
२० भदौ, काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोह मार्फत महोत्सव उद्घाटन गरे । उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताएका छन् ।
‘लोकतन्त्रमा सबै वर्ग र पेसाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो,’ राष्ट्रपति पौडेलले भने ।
उनले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि वर्षेनि लाखौं पर्यटक आउने भएकाले सम्पदा संरक्षणमा सम्पदाप्रेमी सधैं सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
‘नेपालको संस्कृति र प्रकृतिका कथा र यसको संरक्षणमा हाम्रा पुर्खाले पुर्याएको योगदानका कथा संसारलाई सुनाउन र चिनाउन यस किसिमको महोत्सव उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने ।
मन्त्री पाण्डेले यस महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए ।
त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्राय: पर्वतीय र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सव मार्फत नेपाललाई ‘कला र सांस्कृतिक धरोहरहरूको भण्डार’ का रूपमा प्रस्तुत गर्न लागिएको बताए ।
सीईओ जोशीले अहिले पर्यटनका हिसाबमा ‘अफ सिजन’ भनेर प्रचार गरिए पनि हाम्रो सांस्कृतिक प्रदर्शनी मार्फत पर्यटक तान्न सकिने समेत बताएका छन् ।
‘हाम्रो विशिष्ट संस्कृति जगेर्ना गर्दै संसारभरि प्रचार गर्न सके पर्यटन आम्दानी बढ्नेमात्र होइन, नेपालको समृद्धिमा समेत प्रत्यक्ष योगदान पुग्ने छ,’ उनले भने ।
आर्ट काउन्सिलका अध्यक्ष सागरशमसेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपालमात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्त्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ का रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
काठमाडौं उपत्यकाका चारवटै सहर काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन् । जसमा १ सय ५४ कलाकारका २ सय ७३ कलाकृति प्रदर्शनीमा राखिने छन् । साथै, सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृति अनुभव गर्ने अवसर उपलब्ध हुनेछ ।
पर्यटन बोर्ड, आर्ट काउन्सिल र होटल एसोसिएसन नेपाल (हान) लगायत आयोजना र काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्रजात्राको अवसरमा सुरु भएको महोत्सव ११ असोजसम्म चल्ने छ ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ नारासहित सुरु भएको महोत्सवले उपत्यकाका पुराना सहरलाई उत्सवमय बनाउने र पर्यटनसँगै सांस्कृतिक गौरव विश्वमञ्चमा पुर्याउने बोर्डको विश्वास छ ।
प्रतिक्रिया 4