
१३ भदौ, काठमाडौं । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी नियुक्त गरेको हो ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका खापुङले १९ भदौदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् । आफ्नो ब्याचका एकल प्रतिस्पर्धी रहेका खापुङ आफूलाई भाग्यमानी प्रहरीको रूपमा लिन्छन् ।
प्रहरीमा भर्ती हुन्छु भन्ने सोचसमेत नबनाएका खापुङ अहिले प्रहरीको सर्वोच्च कमान्डर बनेका छन् ।
उनी २०४३ सालमा अध्ययन गर्न भनेर तेह्रथुमबाट काठमाडौं आइपुगेका थिए । २०४३ सालमा नेपाल ल क्याम्पसमा भर्ना हुँदा म्याद सकियो भन्दै उनी फर्काइए । भर्नाको लिस्टमा नाम निस्केको थियो । तर म्याद सकिएको भन्दै उनी फर्काइए । नाम निस्किँदा पनि गाउँमै रहेकाले समयमै भर्ना हुन नपाएको उनी सम्झन्छन् ।
यस्तै समस्या थियो, बुद्धिराज गुरुङको पनि । ल क्याम्पसमै भेटिएका उनीहरूको दोस्ती जम्यो । ताप्लेजुङका गुरुङ र तेह्रथुमका खापुङ नजिक भए ।
त्यसपछि भर्ना गरिपाउँदै भन्दै निवेदन बोकेर शिक्षाध्यक्ष कार्यालय त्रिपुरेश्वर पुगे । शिक्षाध्यक्ष नभेटपछि २ दिन चौरमै बिताएको उनी सम्झन्छन् । ‘हाम्रो दु:ख देखेर मन पग्लेछ क्यारे, कार्यालयका कोही एकजनाले बोलाए । किन दिनकै धाएको भनेर सोधे । हाम्रो समस्या राख्यौं । त्यसपछि भर्नाका लागि तोक आदेश भयो । फुरुङ्ग हुँदै ल क्याम्पस गएर भर्ना भयौं,’ उनी करिब ४० वर्षअघिको त्यो घटना सम्झन्छन् ।
ल क्याम्पसबाटै खापुङले स्नातक उत्तीर्ण गरे । २०५१ सालमा काठमाडौंको बानेश्वरमा खापुङका बुबाले घर बनाउन थालेका थिए । उनी त्यही व्यस्त हुन्थे ।
ल क्याम्पसका तिनै साथी बुद्धिराज गुरुङ र विष्णु केसी हिँड्दै खापुङलाई भेट्न बानेश्वर पुगे । इन्स्पेक्टरको फारम खुलेकाले तीनैजना भरौं भन्ने सल्लाह भयो । तर खापुङले भने आफ्नो पावर नभएको भन्दै भर्न आनाकानी गरे । तर गुरुङ र केसीले कर गरेपछि खापुङले पनि इन्स्पेक्टर भर्नाका लागि आवेदन दिने भए ।
बल्ल उनले इन्स्पेक्टरको बारेमा सम्झन थाले । ‘गाउँमा पहिला सीडीओ, इन्स्पेक्टर आउँदा घन्टौं लाइन लागेर हेरिन्थ्यो । कुखुरा, बोका खोज्न हिँडिन्थ्यो,’ उनले बाल्यकालको अनुभव सम्झे । इन्स्पेक्टरको फारम भर्ने तयारी भएपछि यिनै कुराहरू खापुङको मनमा खेल्न थाले ।
इन्स्पेक्टर बन्ने कुनै सपना भन्दा पनि सरकारी जागिरको खोजीमा उनी प्रहरी सेवामा प्रवेश गरे ।
खापुङलाई इन्स्पेक्टरमा फारम भर्न कर गर्ने गुरुङ र केसी पनि इन्स्पेक्टर बने । पछि उनीहरू क्रमश: एआईजी र डीआईजीबाट अवकाश पाए । खापुङ भने अहिले प्रहरीको सर्वोच्च कमान्ड बने ।
०००
