+
+
Shares

‘दुश्मन हेरेको हेर्‍यै’ टुरका लागि लन्डन आइपुगे दुर्गेश थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दुर्गेश थापाको गीत 'दुश्मन हेरेको हेर्‍यै'ले ८ महिनामा १२४ मिलियन भ्यूज नाघेको छ।
  • दुर्गेश थापा बेलायतमा 'दुश्मन हेरेको हेर्‍यै यूके टुर'का लागि सेप्टेम्बर ६ देखि १६ सम्म विभिन्न शहरमा प्रस्तुति दिनेछन्।
  • सेप्टेम्बर १२ मा लन्डन किंग्स क्रसको स्कालामा हुने शोमा सिसन बानियाँ र नवाज अन्सारीले पनि प्रस्तुति दिनेछन्।

लन्डन । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै लेखेका थिए, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्यूअर्सबाट थाहा हुन्छ । सय मिलियन भ्यूज पुगेको उपलक्ष्यमा गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’

अहिले त ८ महिनामा यस गीतको भ्यूज १२४ मिलियन नाघिसकेको छ । थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ । गीतको भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।

दुर्गेशको अर्को चर्चित नयाँ गीत ‘जाने भए जाम माया…’ पनि हिट छ । उक्त गीत रिलिजको महिना दिनमै १७ मिलियन भ्यूज भइसकेको छ । ‘दुर्गेश नाम होइन, ब्राण्ड हो’ बताउने यी गायक ग्लोबल ट्रेन्डिङमा समेत पर्न सफल भए । यी गायकलाई अहिले देश विदेशमा कन्सर्ट गर्न भ्याइ नभ्याइ छ ।

विदेशमा आयरल्याण्ड, अष्ट्रेलिया, कुवेत आदि देशमा पर्फम गरिसकेका यिनै चर्चित गायकलाई अब बेलायतवासी दर्शकले सुन्न र हेर्न पाउने भएका छन् ।

‘दुश्मन हेरेको हेर्‍यै टुर’को लागि उनी बिहीबार राती लन्डन आइपुगेका छन् । बेलायतस्थित लाइम एण्ड लेमन इन्टरटेनमेन्टको संयोजनमा यहाँका आधा दर्जन ठाउँमा तय ‘दुश्मन हेरेको हेर्‍यै यूके टुर’का लागि उनी लन्डन उत्रिएका हुन् ।

पहिलोपटक बेलायत आएका दुर्गेशले लण्डनको हिथ्रो विमानस्थलमा न्यानो स्वागत पाए । लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेलसँगै विभिन्न ठाउँमा हुने शोका आयोजकले दुर्गेशलाई बेलायतमा स्वागत गरे ।

लन्डन उत्रिएलगत्तै उनले बेलायतवासी नेपालीसँग भेट्न र प्रस्तुति गर्न पहिलोपटक आउँदा आफू निकै उत्साहित रहेको बताए । आफ्ना शोको निम्तो दिँदै उनले बेलायतका दर्शकलाई पूर्ण मनोरन्जन दिलाउने गरी प्रस्तुति दिन तम्तयार रहेको उनले बताए ।

सेप्टेम्बर ६ तारिख शनिबारदेखि सेप्टेम्बर १६ तारिख सोमबारभित्र बेलायतका विभिन्न आधा दर्जन स्थानमा दुर्गेशका शो तय छन् ।

पहिलो शो प्रेस्टनमा सेप्टेम्बर ६ तारिख हुँदैछ । त्यसपछि सेप्टेम्बर ८ तारिखमा बर्मिङहम, १२ तारिखमा स्काला लन्डन किंग्स क्रस, १३ तारिखमा एम्पायर अल्डरसट, १५ तारिखमा स्कटल्यान्ड र १६ तारिखमा लेस्टरमा शो हुनेछन् ।

सेप्टेम्बर १२ तारिखमा लन्डन किंग्स क्रसको स्कालामा हुने शोमा विशेष आकर्षणका रुपमा चर्चित मिडिया पर्सनालिटी सिसन बानियाँ र लोकप्रिय र्‍यापर नवाज अन्सारीले पनि प्रस्तुति दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?