+
+
Shares

प्रदर्शनकारी संसद् भवन छिर्दा प्रहरी विधेयकमाथिको छलफलमा थिए गृहमन्त्री

संसदीय समितिमा सांसद्का विचार ध्यान पूर्वक सुनिरहेका गृहमन्त्रीलाई कसैले फोन गरे, उनी बैठक कक्षबाट बाहिरिए । केही मिनेटमै सभाकक्ष छिरे । केही मिनेटपछि फेरि बाहिरिए । त्यतिबेला प्रदर्शनकारी संसद् भवनको गेटमाथि चढेको तस्वीर सार्वजनिक भइसकेको थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २३ गते १८:३०

२३ भदौ, काठमाडौं । सोमबार बिहान ९ बजेदेखि नै जेनजीले सामाजिक सञ्जाल बन्दको विरोधका प्रदर्शन गर्ने तय भएको थियो । त्यसअनुसार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ हिँड्दै थिए ।

गृहमन्त्री रमेश लेखक यो प्रदर्शनबारे जानकार नहुने कुरै भएन । तथापि, उनी दैनिक काम छाडिरहेका थिएनन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली प्रहरी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल थियो । बिहान ११ बजे सुरु हुने भनिएको बैठक पौने १२ बजे मात्रै सुरु हुन सक्यो ।

राज्य व्यवस्था समितिमा गृहमन्त्री रमेश लेखक पनि पुगे । समितिमा विधेयकमाथि संशोधन राख्ने सांसदहरूको धारणा प्रस्तुत हुन थाल्यो । सांसद्का विचार ध्यान पूर्वक सुनिरहेका गृहमन्त्री रमेश लेखकलाई कसैले फोन गरे, उनी बैठक कक्षबाट बाहिरिए । केही मिनेटमै सभाकक्ष छिरे ।

केही मिनेट सभाकक्षमा बसेपछि गृहमन्त्री फेरि बाहिरिए । त्यतिबेला प्रदर्शनकारी संघीय संसद् भवनको गेट माथि चढेको तस्वीर सार्वजनिक भइसकेको थियो ।

गृहसचिव गोकर्णमणि दवाडीले राजय व्यवस्था समितिका सभापति इश्वरीदेवी न्यौपानेसँग सुटुक्क केही भनेर र बाहिरिए ।

त्यसपछि समितिको बैठक पनि अगाडि बढ्न सकेन । समिति सभापति न्यौपानेले ‘गृहमन्त्री विशेष कारणले बाहिरिनुपरेको’ बताइन् ।

बाहिरको परिस्थितिका कारण गृहमन्त्री बाहिरिनु परेको भनेर उनले समितिको बैठक अगाडि बढाउने सन्दर्भमा के गर्ने भनेर समिति सदस्यहरूको राय मागिन् ।

सांसदहरूले संसद् भवनकै गेट चढेर प्रदर्शनकारी प्रवेश गरिसकेको अवस्थामा बैठक चलाइरहनु उचित नहुने राय प्रकट गरे ।

कांग्रेसका सांसद रामहरि खतिवडाले बैठक स्थगित नै गर्नु उपयुक्त हुने बताए । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेनजीको आवाज सरकारले सुन्नुपर्ने बताए ।

त्यसपछि सभापति न्यौपानेले बैठक स्थगित गरिन् ।

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले केही बोलेनन् ।

राज्य व्यवस्था समितिको बैठक अगाडि पनि गृहमन्त्री लेखक अर्को ससदीय समितिको बैठकमा थिए । उनी राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गएका थिए । जहाँ ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारे’ छलफल थियो ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक ।

यो समितिको बैठकमा जेनजीको प्रदर्शनको कुरा उठेको थियो । जवाफमा गृहमन्त्री लेखकले सामाजिक सञ्जाल बन्द नभएर सूचीकरणको कुरा सरकारले गरेको बताएका थिए । ‘जम्माजम्मी सरकारले सूचीकरण गर भनेको हो । दर्ता गर्दैनौँ ।  देशमा काम गर्न दिदैनौँ भनेको होइन । जम्माजम्मी सूचीकरण गर भनेको हो’ लेखकले भनेका थिए ।

लेखकका अनुसार सरकारले आफ्नो देशमा कुन संस्था काम गर्दैछ भनेर पहिचान मात्र गर्न खोजेको प्रष्टीकरण दिएका थिए । बरु सामाजिक सञ्जाल बन्दको विरोध गर्नेलाई लेखकको प्रश्न थियो, ‘आफ्नो काम गर्ने संस्थालाई सरकारले सूचीकृत गर भन्न पाउँदैन ?’ सरकारको नीति मान्नुपर्ने र सरकारको नीतिलाई नागरिकले समर्थन गर्नुपर्ने उनको आग्रह थियो । लेखकले भनेका थिए, ‘अनि तेरो कानुन मान्दिनँ, संविधान मान्दैनौँ भन्ने ? भोलि कुनै संस्था आएर तेरो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ ?’

