
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरि उत्पन्न पछिल्लो परिस्थितिबीच छोटो तथा लामो दूरीको सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प छ।
- राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजसम्म कुनै पनि निकायले छलफलका लागि अग्रसरता नलिएको बताए ।
- सार्वजनिक यातायात सञ्चालन नहुँदा दशैं अग्रिम टिकट बुकिङ प्रभावित भएको छ र सुरक्षा ग्यारेन्टी नदिएसम्म सवारी चलाउन नसकिने व्यवसायीले बताए।
२७ भदौ, काठमाडौं । देशभरि उत्पन्न पछिल्लो परिस्थितिबीच छोटो तथा लामो दूरीको सार्वजनिक यातायात ठप्प छ ।
सरकारविहीनताको यो अवस्थामा आफ्नो गुनासो कसलाई सुनाउने भन्नेमा स्वयं व्यवसायी अन्योलमा छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन्, ‘हामीसँग आजसम्म कुनै पनि निकायले छलफलका लागि अग्रसरता लिएको छैन, हामी प्रतीक्षामा छौं ।’
सार्वजनिक यातायात चल्न नसक्दा अहिले यात्रु भने मारमा छन् । बुधबार साँझदेखि हवाई यातायात सञ्चालनमा आए पनि सडक यातायातको टुंगो छैन । सुरक्षा कारण देखाउँदै यातायात व्यवसायीले मंगलबारदेखि अनिश्चितकालका लागि सवारी बन्द गरेका हुन् ।
आन्दोलनका बेला विभिन्न स्थानमा सार्वजनिक तथा निजी सवारीसाधनमा तोडफोड भएको छ । यस्तो अवस्थामा राज्यले सुरक्षाको ग्यारेन्टी नदिएसम्म सवारीसाधन चलाउन नसक्ने उनले बताए ।
सार्वजनिक यातायात सञ्चालन अनिश्चिततासँगै नजिकिएको दशैंलाई अग्रिम टिकट बुकिङको तयारी समेत प्रभावित बनेको छ । ‘यो बेला कोसँग बसेर के सल्लाह गर्ने भन्ने नै टुंगो भएन,’ सिटौला भन्छन्, ‘यस्तो अवस्थामा हामी नै अन्योलमा छौं ।’
यद्यपि, राज्यले चाहेको अवस्थामा जुनसुकै योगदान गर्न व्यवसायी तयार रहेको उनले बताए । ‘सुरक्षाको ग्यारेन्टी हुन्छ भने जनता र राज्यको सेवामा खटिन हामी सधैं तयार छौं,’ उनले भने ।
अहिले नेपाली सेनाले काठमाडौं सहित सडकमा यातायातमा कडाइ गरिहेको छ । अत्यावश्यक सेवाका सवारीले मात्र निर्वाध आवतजावत अनुमति पाएका छन् ।
उता, केही भन्सार नाकाबाट ग्यास बुलेट सहित सवारीसाधन भने नेपाल भित्रिन थालेका छन् ।
प्रतिक्रिया 4