
News Summary
Generated by OK AI. Editorially reviewed.- श्याम तमोटले २०३१ सालमा लेखेको \'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ\' गीतले नेपालका थुप्रै सामाजिक आन्दोलनमा प्रेरणा दिएको छ।
तपाईं यी गीतहरू सुन्दै जानुहोस्, शरीरको रक्तसञ्चार बढेको अनुभव गर्नुहुन्छ । छाती चौडा हुन्छ र गर्वले धपक्कै फुल्छ ।
पूजापाठ गर्दा बजाइने भजन होइन यो । विहे, उत्सवमा बजाइने डान्सिङ नम्बर होइन यो । एकान्तमा बजाइने प्रेमिल धुन होइन यो । बरु जब-जब देश दुख्छ, तब–तब वीर रस र श्रद्धाभाव जगाउने गीत हो ।
‘गाउँ गाउँबाट उठ
बस्ती बस्ती बाट उठ
यो देशको मुहार
फेर्नलाई उठ ।’
गीतको स्थायीले जसरी ‘उठ्न’का लागि प्रेरित गर्छ, त्यसमा उत्तिकै जोश भरिएको भाका पनि छ । त्यसैले त यी भाकाहरू गुञ्जिरहँदा मन जुरुक्कै उठ्छ । बेग्लै ऊर्जा र शक्तिले भरिएको महसुस हुन्छ ।
‘हातमा कलम हुनेहरू कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ
साथमा केही नहुनेहरू आवाज लिएर उठ ।
परिवर्तनका लागि छेडिने कुनै पनि आन्दोलनमा सबैको साथ जुटाउन कति जोडदार आह्वान गरिएका छन् । सबैजना सडकमै आउनुपर्छ भन्ने छैन । सबैले नारा घन्काउनुपर्छ भन्ने छैन । यथास्थितियमै रहेर पनि सबैजना आन्दोलित हुन सक्छन् । त्यसका लागि आ–आफ्नो क्षमता र शक्तिको प्रयोग गर्नु जरुरी छ ।
नेपालको सामाजिक आन्दोलनको इतिहासमा एक युगन्तकारी गीत हो यो । यो यस्तो गीत हो, जुन नेपालका थुप्रै परिवर्तनको साक्षी बनेको छ ।
यसमा प्रयोग भएका शब्दहरू सरल छन् तर जोडदार । भाका सहज छ तर शक्तिशाली । यस्तो शानदार गीत कसले लेखे होलान् ? कसले धुन भरे होलान् ?
आज जेन जी पुस्ताले जुन भाका हाल्दै सडकमा आफ्नो आन्दोलन छेडे, त्यो भाकाले थुप्रै राजनीतिक उथलपुथलमा साथ दिएको छ । खासमा यो गीत पञ्चायती व्यवस्थाकै बेला तयार गरिएको हो । यसका सर्जक हुन्, श्याम तमोट । उमेरको हिसाबकिताब गर्दा उनी बेबी बुमर्शका हुन् ।
जतिबेला उनले यो गीत लेखे, त्यसबेला २२ वर्षाका अल्लारे थिए ।
२०३१ सालमा अर्थात् आधा शताब्दीअघि श्याम तमोट भोजपुरबाट धरान झरेका थिए, पढ्नका लागि । त्यहाँ विद्यार्थी जमघट हुने, राजनीतिका कुरा हुने । शहरका कुरा हुने, संगीतका कुरा हुने । असन्तुष्टिको कुरा हुने, असमानताको कुरा हुने ।
ठिक त्यही पृष्टभूमिमा श्याम तमोटको मनमा यो गीत फुरेको थियो ।
सुरुमा यो गीत एक अन्तरा मात्र लेखिएको थियो । पछि चलचित्र बलिदान बन्ने भयो । तुलसी घिमिरेले निर्देशन गर्ने, हरिवंश आचार्यले केन्द्रीय भूमिका निर्वाह गर्ने यो फिल्म शहीदहरूमा समर्पित थियो । यही फिल्ममा गीत समावेश गर्ने भएपछि उनले यसलाई पूर्ण गरे । र तयार भयो, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।’
गीतमा धुन भरे, रामेश र रायनले । गाए पनि उनीहरूले नै । यो गीत चिनियाँ, हिन्दी, फ्रेन्चसहित १७ भाषामा अनुवाद भएको उल्लेख छ ।
त्यसो त श्याम तमोटले यस्ता थुप्रै गीत लेखेका छन्, जसले हरेकको हृदयमा वीर रस पैदा गर्छ ।
प्रतिक्रिया 4