु आजको आवश्यकता हो,’ उनी भन्छन्, ‘चालु नाकाको स्तरोन्नति अत्यावश्यक छ । समुद्री मार्ग हुँदै चीनतर्फको व्यापार गर्ने अवस्था आयो भने बजारमा महँगी र अभाव दुवै बढ्ने निश्चित छ ।’
उनका अनुसार सरकारले १० वर्षअघि नै सम्झौता भएका मुस्ताङजस्ता सुरक्षित र वैकल्पिक नाकाहरू तत्काल सञ्चालनमा ल्याउन ढिला गर्न हुँदैन ।
१० देखि १५ दिनभित्र सामान नआए चाडपर्व महँगिने
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनमा अलपत्र सामान अबको १० देखि १५ दिनभित्र नेपाल भित्रिन नसके चाडपर्व महँगिने निश्चित छ ।
‘यो भनेको केवल सामान रोकिनु मात्र होइन, बजारको चक्र नै रोकिनु हो,’ पराजुली भन्छन्, ‘जब बजारमा सामान अभाव हुन्छ, तब कालोबजारी मौलाउँछ । यहाँ भएका सीमित सामानको मूल्य अस्वाभाविक रूपमा बढाइन्छ ।’
विगतमा पनि यस्तै संकटको फाइदा उठाउँदै केही व्यापारीले कृत्रिम अभाव सिर्जना गरेका उदाहरण छन् ।
पराजुलीले तिजका लागि ल्याइएका सामानहरू पनि प्रभावित भएको र बीचमा बाटो खुल्दा थोरै सामान ल्याउन सफल भए पनि धेरैजसो चीनतर्फ नै रोकिएको जानकारी दिए ।
‘विशेषगरी स्याउजस्ता कुहिने सामानमा व्यवसायीले ठूलो क्षति बेहोरेका छन्, कति सामान त अवस्था यस्तो भयो कि भरिया लगाएर जोखिमपूर्ण तरिकाले बोकाएर पनि ल्याउनुपर्यो,’ उनले भने ।
तातोपानी नाकामा व्यवसायीहरूले पहिरो छिचोल्न भरियाको सहारा लिएका छन् । चीनतर्फको गाडीबाट सामान झार्ने, पिठ्युँमा बोकाएर जोखिमपूर्ण र चिप्लो पहिरो पार गराउने, अनि नेपालतर्फ पर्खिरहेको अर्को गाडीमा लोड गर्ने । यो दृश्यले संकटको भयावहता र मानव श्रमको सस्तो मूल्यलाई एकसाथ उजागर गर्छ ।
‘तर यो समाधान होइन, यो त बाध्यता हो,’ महासचिव पराजुली भन्छन्, ‘यसरी बोकेर ल्याउँदा ढुवानी खर्च दोब्बरभन्दा बढी पर्छ, एक किलो स्याउको भाउ २ सय रुपैयाँ पर्ने ठाउँमा ४ सय पुग्न सक्छ । त्यो मूल्य अन्तत: उपभोक्ताले नै तिर्ने हो ।’
तीजको समयमा पनि यसैगरी सामान ल्याइएको थियो, तर अर्बौंको सामान यसरी बोकेर ल्याउन असम्भवप्राय: छ । यो केवल केही अत्यावश्यक र महँगा वस्तुका लागि मात्रै सम्भव हुने अव्यावहारिक विकल्प हो ।
रसुवागढी र तातोपानी नाकामा बिजोग
रसुवागढी नाका जोड्ने पुल बाढीले बगाएर स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पहिरोले क्षति पुर्याएपछि यो नाका पूर्णरूपमा ठप्प छ ।
चीनतर्फ ‘लिपखुफिर’ भन्ने ठाउँमा पहिरो गएपछि तातोपानी नाका २०–२२ दिन बन्द थियो । करिब २२ दिनको लामो अवरोधपछि ५ र ६ भदौमा तातोपानी भन्सार परिसरमा पारि रोकिएका गाडीहरू प्रवेश गराइएको थियो ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार जसमा ४४ वटा सामानका कन्टेनर र १ सय २७ वटा नयाँ विद्युतीय गाडी (ईभी) थिए ।
फेरि ७ भदौदेखि कोदारीमा रहेको त्यही ३५ मिटरको पहिरोले नाका पूर्णरूपमा बन्द भएको उनी बताउँछन् । ‘समस्याको जड सानो छ, तर जटिल छ,’ सूचना अधिकारी काफ्ले भन्छन्, ‘दिनभरि डोजरले बाटो सफा गर्छ, रातभरिको पानीले फेरि बगाएर उस्तै बनाउँछ । माथिबाट लेदो खस्न नरोकिएसम्म केही भन्न सकिने अवस्था छैन ।’
यस्तै रसुवागढीमा पूर्वाधार मर्मत कार्य चलिरहेको छ । चीनतर्फको मितेरी पुल मर्मत भइरहेकाले महिनौंदेखि आयात–निर्यात शून्य छ ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलको भनाइले दसैंतिहारको बजारका लागि यसले कुनै सुखद संकेत दिँदैन ।
‘दसैंअघि नाका खुल्ने सम्भावना एकदमै कम छ,’ उनी भन्छन्, ‘हाम्रो भन्सार यार्ड अहिले सुनसान छ । हाम्रो अनुमानमा दसैंपछि मात्रै केही सहज होला ।’
उत्तरतर्फ तेस्रो व्यापारिक विकल्प चाहियो : व्यवसायी
चीनसँगका दुवै व्यापारिक नाका अनिश्चितकालका लागि अवरुद्ध बनेपछि व्यवसायीले सरकारलाई भनेका छन्, ‘अब तेस्रो विकल्प चाहियो’ ।
दसैंतिहारको बजार लक्षित गरी ल्याइएका अर्बौंका सामान सीमामा अलपत्र परेपछि उनीहरूले देशको दोस्रो ठूलो व्यापार साझेदारसँगको कारोबारका लागि तत्काल नयाँ नाका खोल्न माग गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति नै जारी गरेर वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल–चीनबीचको व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात–निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निर्माणको पहल गर्न सरकारको ध्यानकर्षण गरेको हो ।
चीनसँग जोडिएका महत्त्वपूर्ण नाकाहरू लामो समय बन्द हँुदा वैदेशिक व्यापारमात्र नभई साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा परेको चेम्बरको भनाइ छ ।
दीर्घकालीन संकटको संकेत
यो समस्या केवल यो वर्षको मनसुनको उपजमात्र होइन । समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार यी नाकाहरूको कमजोर भूधरातल (टेरेन) र अपर्याप्त पूर्वाधारले गर्दा यो हरेक वर्षको नियति बनेको छ ।
‘हामीले सरकारलाई पटक–पटक भनेका छौं, यो समस्याको दीर्घकालीन समाधान खोजौं,’ उनी भन्छन्, ‘१० वर्षअघि नै सम्झौता भएका मुस्ताङजस्ता सुरक्षित र वैकल्पिक नाकाहरू अब खोल्नैपर्छ । हामी कहिलेसम्म प्रकृतिको दयामा बाँच्ने ?’
तत्कालका लागि भने संघले भत्किएका पुलको ठाउँमा अस्थायी ‘मेकसिफ्ट ब्रिज’ बनाएर भए पनि सामान ल्याउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । व्यवसायीहरूले भौतिक योजनामन्त्रीदेखि उद्योग वाणिज्य मन्त्रीसम्म भेटेर आफ्नो समस्या सुनाइसकेका छन्, तर ठोस समाधान निस्केको छैन ।
प्रतिक्रिया 4