
२३ भदौ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।
तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ ।
तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ’, उनले भने , ‘खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।’
ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताए ।
यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्बाइ २५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।
वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए ।
खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । ‘खानी उत्खनन भयो भने पुस्तौँअघिदेखि बसोबास गर्दै आएको थातथलो छोड्नुपर्ने हुन्छ’, उनले भने, ‘उत्खनन अघि बस्ती स्थानान्तरण र रोजगारीको अवसरमा प्रभावितलाई प्राथमिकता दिनुपर्छ ।’
स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका– ४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् ।
खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।
प्रतिक्रिया 4