
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
- सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरीलाई भदौ ९ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
- चौधरीले पेयर एक्सचेन्ज प्रणालीमार्फत मिर्गौला सट्टा–पट्टा गरी प्रत्यारोपण गराएका हुन् र १२ औँ दिनमा डिस्चार्ज भएका छन्।
२१ भदौ, काठमाडौं । नेपालमै पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गाैला प्रत्यारोपण सफतापूर्वक सम्पन्न भएको छ । मिर्गाैला प्रत्यारोपण गराउने बिरामी सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरी हुन् ।
चौधरीको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यही भदौ ९ गते मिर्गाैला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
डा.श्रेष्ठका अनुसार प्रत्यारोपण गरिएको १२औँ दिनमा चौधरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
टीकापुर नगरपालिका–५ कैलालीका चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् । उनी २०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । दुई पटक मन्त्री समेत भइसकेका छन् ।
पहिला शिक्षा, स्वास्थ्य तथा खेलकुद मन्त्री भएका चौधरीले करिब डेढ महिनामा पदमा रहेका थिए । दोस्रो पटक उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रहेको उनी करिब ८ महिना पदमा रहे । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि आफूले पदबाट राजीनामा दिएको चौधरीले बताए ।
३३ वर्षको उमेरमा पहिलो पटक मिर्गाैला फेल भएपछि सन् २००९ मा चौधरीले भारतमा गएर मिर्गाैला प्रत्यारोपण गराएका थिए । पखाला लाग्ने, लगायतका समस्याका कारण पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गाैला फेल भएको चौधरीले जानकारी दिए ।
त्यसपछि २०७२ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमै उनको मिगर्गाैला प्रत्यारोपण गरिएको थियो । कोभिड–१९ संक्रमण, निमोनिया र फंगल संक्रमणका कारण दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला खराब भएको डा.पुकार चन्द्र श्रेष्ठको भनाइ छ ।
यसपटक चौधरीको ‘पेयर एक्सचेन्ज’ प्रणाली अर्थात् दुई बिरामीका आफन्तबीच मिर्गाैला सट्टापट्टा गरी प्रत्यारोपण गरिएको हो ।
नेपालमा तेस्रोपटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको यो पहिलो केस रहेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारले बताए ।
‘एकै व्यक्तिमा तेस्रो पटक गरिएको प्रत्यारोपण सफल भइसकेको छ’ डा.पुकार भन्छन्, ‘नेपालको प्रत्यारोपण सेवा विश्वस्तरीय छ भन्ने यो भन्दा गतिलो उदाहरण के हुनसक्छ ?’
व्यक्तिमा तेस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था विरलै हुने डा.श्रेष्ठले बताए ।
‘अधिकांश व्यक्तिमा एक पटक प्रत्यारोपण गरेको मिर्गाैलाले नै लामो समय काम गर्छ,’ डा.श्रेष्ठ भन्छन्, ‘तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी जस्ता समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गाैलाले काम नगर्न सक्छ ।’
प्राविधिक जटिलता, अन्य चुनौती तथा दाता पाउन समेत कठिन हुने हुँदा एकै व्यक्तिमा पटकपटक मिर्गाैला प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
तेस्रो पटक प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने श्रेष्ठले बताए ।
नेपालको सरकारी स्वास्थ्य संस्थामा तेस्रो पटक सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गराउनु पाउनु निकै खुसीको कुरा भएको प्रदेशसभा सदस्य चौधरीले बताए ।
आफूलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्रोत, साधन र जनशक्तिप्रति पूर्ण विश्वास रहेकाले नै तेस्रो पटक पनि यहीँ प्रत्यारोपण गराएको उनले सुनाए ।
‘हामी जनप्रतिनिधिले नै यहाँका सरकारी स्वास्थ्य संस्थाको सेवामा विश्वास नगरे कसले गर्ने ?,’ चौधरीले भने, ‘आफ्नै देशभित्र यो खालको सेवा लिन पाउनु निकै खुसीको कुरा हो ।’
भारतमा प्रत्यारोपण गर्दाको भन्दा यहाँको सेवामा कुनै कमी नभएको उनको भनाइ छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामीको अत्यधिक चाप रहेकाले त्यो अनुसार अस्पतालको आफ्नै भवन लगायतका पूर्वाधार नहुँदा समस्या भएको चौधरीले बताए ।
त्यसमा सरकारले बेलैमा विचार गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया 4