+
+
Shares

विदेशीले देश कब्जा गर्न सक्ने भन्दै रोए हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १४:१४

३१ भदौ, काठमाडौं । नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मेयर साम्पाङ भावुक भएर चिन्ता जताउँदै रोइरहेको देखिन्छ ।

‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने ? सबै नेताहरू भागाभाग, रक्ताम्य, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहसनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ ? कोही छैन, कस्ले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन ?,’ उनले भनेका छन् ।

मानिसहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेपछि अघि सरेको उनको तर्क छ ।

आफूले हिम्मत नहारेको बताउँदै उनले भने, ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो उसमा निस्कें ।’

आफू अघि सर्दा अरू लुकेर बसेको भन्दै उनले मुलुक बचाउन बलिरहेको आगोमा हाम्फालेको बताए ।

मानिसहरूको प्रस्ताव अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउँदै साम्पाङ भदौ २५ गते काठमाडौं आएका थिए ।

काठमाडौंमा उनले प्रधानसेनापति अशोक राज सिग्देललाई भेटेका थिए ।

जेनजी युवाहरूको अनलाइन मतदानका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा प्रधानमन्त्रीको लागि अग्रस्थानमा आएपछि मेयर साम्पाङले पनि समर्थन जनाएका थिए ।

तर, कार्की प्रधानमन्त्रीमा नियुक्त हुने लगभग तय भएपछि साम्पाङले असन्तुष्टि पोखेका थिए ।

धरान फर्किसकेका मेयर साम्पाङ केही दिन यता काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

उनले नाम नलिएरै घुमाउरो तरिकाले काठमाडौंका मेयर बालेन पर्दापछाडि बसेर ‘किङमेकर’ बन्न खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?