
मिर्मिरेमा भाले बास्दा
उज्यालाको शुभसंकेत भन्दै
दैलो पोतेर
सफासुग्घर गरेर
उज्यालाको स्वागतमा
घुरुक्क दैलो उघार्थे आमाहरू,
कलिलो घामको प्रतीक्षामा
लामबद्ध लाग्थे बाहरू,
दुनियाँ ब्युँझाएर
भाले बास्नु भनेको
सिर्जनाको एउटा बिहान उदाउनु थियो।
तर,
जब रात अझ बाक्लिंदै जान्छ,
अन्धकारकै पेटबाट
चिच्याउँछ घमण्डले भरिएको स्वरमा
बेला न कुबेला कर्कस आवाज निकालेर बास्न थाल्छन् भालेहरू —
उज्यालो होइन,
अझ गहिरो रातको स्वागतमा,
तब-तब भविष्यको गर्भमा
हुर्किंदै गरेका सपनाहरू बिथोलिन्छन्,
अर्धनिद्रामै तर्सेर उठ्छन् आमाहरू।
उठ्न त रातको अन्तिम प्रहर ढल्नु अघि नै
उठेर चुलो-चौको गर्थे आमाहरू,
लिपपोतमा लाग्थे आमाहरू।
गुनासो थिएन
घाम अघि नै उठ्नुमा आमाहरूलाई —
किनकि उदाउँदै गरेको बिहानीप्रति
पूरापूर भरोसा थियो।
तर जब-जब उज्यालाको संवाहक हुँ भन्दै
छद्मभेषी भालेहरू
मध्यरातमै बास्न थाल्छन्,
तब-तब चिथोरिएका सपनाहरू च्यापेर
घाइते बघिनी झैं गर्जिन्छिन् आमाहरू —
अन्धकारमै!
समय नपुगी,
दिशा नबुझी,
आफ्नै स्वरको घमण्डमा
घामलाई होइन,
अन्धकारलाई स्वागत गर्दै
जब मध्यरातमा बास्न थाल्छन् भालेहरू —
तिनले ल्याउने भनेको अझ गहिरो रात नै हो
निस्पट्ट अँध्यारो नै हो ।
आमाहरूलाई थाहा छ —
मध्यरातमा भाले बस्नु भनेको
समयका विरुद्ध ठूलो चेतावनी हो,
घोर अनिष्टको संकेत हो।
यतिबेला
सपनाका चिचिला चल्लाहरूलाई
बाजहरूबाट जोगाउनु छ,
अन्धकारका विरुद्ध
आवाज घनीभूत पार्नुछ।
आमाहरू प्रश्न गरिरहेछन् –
“उल्टो फर्केर
मध्यरातमा भ्रम छर्दै बास्ने अधिकार
तिमीलाई कसले दियो?
हामी उज्यालो बिहानीमा
समानताको प्रकाश खोजिरहेका छौं —
मध्यरातमा उल्टो दिशातिर फर्केर
अन्धकारलाई पुकार्ने
त्यो स्वर सुन्नु छैन, बन्द गर,
हामीलाई चाहिएको
साँचो बिहान हो।”
प्रतिक्रिया 4