इन्स्पेक्टरमा सँगै नाम निकाले पनि खापुङको टोलीलाई त्यो लटमा नियुक्ति दिइयो । उनीसँगै इन्स्पेक्टर भएका वसन्तबहादुर कुँवर यसअघि नै आईजीपी भएका थिए । १८ भदौको रातिबाट अवकाशमा जान लागेका दीपक थापा पनि खापुङसँगै भर्ना भएका थिए । तेस्रो लटमा नियुक्ति पाएका खापुङ पनि आईजीपी बने ।
खापुङको टोलीलाई लामो समयसम्म नियुक्त दिइएको थिएन । यही बीचमा बुवा बितेर उनी गाउँ गए । पछि २६ कात्तिक २०५२ मा विशेष दरबन्दी सिर्जना गरी खापुङसहितका ४० जनालाई नियुक्ति दिइयो । जसमा धेरैजसो विभागीय थिए ।
त्यसपछि उनी तालिममा होमिए । तालिम गर्दागर्दै माओवादीले जनयुद्ध घोषणा गरिसकेको थियो । जसका कारण आफूहरूलाई युद्ध लड्नकै लागि भनेर तयारी गरिएको उनी बताउँछन् ।
तालिम सकिएपछि द्वन्द्वग्रस्त क्षेत्रमा स्ट्राइकिङ अपरेसनमा जानुपर्थ्यो । उनी पनि यस्तै विभिन्न अपरेसनमा गए । तालिम सकिएपछि सुरुको उनको पोस्टिङ दंगा नियन्त्रण गण इटहरी भयो । त्यहाँ करिब दुई महिना बसे ।
त्यसपछि उनको म्याग्दी सरुवा भयो । त्यतिबेला २०५४ सालको चुनावको बेला रहेको उनी सम्झन्छन् । चुनाव शान्तिपूर्ण गराएको उनी बताउँछन् ।
म्याग्दीबाट उनको काठमाडौं सरुवा भयो । २ नम्बर गणमा बसे । गणमा बस्दा विभिन्न अपरेसनमा गइरहनुपर्थ्यो । त्यतिबेला उनी काठमाडौं नजिकका जिल्लाहरुमा अपरेसनमा गइरहन्थे । ‘त्यतिबेला काभ्रेको हरेकजसो भूभाग पुगेँ,’ उनी भन्छन् ।
स्ट्राइकिङ अपरेसनकै लागि सिन्धुली पनि खटिए । अच्युतकृष्ण खरेल आईजीपी भएको बेला चलाइएको किलो सेरा टु अपरेसनमा उनी सिन्धुली खटिएका थिए । स्ट्राइकिङमा खटिएर आउनेलाई इन्चार्ज बनाएर पठाउने चलन थियो त्यतिबेला । पोस्टिङ छानीछानी पाउँथे । पुरस्कार पाउनेदेखि ग्रेड पनि थप हुन्थ्यो ।
पुरस्कार पाएर आएका उनै खापुङलाई भने त्यतिबेला इन्चार्ज नपठाई हनुमानढोका केरकारमा पठाइयो । यहीँ बस्दा आफू पुलिसिङमा निखारिएको उनको बुझाइ छ । काठमाडौंमा मान्छेको चाप, अनेक मुद्दा, अनुसन्धान झेल्नुपरेकाले यहाँ काम गर्दा आफूमा थप निखार आएको उनी बताउँछन् ।
त्यतिबेला काठमाडौंमा कोही हाकिम चेन्ज भएर आयो भने खापुङलाई पनि यहीं राख्नु है भनेर माग नै हुने गरेको उनी बताउँछन् ।
०००
हनुमानढोका एक वर्ष बसेपछि अर्को स्ट्राइकिङका लागि उनी सिन्धुपाल्चोक खटिए । जहाँ उनी बालबालले बाँचे । सिन्धुपाल्चोकको मांखा भन्ने ठाउँमा खापुङलाई गोली लाग्यो । कम्मरको बायाँ साइडतर्फको भागमा लागेको गोली पछाडिबाट निस्केर गयो ।
माओवादी रहेको आशंकामा मांखा डाँडामा २०५६ सालको मंसिर महिनामा इन्स्पेक्टर खापुङको टोलीले कडन एन्ड सर्च अपरेसन चलाएको थियो । उनलाई गते यकिन छैन । कमान्डर उनै खापुङ थिए ।