गृहमन्त्री रमेश लेखकको यस्तो अभिव्यक्ति प्रकट भइरहँदा माइतीघरमा जेनजी जम्मा भइराखेका थिए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेर भने धेरै बस्न पाएनन् ।

राज्य व्यवस्था समितिमा बसिरहेका बेला गृहसचिव गोकर्णमणि दुवाडीले कानेखुसी गरेपछि गृहमन्त्री लेखक बाहिरिएका हुन् । गृहमन्त्री लेखकको बाहिरिएको केहीबेरमै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले संसद भवन आसपास कर्फ्यू लगाएका थिए । केहीबेरपछि अर्को आदेश जारी गर्दै राष्ट्रपति कार्यालय क्षेत्र शितल निवास, उपराष्ट्रपति कार्यालय लैनचौर, नारायणहिटी दरवार र सिंहदरवार आसपास कर्फ्यू लगाए ।

विस्तारै देशमा अन्यत्र पनि जेनजीको आन्दोलन उग्र हुँदै गयो । आन्दोलन उग्र भएको जानकारी गृहसचिवबाट पाएपछि गृहमन्त्री लेखक राज्य व्यवस्था समितिको बैठकबाट बाहिरिएका हुन् ।

सभाकक्षबाट बाहिर निस्केपछि केही सांसदहरू गफिैँदै थिए, ‘सिंहदरबारमा सामाजिक सञ्जाल चलिरहेको छ । बाहिर छैन । यस्तो भएपछि नागरिकमा आक्रोश बढिहाल्छ नि त ।’

अर्का सांसदले थपे, ‘गृहमन्त्रीलाई के भएको हो ? थाहा नभएको कि हेलचक्र्याइँ ?’

सिंहदरबार र संसद् भवन आसपास भीआईपी क्षेत्र हो । यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको हुन्छ । अर्का एक सांसदले सरकारकै समीक्षा गरे, ‘नयाँ बानेश्वर क्षेत्रमा २५/२६ हजार प्रदर्शनकारीलाई प्रहरीले सम्हाल्न सक्दैन भने सरकारले के गर्छ ? प्रहरीको क्षमता कस्तो रहेछ ? यो गम्भीर समीक्षा गर्नुपर्ने विषय भयो ।’

सिंहदरबारमा रहेका सुरक्षाकर्मीको वोकेटोकेमा निर्देशन आइरहेको थियो । जसको व्याख्या गर्दै ती अधिकरीले सुनाए, ‘भीड क्लियर गर्न हवाई फायर, अश्रुग्यास हान्न र रबरको गोली हान्न निर्देशन प्राप्त भएको छ ।’

अर्थात, घटना यति गम्भीर भइसक्दा गृहमन्त्री लेखक संसदीय समितिमा विधेयकमाथिको छलफलमा थिए । सुरक्षा संवेदनशीलतामा गृहमन्त्रीको ध्यान नपुगेको भनेर समितिमा गृहमन्त्री लेखककै अगाडि रहेका सांसदहरूले आलोचना गरेका थिए ।

दर्जनौं व्यक्तिको मृत्यु नै भइसकेपछि भने गृहमन्त्रीमाथि थप प्रश्न उठेको छ ।

नेकिा माओवादी केन्द्रका सांसद माधव सापकोटा पनि सरकारले कति व्यक्ति आउँछन् भनेर आकलन नै गर्न नसकेको देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘सुरुमा हेलचक्र्याइँ गर्‍यो र पछि गोली नै चलायो । सरकारले ताकी ताकी गोली हानेको छ यसले सरकार र गृहमन्त्रीको संवेदनशिलता र संवेदनहिनता देखाउँछ ।’

दर्जनौं व्यक्तिको मृत्यु हुने गरी घटना भएकाले ‘यो हत्या नभएर नरंसहार नै गरेको जस्तो देखिएको’ उनको टिप्पणी छ ।

गृहमन्त्रीको भूमिकालाई लिएर कांग्रेसभित्रै समेत प्रश्न उठेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा नै मागेका छन् ।

‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

नेविसंघकी पूर्व नेता एलिजा ढकालले त गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको आरोप लगाएकी छन् ।

‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसको ज्यान भन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनेकी छन्, ‘तिमीहरूको निकम्मापनले आज कालो इतिहास लेखिएको छ । गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन् । नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ ।’

अर्का नेता व्रितान्त खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता नभए पार्टीमा आन्दोलन हुने बताए । पार्टीलाई खनालले भनेका छन्, ‘अझै हेरेर बस्ने भए,  हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?