
२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको छ ।
अध्यक्ष पदका लागि भएको हानथापपछि राष्ट्रिय सम्मेलन यही भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सम्मेलनले १९२ सदस्यीय केन्द्रीय कमिटी (२३ जना मनोनित हुन बाँकी) भने चयन गरेको छ । तर अध्यक्षसहितका पदाधिकारी टुंगो लागेको छैन ।
अध्यक्ष पदमा दामा शर्मा र प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदी मुख्य दाबेदार छन् ।
दामा शर्मा पम्पा भुसाल र देव गुरुङ समूहबाट माओवादी केन्द्रमा फर्किएकाले उनलाई अध्यक्ष बनाउन नहुने लबिइङमा उनी विरोधी समूह छ । त्यसको नेतृत्व सत्या पहाडीले गरेकी छिन् । यही खिचातानीका कारण पदाधिकारी चयन नगरी राष्ट्रिय सम्मेलन स्थगित भएको एक नेताले जिकिर गरे ।
तर अध्यक्षकी दाबेदार शर्माले भने संगठनमा कुनै विवाद नभएको बताउँछिन् । पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानमा व्यस्त हुनुपर्ने भएकाले पदाधिकारी टुंगो नलागेको उनको भनाइ छ ।
‘अभियानको उदघाटन लगायतका काममा हाम्रो पार्टी अध्यक्षसहितका नेताहरु व्यस्त हुनुपर्ने भएकाले पदाधिकारी टुंगो लगाउन भ्याइएन,’ शर्माले भनिन्, ‘संगठनमा नेतृत्वबारे छलफल र बहस भएको हो, विवाद भएको होइन ।’
जागरण अभियानका कारण राष्ट्रिय सम्मेलन स्थगित गरिएको बताउँदै उनले भनिन्, ‘२७ गते पदाधिकारी चयन गर्ने कुरा छ ।’
अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन यही भदौ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा आयोजना गरिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले १८ गते प्रज्ञा भवन कमलादीमा सम्मेलन उदघाटन गरेका थिए ।
१९ र २० गते क्विन्स पार्टी प्यालेस धुम्बाराहीमा बन्दसत्र आयोजना गरियो । त्यहाँ मुख्य गरी अध्यक्ष पदमा विवाद हुँदा सम्मेलन २१ गतेसम्म लम्बियो । २१ गते प्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको थियो । तर त्यहाँ पनि बन्दसत्र सुरु हुन नसकेपछि सम्मेलन २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।
क्याफेको गोप्य बैठकपछि भाँडियो सम्मेलन
दामालाई रोक्ने र बिमलालाई अघि बढाउने पक्षमा रहेको समूहको भदौ २० गते अपराह्न कोटेश्वरको ए वन क्याफेमा एउटा गोप्य बैठकसमेत बसेको थियो ।
सो बैठकमा उपमहासचिव शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी, माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव गणेशमान पुनकी श्रीमती कमला रोका लगायत नेताहरु उपस्थित थिए । पम्फा भुसाल, देव गुरुङ लगायतको समूह र नारायणकाजी श्रेष्ठको समूह भने सो बैठकमा सहभागी थिएन ।
‘क्याफेको त्यो बैठकमा सहभागीहरुलाई बिमला सुवेदी नभए सुशीला सिम्खडालाई अध्यक्ष बनाउनुपर्ने अध्यक्ष प्रचण्डको निर्देशन रहेको भनेर सुनाइयो,’ बैठक स्रोतले भन्यो, ‘प्रचण्डले भनेअनुसार नभए सम्मेलन स्थगित गराउनुपर्ने भन्दै बैठक समापन भयो ।’
त्यसपछि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई कारण देखाउँदै राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।
