News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगअन्तर्गत लुम्बिनी लाभाजले पोखरालाई ३-२ को सेटमा हरायो।
- लुम्बिनीले पहिलो सेट २५-१३ र पाँचौं सेट १५-१० ले जितेर रोमाञ्चक जित हासिल गर्यो।
- जितसँगै लुम्बिनीले २ अंक र पोखराले १ अंक प्राप्त गरेको छ।
२२ भदौ, काठमाडौं । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आइतबार भएको दोस्रो खेलमा लुम्बिनी लाभाजले रोमाञ्चक जित हासिल गरेको छ ।
सिजनको पहिलो फाइभ सेट म्याचमा लुम्बिनीले पोखरालाई ३-२ को सेटमा हरायो । २-१ ले पछि परेको अवस्थाबाट लुम्बिनीले लगातार दुई सेट जितेको हो ।
लुम्बिनीले पहिलो सेट २५-१३ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा पोखराले २५-२३ र २५-१० ले जित निकाल्दै पुनरागमन गरेको थियो ।
तर त्यसपछि लुम्बिनीले चौथो सेट २८-२६ ले जितेपछि पाँचौं सेटमा खेल धकेलिएको थियो । पाँचौं सेटमा लुम्बिनी १५-१० ले विजयी भयो ।
जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । पाँच सेटमा पुगेकाले पोखराले पनि १ अंक प्राप्त गरेको छ । दुवै टोलीले आजै अंकको खाता खोलेका हुन् ।
यसअघि आज भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले पनि पहिलो जित निकाल्ने क्रममा मधेश युनाइटेडलाई हराएको थियो ।
प्रतिक्रिया 4