
२६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न अपसल गरेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले विज्ञप्ति निकालेर संविधान अनुसार सरकार गठन गर्न अपिल गरेका हुन् ।
‘संसद् विघटनका कुनै पनि प्रयास अस्वीकार्य छन् । वर्तमान परिस्थितिको समाधान संविधानबाटै खोजिनुपर्छ भन्ने हाम्रो अटल धारणा हो । संविधान भित्रबाट नै सरकार शून्यको अवस्था अन्त्य गर्न सबै पक्षबाट जोडदार माग भइरहेका सन्दर्भमा संविधानबमोजिम सरकार गठन गरी मुलुकलाई दिशा प्रदान गर्न हार्दिक अपिल गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा छ ।
२४ भदौमा सार्वजनिक तथा निजी सम्पत्ति नोक्सानी गर्ने कार्यमा संलग्न भएकाहरूमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न स्वतन्त्र र शक्तिशाली न्यायिक आयोग गठन गर्न पनि उनीहरूले माग गरेका छन् ।
युवाहरूले उठाएका सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्य गर्ने मागलाई सम्बोधन गर्दै संसद्मार्फत नयाँ सरकार गठन गरी चुनावको वातावरण तयार पार्न उनीहरूले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4