+
+
Shares

प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने प्रक्रिया उल्ट्याउन राप्रपामा दबाब

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ को उम्मेदवार छनोट प्रारम्भिक निर्वाचनबाट गर्ने निर्णयप्रति क्षेत्र, जिल्ला, पालिकाका नेता कार्यकर्ताले बहुसंख्यक असहमति जनाएका छन्।
  • ध्रुवबहादुर प्रधानलाई निर्वाचन परिचालन समितिको संयोजक बनाएर स्थानीय नेता कार्यकर्तासँग राय लिइएको र ९० प्रतिशतभन्दा बढीले प्रारम्भिक निर्वाचन गर्न नहुने सुझाव दिएका छन्।
  • उम्मेदवार आकांक्षीहरूबीच सहमति भएको र पार्टी विधानमा नभएको प्रारम्भिक निर्वाचन प्रणाली लागू गर्न लागिएकोमा स्थानीय नेताहरूले विरोध जनाएका छन्।

२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ को उम्मेदवार छनोट प्रारम्भिक निर्वाचनबाट गर्ने निर्णयप्रति क्षेत्र, जिल्ला, पालिकाका नेता कार्यकर्तामा बहुसंख्यकले असहमति जाहेर गरेका छन् ।  उनीहरूले प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने प्रक्रिया उल्ट्याउन राप्रपामा दबाब दिइरहेका छन् ।

राप्रपा संसदीय समितिले गरेको निर्णय लगत्तै क्षेत्री स्तरका नेता कार्यकर्ताहरूले प्रारम्भिक मतदानलाई बहिष्कार गर्ने चेतावनी दिएपछि केन्द्रले छलफलका लागि ध्रुवबहादुर प्रधानलाई खटाएको थियो ।

प्रधानलाई निर्वाचन परिचालन समितिको संयोजक समेत बनाइएको छ । बिहीबार रुपन्देही–३ पुगेर प्रधानले जिल्ला, क्षेत्र, पालिका तहका नेता कार्यकर्तासँग केन्द्रले गरेको निर्णयमा राय लिएका थिए ।

लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार ९० प्रतिशत भन्दा बढीको राय प्रारम्भिक निर्वाचन गर्न नहुने राखेका थिए ।

उदयले अनलाइनखबरसँग भने, ‘धेरै जनाले प्रारम्भिक निर्वाचनबाट छान्न नहुने मत विचार राख्नुभएको छ ।’

स्थानीय नेता कार्यकर्ताले दिएको सुझावको आधारमा नेता प्रधानले केन्द्रमा प्रतिवेदन बुझाउने छन् ।

रुपन्देहीका राप्रपा अध्यक्ष सागरप्रताप राणाले पार्टीमा विचार राख्न नेता कार्यकर्ता स्वतन्त्र रहेकाले दुई थरी विचार आएको बताए । लोकतान्त्रिक प्रक्रिया अपनाउन राय सुझाव संकलन गरिएको उनले बताए । राणाले पार्टी केन्द्रले गर्ने निर्णय स्विकार गर्ने बताए ।

राप्रपाका लागि यस क्षेत्रबाट उम्मेदवार हुने आकांक्षी राखेका छ जनाको नाम केन्द्रमा सिफारिस गरिएको थियो । सागरप्रताप राणा, प्रज्ज्वल बोहरा, गौरव बोहरा, स्वाति थापा, दिलीपकुमार मल्लिक र वसन्तविक्रम शाहीको नाम सिफारिस भएको छ । प्रज्ज्वल, गौरव र स्वाति एउटै परिवारका सदस्य हुन् । उनीहरू यसै क्षेत्रबाट गत निर्वाचनमा निर्वाचित दीपक बोहराका परिवारका सदस्य हुन् ।

बोहरा परिवारका तीन सदस्यहरु वीचमा नै मनमुटाव ल्याउने गरी केन्द्रले प्रारम्भिक निर्वाचन प्रणाली लागु गर्न लागिएको भन्दै क्षेत्रका नेताहरूले विरोध गरेका छन् ।

साथै चार जना उम्मेदवारका आकांक्षी बीचमा एउटाले टिकट पाउँदा अर्कोको समर्थन रहने प्रतिबद्धता गरिसकेका छन् । प्रज्ज्वल बोहरा, गौरव बोहरा, स्वाति थापा र बसन्तविक्रम शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको रोहबर सहमति गर्दै चार जना मध्ये जसले टिकट पाएपनि सघाउने प्रतिबद्धता गरेका छन् ।

उम्मेवारहरू बीचमै सहमति गर्ने विकल्प हुँदा हुँदै विधानमा नभएको व्यवस्था लागु गर्न लागिएको भन्दै स्थानीय नेताहरुले विरोध गरेका छन् । पार्टी निर्णयको विरोधमा स्टाटस लेख्ने र विज्ञप्ति निकाल्नेहरूलाई सम्झाउने कार्य भएको जिल्ला अध्यक्ष राणा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?