
२६ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले देशभरि असहज र विषम परिस्थितिका कारण पशुपन्छी तथा पशुजन्य पदार्थ ढुवानीमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।
विभागले बिहीबार सूचना जारी गरी किसानहरूको हित ध्यानमा राखी यस्ता सामग्री निर्वाध ओसारपसारमा सहजीकरण गर्न आग्रह गरेको हो ।
विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले हाल देशमा विद्यमान असहज परिस्थितिका कारण पशु तथा पशुजन्य पदार्थ एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।
व्यवसायीले विभागमा यस्ता समस्या समाधानका लागि अनुरोध गरेपछि विभागले सूचना जारी गरेको हो ।
विभागले एक दिने चल्ला, अन्डा, पशुपन्छी, दूध, माछा, मासु तथा अत्यावश्यक पशुपन्छीका दाना र दानाका कच्चापदार्थ जस्ता कृषिजन्य वस्तु निर्धारित समयभित्र गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।
यदि यस्ता वस्तु समयमा पुग्न नसके बिग्रिने वा नष्ट हुने सम्भावना भएकाले यसबाट साधारण किसानको हितमा प्रतिकूल असर पर्ने विभागले जनाएको छ ।
उल्लिखित वस्तु निर्वाध देशभरि ओसारपसार हुन आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्बन्धित सबैमा अनुरोध गरिएको छ । यसको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत पठाइएको छ ।
प्रतिक्रिया 4