
१९ भदौ, काठमाडौं । विद्यमान प्रहरी ऐन र नियमावलीको व्यवस्थाअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जम्माजम्मी २ महिना ९ दिन कमान्ड सम्हाल्ने छन् ।
१९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को रूपमा प्रहरी सेवा प्रवेश गरेका खापुङ आउँदो २६ कात्तिकमा अनिवार्य अवकाशमा जानेछन् ।
प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् । जसका कारण उनको यो कार्यकाल नेपाल प्रहरीको इतिहासमै दोस्रो छोटो कार्यकाल हुनेछ ।
छलफलमै क्रममा रहेको संघीय प्रहरी विद्येयक पास नभएको अवस्थामा भने उनी २ महिने कार्यकाल बिताएर घर फर्कने छन् । सायद यही कुरालाई संकेत गर्दै बिहीबार दर्ज्यानी चिह्न चिन्ह लगाएपछि खापुङले भने, ‘म जति समय रहे पनि सकेको राम्रो काम गर्छु ।’
उनी यो दुई महिनाको अवधिमा जति सकिन्छ, एउटा राम्रो छाप छाडेर छाने मुडमा छन् । त्यसैले भनेका छन्, ‘म प्रण गर्छु, सकेको राम्रो गर्छु । नराम्रो गर्ने छैन ।’
दुई महिनाको छोटो अवधिमा खापुङले कुनै कार्ययोजना बनाएर काम गरिहाल्ने अवस्था पनि छैन । दैनिक पुलिसिङलाई उत्कृष्ट ढंगले विवादरहित भएर चलाउनु नै उपलब्धि मानिन्छ ।
यदि यो दुई महिनामा प्रहरी संगठनमा कुनै सकारात्मक प्रभाव छाड्न सकेको अवस्थामा भने उनी सधैंका लागि उदाहरणीय बन्ने अवसर पनि हुनेछ । इमान्दारिता र इच्छाशक्ति भएमा राम्रो काम गर्न लामो समय चाहिँदैन भन्ने उदाहरण बन्ने अवसर खापुङमा छ ।
आईजीपी भएको केही दिन अनुगमन, निरीक्षण र निर्देशनमा उनको समय बित्नेछ । त्यसपछिको समय भने चाडबाड केन्द्रित सुरक्षा हुनेछ । त्यसकारण नवनियुक्त आईजीपी खापुङको मुख्य जिम्मेवारी भनेकै चाडबाडलाई सुरक्षित बनाउनुपर्ने देखिन्छ ।
दशैं, तिहार, छठलगायतका चाडबाडमा हरेक वर्ष प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । यो समयमा विशेषगरी चोरी, लुटपाट, झैझगडा, जुवातास र आर्थिक अपराधको बढोत्तरी हुनेगर्छ । यसैमा केन्द्रित अपराधलाई नियन्त्रण गर्दै सुरक्षित चाडबाड बनाउनुपर्ने मुख्य जिम्मेवारी खापुङको देखिन्छ ।
छठ सकिएको एक सातापछि खापुङ अनिवार्य अवकाशमा जानेछन् । अहिलेसम्म इमान्दार प्रहरीको छवि बनाएका खापुङले बाँकी समय पनि त्यसैगरी बिताउने बताएका छन् ।
‘म निर्भिकताका साथ भन्न सक्छु, अब बाँकी अवधि मेरा लागिभन्दा पनि जन्मभूमि, संगठन र यसमा आबद्ध सकल दर्जाका हितका खातिर समर्पित हुनेछु भन्ने विश्वास दिलाउन चाहान्छु,’ उनले भनेका छन् ।
व्यक्तिभन्दा पनि प्रहरी महानिरीक्षक पद संस्था रहेकाले संस्थालाई सफल बनाउनुपर्ने दायित्व आफ्नो रहेको उनले बताएका छन् । ‘व्यक्तिगत रूपमा म सफल हुनेभन्दा पनि संस्था सफल हुन अपिरिहार्य हुन्छ । यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्नेछ । त्यसैले म व्यक्ति नभई जिम्मेवार संस्थाका रूपमा नेपाल प्रहरीको श्रीवृद्धि गर्ने, नागरिकको सेवामैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रही इमान्दार योगदान गर्नेछु,’ उनले भने ।
खापुङले यो बीचमा प्रहरीकै आन्तरिक शुद्धीकरणमा जोड दिने विषय पनि खुलाएका छन् । गैरव्यावसायिक प्रहरीविरुद्ध शून्य सहनशिलताको नीतिअनुसार कारबाही गरिने उनले बताएका छन् ।
दुई महिना सेवा अवधिमा रहँदा हुने सरुवा-बढुवा विवादरहित बनाउनु उनको मुख्य जिम्मेवारी रहन्छ ।
यो बीचमा हुने अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापमा पनि सशक्त रूपमा प्रस्तुत हुनुपर्ने खापुङको जिम्मेवारी छ ।
प्रतिक्रिया 4