‘अध्यक्ष प्रचण्डको नामै लिएर क्याफेहरुमा गुटबन्दी भएपछि महिला सम्मेलनको उत्साहका साथ काठमाडौं आएका १४ सय महिला प्रतिनिधि निरासा बोकेर घर फर्किन बाध्य भए,’ एक नेताले भने, ‘अब २७ गते अध्यक्षसहितको पदाधिकारी चयन गर्ने भनिएको छ, हेरौं हुन दिन्छन् कि दिँदैनन् ।’
सहमति नभए निर्वाचनबाट भए पनि नेतृत्व चयन गर्ने भनेर बाबा बस्नेतको संयोजकत्वमा निर्वाचन कमिटीसमेत बनाइएको थियो । तर तीव्र गुटबन्दी र नेताहरुको हस्तक्षेपका कारण निर्वाचन कमिटी पनि पेन्डुलम बनेको थियो ।
तर प्रचण्डले लिएका थिए दामाको नाम
आफूलाई पार्टी हेडक्वाटरको भन्नेहरुले प्रचण्डले बिमला वा सुशीलालाई अध्यक्ष बनाउनुपर्छ भनेर क्याफेका गोप्य बैठकमा सुनाए पनि त्यो गलत रहेको स्रोत बताउँछ । उनका अनुसार प्रचण्डले अध्यक्षका दाबेदारहरुसँग पटक–पटक छलफलमा स्पष्ट रुपमा दामा शर्माको पक्ष लिएका थिए ।
‘दामा शर्मा जयपुरी घर्ती अध्यक्ष हुँदा दुई पटकसम्म उपाध्यक्ष रहेको, वरिष्ठताको क्रममा पनि माथि नै रहेको, शहीद परिवारसमेत भएको (युद्धकालमा पति यज्ञश्वर शर्मालाई गुमाएको)ले प्रचण्डले दामालाई नै अध्यक्ष बनाउनुपर्ने भन्नु भएको हो । तर कोठे बैठकहरुमार्फत् अनेक हल्ला फैलाएर सम्मेलन स्थगित गराइयो,’ स्रोतले भन्यो ।
सत्या पहाडी, कमला रोका लगायतले दामा शर्मा पार्टी विभाजन हुँदा प्रचण्डलाई छोडेर मोहन वैद्य (किरण)को पक्षमा लागेको र पछि पम्फा भुसाल/देव गुरुङको समूहसँग माओवादी केन्द्रमा फर्किएको भन्दै उनलाई अध्यक्ष बनाउन नहुने मत राखेका थिए । शर्माको रुकुम बिहे भएकाले उनलाई जनार्दन शर्मा (प्रभाकर)को समेत समर्थन हुनसक्ने आशंकासमेत उनीहरुले गरेका थिए ।
रुकुम बिहे भए पनि दामा शर्माको बसोबास हाल दाङमा छ । उनी २०६४ को संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् । त्यसयता उनी लाभको पदमा छैनिन् । हाल उनी महिला संगठनको लुम्बिनी प्रदेश सभापति छिन् ।
यसैगरी बिमला सुवेदी नुवाकोटकी हुन् । उनी पनि २०६४ को संविधानसभा निर्वाचन जितेर सभासद बनेकी थिइन् । २०७० सालको निर्वाचनमा भने उनी पराजित भइन् । हाल उनी समानुपातिक सांसद भएर कानुन समितिको सभापति छिन् ।
प्रचण्डले नेताहरुसहितको बैठकमा बिमलालाई अहिलेकै जिम्मेवारी निर्वाह गर्न भनेकाले दामा अध्यक्ष बन्ने लगभग पक्का भएको स्रोत बताउँछ ।
‘नेताले गिजोल्दा संगठन कमजोर’
यसअघि माओवादी केन्द्रले विद्यार्थी र युवा संगठन (वाईसीएल)को राष्ट्रिय सम्मेलनमा पनि हस्तक्षेप गरेको थियो ।
निर्वाचन रोक्ने प्रयासमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पटकपटक स्थगित भएको थियो । तर पछि ३२ वर्षे उमेर हद लगाएर निर्वाचनबाटै नेतृत्व चुनिएको थियो ।
त्यसपछि युवा संगठन वाईसीएलको बन्दसत्र पनि पटक–पटक स्थगित हुँदै गएर अन्तमा आफ्नो पक्षमा अध्यक्ष सुनिश्चित गर्ने सबै आधारहरु तयार बनाइएपछि मात्रै सम्मेलन सम्पन्न गरिएको थियो ।
‘हेडक्वाटरसँग लाइन मिलाउने नाममा विद्यार्थी र युवापछि महिला संगठनको राष्ट्रिय सम्मेलन पनि गिजोलियो,’ माओवादी केन्द्रका एक नेताले भने, ‘नेताहरुले गिजोल्दा पार्टी संगठनात्मक मामिलामा एक पछि अर्को गरी कमजोर हुँदै गएको देखिन्छ ।’
प्रतिक्रिया 4