+
+
Shares
टिप्पणी :

सन्दर्भहीन बैठक होइन, तत्काल प्रधानमन्त्रीको राजीनामा

साँझसम्म ओली प्रधानमन्त्री पदमा बस्दा राज्यले कति मूल्य चुक्त गर्नुपर्ने हो ? मुलुकलाई थप क्षति हुन नदिन ओलीले अब कुनै बैठक र वार्ताको बाहना नगरी राजीनामा गर्नु उचित हुन्छ । ओलीले उक्त पद छोड्न जति ढिलाइ गर्छन्, मुलुकको नोक्सानी अझ बढेर जाने देखिन्छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ भदौ २४ गते १३:४५

२४ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनले देशभर आगो सल्किसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लगभग सन्दर्भहीन सर्वदलीय बैठक बोलाएका छन् ।

एउटा वक्तव्य जारी गरी उनले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् । उनले बोलाएको सर्वदलीय बैठकमा सत्ता साझेदार अरू दल त के आफ्नै मन्त्रिपरिषद्का सदस्यहरू समेत जाने परिस्थिति छैन ।

यो सत्ता–समीकरण निर्माणका मुख्य पात्र मध्येका एक रमेश लेखकले हिजै गृहमन्त्रीले पदबाट राजीनामा बुझाइसकेका छन् । कांग्रेस तर्फका अरु मन्त्री पनि राजीनामा दिन जुटेका छन् ।

विपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् । राजीनामा मागेका नेताहरू ओलीले बोलाएको सर्वदलीय बैठकमा जाने सम्भावना देखिन्न ।

यस्तो परिस्थितिप्रति जानकार ओलीले साँझ सर्वदलीय बैठक भनेर आफ्नो पद लम्ब्याउन खोजेको प्रष्ट बुझिन्छ । भन्नालाई त ओलीले ‘हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण सम्वाद’ का निम्ति सर्वदलीय बैठक भनेका छन् ।

तर जेनजीहरूको प्रदर्शनमा नृशंस गोली प्रहार ओलीकै निर्देशनमा भएको थियो । स्कुल र कलेजका पोशाकमा प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार हुँदा हिजै २० जनाको मृत्यु र पाँच सय बढी घाइते भएका थिए ।

यस्तो दृश्यपछि गृहमन्त्री पदबाट रमेश लेखकले राजीनामा दिइसके । तर जेनजी प्रदर्शनले देशभर आगो लागिरहँदा ओली सन्दर्भहीन बक्तव्य जारी गरेर बसेका छन् ।

जेनजीहरूको आक्रोशमै रहेका अरू सबै दलले आ–आफ्ना पार्टीको बैठक राखेर मुलुकलाई निकास दिनुपर्ने, प्रदर्शनकारीहरूको माग सम्बोधन गर्नुपर्ने जस्ता निर्णयहरू गरिसकेका छन् ।

बिडम्बना ! एमालेमा ओलीलाई बुझाउन सक्ने कुनै नेताहरू छैनन् । ओलीले झोले अभियान चलाउँदा पनि सहर्ष स्वीकार्ने एमाले नेताहरूले पार्टी बैठक राख्न माग समेत गरेका छैनन् । संभवतः ‘ओली बिनाको एमाले, र एमाले बिनाको देश’ हुन नदिने निर्णयप्रति प्रतिबद्ध भएर बसेका हुन सक्छन् ।

तर राजधानी शहर प्रदर्शनकारीको कब्जामा गइसकेको छ । कर्फ्यू जारी भएपनि प्रदर्शनकारीहरूको मात्र शहर बनिसकेको छ । सुरक्षाकर्मीले जोगाउनुपर्ने चुनौतीको दायरा बढेको बढ्यै छन् ।

नेताहरूको घर जलेको जलै छन् । कांग्रेस, एमाले लगायत दलका पार्टीहरू जलेका छन् । देउवाको घर, ओलीको घर, अरु नेताहरूको घरहरू जलिरहेका छन् । कसको घर जल्यो भन्दा कुन शीर्ष नेताको घर चाँही बाँकी रह्यो भन्ने स्थिति आइसकेको छ । नेताहरूबीच भागभाग चलेको छ । नेताहरू लुकिसकेका छन् ।

नियमित कामकाज रोकिएका छन् । बिस्तारै जेनजी प्रदर्शनकारीलाई साथ दिने संख्या बढ्दो छ । मुख्य सडकमा सुरक्षाकर्मी रहेपनि भित्रि सडक र गल्लीहरू प्रदर्शनकारीको कब्जामा छ ।

चिकित्सक, पत्रकार, सामाजिक अगुवा लगायत क्षेत्रले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न माग राखेर सडक प्रदर्शनमा उत्रिएका छन् । यातायात क्षेत्र बन्द गरिएका छन् । राजधानी पुरै अशान्त बनिसकेको छ ।

राजधानीकै जस्तो अवस्था देशका अरू भू–भागहरूमा पनि छ । सिंगो देश नै कता जान्छ भन्ने अनिश्चयमा फसेको छ । यस्तो अवस्थालाई शान्त पार्न तत्काल प्रधानमन्त्रीको राजीनामा एमालेकै कार्यकर्ताहरूले माग राखिरहेका छन् । हिजैबाट पाटी परित्यागको लहर चलेको छ ।

तर ओलीसँग पहुँच राख्ने माथिल्ला तहका नेताहरू यो देश जलेको हेरेर बस्नेमा सीमित छन् । कांग्रेसमा आधा हिस्सा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

ओलीको अहम् भने अझै उस्तै देखिन्छ । जेनजी प्रदर्शनकारीमाथि प्रहरी दमनपछि देशै आक्रोशित हुँदा हिजो साँझ मन्त्रिपरिषद् बैठकमा ओली जसरी प्रस्तुत भए, त्यसले उनमा अझै दम्भ कायमै रहेको देखिन्छ ।

यसले केही घण्टा ओलीको प्रधानमन्त्री पद लम्बिन सक्छ । त्यसले देश र जनतालाई पुग्ने क्षति अनुमान भन्दा बाहिर छ । त्यसैले मुलुकलाई थप क्षति हुन नदिन ओलीले अब कुनै बैठक र वार्ताको बाहना नगरी राजीनामा गर्नु उचित हुन्छ । ओलीले उक्त पद छोड्न जति ढिलाइ गर्छन्, मुलुकको नोक्सानी अझ बढेर जाने देखिन्छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?