+
+
Shares

अनि उनीहरू भन्दै थिए– यो जित कसको, जेनजीको !

मृत्यु भएकाको युवाको फोटो बोकेर जेन–जी प्रदर्शनकारीहरू भनिरहेका थिए, ‘हामीले साथी गुमायौं । हो हामीले आगो लगायौं । तर यो देश बनाउने जिम्मा पनि हामी लिन्छौं,’

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २४ गते २२:५०

धुवाँको मुस्लोले आकाश ढाकिएको छ । सरकारी भवनहरूमा दनदन आगो सल्किएको छ । गाडी जलेका छन् । आगोले ग्यासका सिलिन्डर पड्केको ढुङढुङ।।।आवाज आइरहेको छ । गाडीका पार्टपूर्जा पनि पड्किरहेका छन् । यो देशकै प्रशासनिक केन्द्र सिहंदरबारमा मंगलबार देखिएको दृश्य हो ।

प्रधानमन्त्री कार्यालयदेखि अधिकांश मन्त्रालय निमेषमै खरानी बन्यो । भवन बाहिर भने चर्को स्वरमा नारा गुन्जिएको छ, ‘यो जित कसको ? जेन–जीको ।’

दिउँसो २ बजेसम्म सिंहदरबारको मुल गेटमा मात्र आगो लगाइएको थियो । सिंहदरबार भित्र छिरेका केही युवालई प्रहरीले बाहिर निकालेको थियो । भित्रबाट प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको थियो ।  भित्र छिर्न दिएको थिएन ।

गेटमा लागाइएको आगो दमकलको सहायतामा नियन्त्रणमा लिने प्रयास भइरहेको थियो । आन्दोलनमा थप आक्रोशित बन्यो । युवाको संख्या सडकमा बढ्दै थियो ।  प्रहरी र प्रर्दशनकारीबीच झडप चलिरहेको थियो । दिउँसो ४ बजे फेरि मुल गेटमा पुग्दा जेन–जी प्रदर्शनकारीहरू सिंहदरबार भित्र छिरिसकेका थिए । अगो लागिसकेको थियो ।

प्रधानमन्त्री केपी ओलीको कार्यकक्षमा रहेको नेमप्लेट बोकेर जेन–जी प्रदर्शनकारीहरू सडकमा आइसकेका थिए । सिंहदरबार पूरै दन्किरहेको थियो । दुई घण्टाको बीचमा जेन–जी प्रदर्शनकारीहरूले सिहंदरबार कब्जामा लिए । स्थति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी नै पछि हट्यो । पसुरक्षाकर्मीले प्रयोग गर्ने गरेका सवारीसाधन प्रदर्शनकारीहरू आफैं चलाएर हिँड्न थालेका छन् ।

सिंहदरबारको मूल गेटमाथि जेनजी प्रदर्शनकारीहरूहरू चढेर झण्डा फहराए । उता सिंहदरबारभित्रका कोठा कोठामा पुगेर आगजनी र तोडफोड भयो । तर, जेन–जी प्रदर्शनकारीहरू भनिरहेका थिए, ‘हामीले जलायौं, हामी नै बनाउँछौँ ।’ सिंहदरबार मात्र होइन, बबरमहलस्थित सम्पूर्ण सरकारी कार्यालय जलाइयो ।

सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला सदालत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारी वकिलको कार्यालय, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, नेपाल बार, लगायतका सबै कार्यालय जलाइएको थियो ।

त्यसआसपासका एउटा मात्र कार्यालय जलेको थिएन । त्यो हो, पुरातत्त्व विभाग । जसलाई जेनजी प्रदर्शनकारीहरूले नै संरक्षण गरेका थिए । यो हाम्रो इतिहास हो, संरक्षण गरौं भन्ने प्लेकार्ड बनेकेर जेन–जी प्रदर्शनकारीहरूनै गेटमा बसेका थिए । पुरातत्त्व विभागको संरक्षण उनीहरूले नै गरिरहेका थिए । तर आसपासका सम्पूर्ण कार्यालय भने जलिरहेको थियो ।

०००

यता संसद भवन पनि जेन–जी प्रदर्शनकारीहरूले कब्जा गरिसकेका थिए । संसद् भवन कब्जा गरेपछि कतिपय सिंहदरबार कब्जाको लागि गएका थिए । कति भने संसद भवनमै बसेर नाराबाजी गरिरहेका थिए । हेर्दाहेर्दै संसद भवन पनि पूरै रुग्ण बन्यो ।

तर, जेन–जी प्रदर्शनकारीहरू भनिरहेका थिए, ‘यो जित कसको जेन–जीको । वीर साथीहरू अमर रहुन् ।’

आफ्नै आँखा खगाडि सोमबार बानेश्वरमा ढलेका साथीहरूलाई उनीहरूले सम्झिए । राष्ट्रिय गान गाएर ढलेका साथीहरूलाई सम्मान अर्पिए ।

सोमबार बानेश्वमा प्रहरीको गोली लागेर मृत्यु भएकाको युवाको फोटो बोकेर जेन–जी भनिरहेका थिए, ‘हामीले साथी गुमायौं । हो हामीले आगो लगायौं । तर यो देश बनाउने जिम्मा पनि हामी लिन्छौं,’

संसद भवन परिसरमा जेनजीहरूले भने ।

प्रहरीको बर्बर दमनबाट मंगलबार साझसम्म २१ जना युवाको ज्यान गएको छ । जेनजीमाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो ।

गत भदौ १९ मा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जीहरू आक्रोशित भएका थिए । यो सँगै भ्रष्टाचार र शासकीय अव्यवस्थाको विरोधमा जेन–जीहरू सडकमा उत्रिएका हुन् । उनीहरूको आन्दोलन अझैं रोकिएको छैन । तर प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् । आजै राति १० बजेबाट सुरक्षाको जिम्मा सेनाले लिएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?