
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि योजना ल्याउने भएको छ ।
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा योजना बनाउने निर्णय भएको हो ।
मुख्यमन्त्री बानियाँले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशनसमेत दिए ।
बैठकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
बैठकमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा ल्याउने मन्त्री जयराम थापाले बताए ।
मन्त्रालयले उपत्यका र उपत्यका भन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरुको मार्ग इजाजत पत्र (रुट पर्मिट) लाई थप व्यवस्थित बनाउँदै विद्युतीय प्रणालीमार्फत इजाजत पत्र जारी गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीका लागि आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउने व्यवस्था श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्ने भएको उनले बताएका छन् ।
बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालयले सम्बन्धित जिल्लाको यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा लाइसेन्स जारी गर्नु अघि र पछि अनुमति पत्र वाहकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालनका लागि व्यवस्था मिलाउने, काठमाडौँ उपत्यकामा आवश्यकता अनुसार ट्राफिक लाइटको व्यवस्था गर्नुका साथै ट्राफिक लाइटलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय गरी जडित लाइटहरुको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी, ट्राफिक प्रहरीसँग समन्वय गरी सुरक्षित ढंगले सवारीसाधन सञ्चालन तथा ट्राफिक नियम र सावधानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको मन्त्री थापाले जानकारी दिए ।
बैठकमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र तिनका प्रतिनिधि लगायत सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
मुख्यमन्त्री कार्यालयमा भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव भुपाल बराल, कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाही र यातायात मन्त्रालयका सचिव बलराम ढकाललगायतले ट्राफिक व्यवस्थापनका सम्बन्धमा धारणा राखे ।
प्रतिक्रिया 4