‘कम्मरमा लागेको गोली पछाडि ढाडबाट निस्कियो । अझै त्यसको ठूलो खत छँदैछ,’ त्यो कहालीलाग्दो क्षण खापुङ सम्झन्छन्, ‘त्यो दिन निकै बलियो रहेछ ।’
उनका अनुसार डाँडापारितर्फ थोरै संख्यामा माओवादी रहेछन् । प्रहरीले सर्च गरेको थाहा पाएपछि फायरिङ गर्दै भाग्दा गोली लागेको उनी सुनाउँछन् ।
‘पहिला ग्रिनेट हाने । त्यसपछि दोहोरा फायरिङ भयो । सोही क्रममा गोली लाग्यो,’ उनी भन्छन्, ‘आधा इन्च तलमाथि भएको भए हड्डी छेड्थ्यो । धेरै खतरा हुन्थ्यो । प्यारालाइसिस पनि हुन सक्थ्यो ।’
गोली लागेपछि विस्तारै उनी भुईंमा ढले । ‘केटाहरूले कपडाले रगत बग्न रोकेछन् । अनि हेलिकप्टरका लागि खबर गरियो,’ उनी त्यो क्षण सम्झन्छन् ।
करिब बिहान ५ बजेतिर हेलिकप्टरमार्फत खापुङलाई त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार गरियो । पछि प्रहरी अस्पतालमा लगेर उपचार गरियो ।
जब गोलीकाण्डबाट बाँचे, त्यतिबेलै उनलाई लाग्यो- म एकदिन आईजीपी हुन्छु । आईजीपी हुनकै लागि म बाँचेको हुँ ।
अहिले उनी कसैसँग जिस्किँदा भन्ने गर्छन्, ‘गोलीको स्वाद चाखेको मान्छे हुँ । नजिस्काउ है ।’
०००
गोलीबाट बाँचेपछि उनी मोरङ खटिए । इलाका प्रहरी कार्यालय बेलबारी बसे । यहाँ बस्दा अर्को खास परिचय बनाए । पब्लिकदेखि प्रहरी संगठनभित्रै खापुङ भन्ने इन्स्पेक्टर छ भन्ने मान्छेहरूले त्यतिबेला भन्न थालेको उनी बताउँछन् ।
‘वास्तवमा मेरो एउटा छुट्टै पहिचान चाहिँ बेलबारी इप्रकाले दियो । त्यहाँ बस्दा सबै मान्छेले मेरो तारिफ गरे । जनसमुदायले पनि खापुङ ठिक छ भन्ने म्यासेज दिन सकियो,’ उनी सम्झन्छन् ।
उनी बेलबारीबाट फेरि काठमाडौं आए । हनुमानढोका बसे । सुर्खेत गणमा गए । गण गणपति एसपी एसएसपीमा बढुवा भएकाले डीएसपी गोविन्द ओलीको कमान्डमा थियो ।
उनी बिते । त्यसपछि सिनियर इन्स्पेक्टरको हैसियतले खापुङ नै हाकिम भए । एसपी हाकिम हुने गणमा इन्स्पेक्टर खापुङ हाकिम बने । ६ महिनासम्म कोही नआएपछि खापुङले नै गण चलाए । यसले झनै आफू खारिएको उनी बताउँछन् ।
‘त्यतिबेला कर्णालीका अधिकांश जिल्ला पुगेको उनी बताउँछन् । गणले नै पुलिसको स्केलको सामान बाँड्नुपर्थ्यो । सेनासँगका युनिफाइड पोस्टहरू थिए । सेनाको हेलिकप्टरमार्फत मध्यपश्चिमाञ्चलका धेरै जिल्ला पुगियो । त्यहाँको भूगोलबारे राम्रो जानकारी लिने अवसर पाएँ,’ उनी भन्छन् ।
२०६४ सालमा उनी डीएसपीमा बढुवा भए । डीएसपी भएपछि मिसन हाइटी गए । फर्केर बाग्लुङ खटिए । त्यहाँबाट प्रहरी वृत्त चापागाउँको जिम्मेवारी सम्हाले ।
