+
+
Shares

सिभिल अस्पतालमा देखिएको त्यो दर्दनाक दृश्य

अस्पतालले रेफर गरेका बिरामी एम्बुलेन्सबाट झारेर अर्को गम्भीर घाइते हाल्नुपर्ने अवस्था

एउटा बिरामीलाई अर्को अस्पताल लैजानै लाग्दा अन्य झन् सिरियस बिरामी आएपछि एम्बेलेन्समा राखिएका बिरामी ओरालेर नयाँ बिरामीलाई लगिएको थियो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ भदौ २३ गते १८:०७

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा सोमबार नयाँ बानेश्वर क्षेत्र रणभूमि बन्यो । अश्रु ग्यास मात्र होइन, निरन्तर गोलीको वर्षा भइरह्यो ।

स्थिति नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू लगायो । तर कर्फ्यूको परबाह नगरी जेनजीहरूले निरन्तर प्रदर्शन गरिरहे । त्यसपछि सडकमा सेना परिचालन भयो ।

तर, पनि जेनजीको प्रदर्शन रोकिएन । प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न निरन्तर अश्रु ग्यास, गोली प्रहार गरिरह्यो ।

प्रहरीको गोली प्रहारबाट घाइते प्रदर्शनकारीलाई उपचारका लागि लगिएको नयाँ बानेश्वरकै सिभिल अस्पताल सोमबार दिनभर बारुदको गन्ध र रगतको टाटाबाट अभ्यस्त रह्यो ।

रिपोर्टिङका लागि सोमबार दिउँसो सिभिल अस्पताल पुग्दा बिरामी ओसार्न दौडादौड थियो । प्रदर्शनकारीले आफैं बोकेर बिरामीलाई अस्पताल ल्याइरहेका थिए । कोही अस्पतालको ह्विल चियर सडकमै लगेर बिरामीलाई राखेर अस्पताल ल्याउँथे ।

यो क्रम करिब २ घण्टासम्म जारी रह्यो । प्रहरीले निरन्तर गोली चलाए पनि प्रदर्शनकारी भने लामो समयसम्म बानेश्वर क्षेत्रबाट बाहिर गएनन् । त्यसपछि प्रहरीले झनै व्यापक रूपमा दमन गर्‍यो ।

सिभिल अस्पतालको इमर्जेन्सी कक्ष भने प्रदर्शनका घाइतेले भरिभराउ थियो । अवस्था कस्तोसम्म भयो भने, बेड नभएका कारण गोली लागेर घाइते भएका बिरामीको उपचार भुईंमै गराउनुपर्ने स्थिति आयो ।

घाइते र एकजना कुरुवा बाहेक अन्य व्यक्तिलाई अस्पताल प्रशासनले भित्र छिर्न दिएको थिएन । बिरामी र प्रदर्शनकारीले अस्पताल खचाखच थियो ।

सिभिल अस्पतालबाट रेफर गरिएका बिरामीलाई एम्बुलेन्समा हालेर धमाधम अन्य लगियो । एकपछि अर्को जटिल घाइते थपिँदै जाँदा एम्बुलेन्समा चढाइसकेका बिरामीलाई समेत झारेर अर्को सख्त घाइतेलाई पठाउनुपर्ने अवस्था भयो ।

एउटा बिरामीलाई अर्को अस्पताल लैजानै लाग्दा अन्य झन् सिरियस बिरामी आएपछि एम्बेलेन्समा राखिएका बिरामी ओरालेर नयाँ बिरामीलाई लगिएको थियो ।

धेरै बिरामी अचेत अवस्थामा थिए । उनीहरूको उद्धार गर्दै अस्पताल पुर्‍याउने काम पनि प्रदर्शनकारीहरू आफैंले गरे । सिभिल अस्पताल वार जोनमा खटिएको मेडिकल टिम जस्तो बन्यो ।

अस्पतालका सुरक्षाकर्मीसमेत एउटा ह्विल चियर खाली हुने बित्तिकै दौडाएर अर्को बिरामी ओसार्न प्रदर्शनकारीलाई दिन्थे ।

प्रदर्शनस्थलबाट नजिक भएकै कारण आजको प्रदर्शका अधिकांश घाइते सुरुमा सिभिल अस्पताल पुर्‍याइएको थियो । त्यसपछि बल्ल पाटन, टिचिङ, ट्रमा पठाइएको थियो ।

सामान्य छर्रा लागेका, हात खुट्टातिर चोट लागेका बिरामीहरू भने कपडाले नै रगत रोकेर बस्नुपर्ने अवस्था आएको थियो । सामान्य बिरामी ब्यान्डेज बाँधेर चौरमै बसेका थिए ।

इमर्जेन्सीमै अश्रु ग्यास

प्रशासनले अस्पतालमा समेत अश्रु ग्यास प्रहार गर्न बाँकी राखेन । अस्पतालको गेट अगाडितर्फ पहिल्यैदेखि नै अश्रु ग्यास प्रहार भएको थियो । त्यसपछि केही प्रदर्शनकारी अस्पताल भित्रकै चौरमा बसेका थिए ।

पछि प्रहरीले अस्पतालको कम्पाउन्ड भित्रको चौरमा बसेकाहरूलाई समेत लक्षित गरेर अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि अस्पताल प्रशासन समेत आक्रोशित बनेको थियो । इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बेला प्रवेशद्वार अगाडि नै अश्रु ग्यास प्रहार भएर भिड तितरबितर भयो ।

प्रहरीले सिभिल अस्पताल नजिकैको अग्लो भवनबाट अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले १०० मा फोन गर्दै भने- तँलाई कसले दियो आदेश ?

इमर्जेन्सी कक्ष अगाडि अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित हुँदै प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर गाली गर्न थाले । अस्पताल परिसरबाटै पालैपालो १०० मा फोन गर्दै उनीहरूले अपशब्द प्रयोग गर्दै प्रहरीलाई गाली गरेका थिए ।

‘केपी ओलीका झोले किन बन्छ प्रहरी, तलाईं कसले अस्तापलमा ग्यास हान्नु भन्यो ?,’ उनीहरूले प्रश्न गरेका थिए । एक जनाले मात्रै होइन, केहीबेर अन्य प्रदर्शनकारीले समेत पालैपालो फोन गर्दै प्रहरीलाई गाली गरे ।

अनि पुग्यो महानगरको टिम

यही बीचमा काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीको एक टोली सिभिल अस्पताल पुग्यो । उनीहरूले सुरुमै जानकारी गराए- हामी महानगरबाट घाइतेको खानाको व्यवस्थाका लागि आएको थियो ।

इमरजेन्सी कक्ष अगाडि नै अश्रु ग्यास खाएर रिसले चुर भएका प्रदर्शनकारीले भने, ‘पहिला सुन्नुस्, यहाँ अश्रु ग्यास हान्न पाउँछ ?’ तर महानगरको टिमले यसबारे आफूहरूलाई केही जानकारी नहुने र आफ्नो क्षेत्र नभएको भन्दै जवाफ दिए ।

त्यसपछि उनीहरू घाइतेको अवस्था बुझ्दै बिरामी र कुरुवाका लागि खानाको व्यवस्था मिलाउन अघि बढे ।

सोमबारको प्रदर्शनमा व्यापक दमन भयो । अहिलेसम्मको तथ्यांकअनुसार १५ जनाको मत्यु भएको छ । करिब डेढ सय जना घाइते भएको बताइएको छ । सो क्रममा चार जना पत्रकार पनि घाइते भएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?