
२१ भदौ, लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे ।
मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै उनले भने, ‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लमजुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे ।
दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको उनको भनाइ थियो ।
‘हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4