
केही वर्ष अघि
उनीहरू पनि जेन-जी थिए
क्या राप थियो
क्या ताप थियो
प्राणकै आहुति दिनपनि
कत्तिको हान-थाप थियो ।
जनता जागेपछि
शासक भागेपछि
बादल खुलेझैं
धुलो झरेझैं
इतिहास केरेझैं
काँचुली फेरेझैं
लागेको थियो ।
आवरणमा त फेरियो पनि
शत्रुलाई चार पर्खालमा घेरियो पनि
मेरो देश महान भन्दै
झन्डा गलामा बेरियो पनि
देशकै
नाम फेरियो पनि
दाम फेरियो पनि
जनता राजा भए
राजा चाहिं जनता
सबैको गर्ने काम नै फेरियो पनि ।
दिन, महिना, वर्ष
काँचुली त पात्रोले मात्र फेरेको रहेछ
व्यवस्था फेरियो
व्यथा फेरिएन
हिजो
मर्नसँग नडराउने
पछि
गर्नसँग डराए
असिम समुद्रमा फाल हाल्छु भन्नेहरू
साना खोला, तर्नसँग डराए
हिजो जसको लागि लडेको थियो
उसको छेउ, पर्नसँग डराए
प्रश्न गर्दै आगो उकेल्नेहरू
आज
त्यही प्रश्नसँग डराए
सिंहदरबारको गद्दीले
जब मेरो भान्सा रत्तिभर फेरिएन
संसदको बेलले
जब फोहोरी खेल रोकिएन
संविधानको धाराले
जब फोहोरी पारा सकिएन
अनि मात्र
यो विद्रोहको जन्म भएको हो ।
अब पछाडि फर्किने छुट छैन
शहीदका शवहरूले गिज्याउनेछन्
छोरा गुमाएकी आमाको आँखाले
चिहाउनेछन् ।
सत्ता त पल्टियो
अब पालो व्यथाको
पुनरावृत्ति नहोस्
दोहोरिरहने यो कथाको ।
प्रतिक्रिया 4