त्यही समयमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि उनको पीएसओको रूपमा खापुङ खटिए । जगन्नाथ खतिवडासँग पूर्वचिनजान भएकाले उनैले पीएसओका लागि आउनुपर्यो भनेपछि उनी खटिएका थिए । एक वर्षसम्म नेपालको पीएसओको रूपमा खटिए ।
त्यसपछि फेरि उनी हाईटी मिसन गए । फर्केर आएपछि बालानन्द शर्मा नेतृत्वको माओवादी सेना समायोजन सचिवालयमा खटिएर काम गरे । त्यहाँ एक वर्ष काम गरेपछि इलाका प्रहरी कार्यालय धरानको जिम्मेवारी पाए ।
धरानको इचार्ज भएको तीन महिनामै काठमाडौं बोलाइएपछि उनी आए । उनी काठमाडौं प्रहरीको अपरेसन इन्चार्ज भए ।
त्यहीबाट दरबारमार्ग वृत्तको पहिलो डीएसपीको रूपमा उनी खटिए । डीएसपीमै रहँदा हेडक्वार्टर, सिंहदरबार गण प्रशासन शाखामा काम गरे ।
प्रशासन शाखामै रहेका बेला २०७२ एसपीमा बढुवा निस्कयो । तर उनी छुटे । २०७३ सालमा एसपी बढुवा भए ।
बाग्लुङ खटिए । २०७४ को चुनावमा उनी बाग्लुङ प्रहरी प्रमुख थिए । विप्लव समूहले बम पड्काएको घटनामा उनलाई हेडक्वार्टर तानियो । त्यतिबेला प्रकाश अर्याल आईजीपी थिए ।
सर्वेन्द्र खनाल आईजी भएको बेलामा कप्र (कर्मचारी प्रशासन) मा बसे । दुई वर्ष विशेष ब्युरोमा बसे ।
२०७७ मा एसएसपी बढुवा भए । कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड गरे । २०८० मा डीआईजी, २०८२ मा एआईजी भएका खापुङ अहिले आईजीपी बने ।
खापुङ प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहन सक्ने सम्भावना छ । उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।
यही २ महिना ९ दिनका लागि उनी आईजीपी बन्ने छन् । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आईजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आईजीपी बनेका थिए ।
अच्युतकृष्ण खरेल भने दुई कार्यालय आईजीपी बनेकोले उनको कार्याकाल लामो मानिन्छ । पहिलोपटक उनी २०५३ फागुनदेखि चैतसम्म गरी ३६ दिन आईजीपी बनेका थिए । दोस्रो पटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म आईजीपी बनेकाले खरेलको कार्यकाल लामो मानिन्छ ।
अहिलेकै अवस्थामा खापुङ आईजीपी भएर अवकाशमा गएमा उनी प्रहरी इतिहासकै दोस्रो छोटो समयका लागि आईजीपी बन्नेछन् ।
खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । अखितयारमा पनि बसे । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् ।
अहिलेसम्मको ठूलो सम्पत्ति नै आफ्नो सोसल अडिट रहेको उनी बताउँछन् । ‘समाजले हेर्ने, बुझ्ने दृष्टिकोण नै मेरो सम्पत्ति हो । कम्तीमा समाजले अर्थात सोसल अडिट गर्दा खापुङले यतिसम्म चाहिँ गर्दैन भन्ने बुझाई छ । यो नै मेरो सम्पत्ति हो’ उनी भन्छन् ।
प्रतिक्रिया 4