+
+
Shares

प्रधानमन्त्री कार्कीलाई सेलिब्रेटीबाट बधाईको ओइरो, कसले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्ति भएपछि सेलिब्रेटीहरूले उत्साहजनक स्वागत गरेका छन्।
  • अभिनेता अनमोल केसीले युवाको सहि हस्तक्षेपले खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सक्ने उल्लेख गरेका छन्।
  • अभिनेता प्रकाश सपुतले नयाँ संविधानको संरक्षण भएको र जेनजीले परिपक्व निर्णय गरेको बताएका छन्।

काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सेलिब्रेटीले उत्साहजनकरुपमा स्वागत गरेका छन् । उनीहरूले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् ।

अभिनेता हरिवंश आचार्यले कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथितीविरुद्ध उभिएका युवाहरूको सपना पुरा गर्ने प्रणालीको विकास गर्न सबैको साथ अपरिहार्य रहेको बताएका छन् ।

अभिनेता अनमोल केसीले साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा गर्व लागेको बताएका छन् । ‘युवाको सहि हस्तक्षेपले जतिसुकै जरा गाडेको भएपनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सक्छ । तर हामीले यसका लागि चुकाउनु परेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन’ उनले लेखेका छन् ।

अभिनेत्री आँचल शर्माले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई केवल नेतृत्वको परिवर्तन मात्र नभएर, आशा र सम्भावनाको ढोकाको रुपमा लिएकी छन् ।

‘अबको देशको कथा पुरानो सोचले होइन, नयाँ पुस्ताको सपना र महिलाको नेतृत्वले लेखिनेछ’ उनले लेखेकी छन् ।

अभिनेता प्रदीप खड्काले नयाँ सरकारलाई आफ्नो जिम्मेवारी पुरा गर्न शक्ति र साहसको कामना गरेका छन् । ‘नयाँ अन्तरिम सरकारलाई हार्दिक बधाई तथा सफलताको शुभकामना’ उनले लेखेका छन् ।

अभिनेता नाजिर हुसेनले यसलाई जेनजीको जितको रुपमा लिएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले ‘एकदिनमा एकदिन एकचोटी आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भन्ने कवि गोपालप्रसाद रिमालको शब्द सापटी लिएर बधाई दिएकी छन् ।

अभिनेत्री नीति शाहले नेपालको राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको बताएकी छन् । अभिनेता तथा गायक प्रकाश सपुतले अबको आशाको गीत गाऔं भन्दै बधाई दिएका छन् ।

‘सबैभन्दा सुन्दर कुरा भनेको ठूलो बलिदानी र प्रक्रियापछि बनेको नयाँ संविधानको पनि संरक्षण भएको छ । यो सोच र संयमतापूर्वक गरिएको निर्णयको लागि जेनजी अझै परिपक्व देखियो’ सपुतले लेखेका छन् ।

अभिनेता दीपकराज गिरीले लेखेका छन्, ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू । शुभकामना ।’

अभिनेत्री मिरुना मगरले जेनजी पुस्ताले सम्मानसाथ विजय प्राप्त गरेको बताउँदै नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको क्षणको आफू प्रत्यक्षदर्शी बन्न पाउँदा खुसी लागेको बताएकी छन् ।

कार्कीले शुक्रबार राती शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरिन् । ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यभारसहित कार्की अन्तरिम सरकारको कार्यकारी प्रमुखको रुपमा नियुक्त भएकी छन् ।

आन्दोलनमा उत्रिएको जेनजी समूहले कार्कीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?