
२९ भदौ, काठमाडौं । संघीय संसद् सचिवालयको भवन आगलागी हुनबाट रोक्न भूमिका खेल्ने तीनजना कर्मचारीलाई संघीय संसद् सचिवालय कर्मचारी युनियनले सम्मान गरेको छ ।
कर्मचारी युनियनकी अध्यक्ष रेणुका सुवेदी र सचिव पवन महतले विज्ञप्ति निकालेर संसद् सचिवालयका कार्यरत सहसचिव इन्द्रविलास पौडेल, नासु रामप्रसाद सापकोटा र कार्यालय सहयोगी दशरथ भट्टप्रति सम्मान व्यक्त गरेको हो ।
‘विषम परिस्थितिमा आइपर्ने चुनौतीलाई सामना गर्दै संघीय संसद् सचिवालयको भौतिक सम्पत्तिको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सचिवालयका सहसचिव इन्द्रविलास पौडेल, नासु रामप्रसाद सापकोटा, कार्यालय सहयोगी दशरथ भट्ट लगायतका सबैमा सम्मान व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यी तीनजना कर्मचारीले आ-आफ्नो ठाउँमा रहेर सिंहदरबार जल्दा संसद् भवन जोगाउन भूमिका खेलेको विषयमा अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । तीनजनामध्ये नासु सापकोटाले आफ्नो कार्यालय परिसरमा रहेर प्रदर्शनकारीलाई रोकेका थिए । सहासचिव पौडेलले पनि प्रदर्शनकारीलाई रोक्न भूमिका खेलेका थिए । जसले संसद्को २ नम्बर भवन जोगाउन सकेको थियो ।
कार्यालय सहयोगी भट्टले १ नम्बर बिल्डिङको एक छेउमा लागेको आगो निभाएर भवन जल्नबाट जोगाउन भूमिका खेलेका थिए । रातिको समयमा ट्वाइलेटबाट बाल्टीमा पानी लगेर आगोमा खन्याएर भट्टले आगो निभाएका थिए ।
अब अहिलेको विषम परिस्थितिलाई अनुकूलतामा परिणत गर्दै सेवा प्रवाहको लागि सुरक्षित वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा युनियनले जोड दिएको छ ।
आफ्नो पदीय जिम्मेवारी तथा सेवा प्रवाहमा अग्रसर भई संघीय संसद् र संघीय संसद् सचिवालयको साख उच्च राख्न सदैव प्रयत्नशील हुनसमेत युनियनले सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीमा अपिल गरेको छ ।
प्रतिक्रिया 4